कला

सिङ्गल ट्री

  • ६ कार्तिक शनिबार, २०७८ | ०७:५०:०० मा प्रकाशित

उ मा...थि डाँडामा
एक्लै बस्छ एक्ले रुख
उपत्यकाको कुना कुना 
क्षितिजको पत्र पत्र हेरेर
कसैलाई पर्खि बस्छ
एक्ले रुख
बटुवाहरु
घुमन्तेहरु
अल्लारे केटाकेटीहरु
आँउछन् जान्छन्
र फेरि पनि आँउछन्
तर रुखको मनको कुरा बुझ्दैनन्
कति फूलहरु फुले
झरेर गए
कति पातहरु झरे
छोडेर गए
फूलहरु फेरि फुले
पातहरु फेरी पलाए
तर मन पलाएन
कहिलेकाही म सोच्ने गर्छु
आफ्नै पातहरुले जस्तै
आफ्नै साथहरुले छोडे भने
मन पलाउन गाह्रो हुँदोरहेछ
हामी कहिलेकाही बिहानीपख
घामसँग उठेर मर्निङ वाक जान्छौँ
एक्ले रुख भेट्न जान्छौँ
एक दुई कप जति
गफ गर्न जान्छौँ
दुई तिन थान जति
मिलेका मनहरु
चिया टेबिलको वरीपरी
मन बिसाउन जान्छौँ
कहिलेकाही म सोच्ने गर्छु
जराहरुलाई फैलिन पुग्ने जति
जमिन भएन भने
फूलहरु झरे
र फेरी फूलेनन भने
पातहरुले छोडेर गए
र फेरि फर्केनन भने
हमी पनि एक्लै उभिनु पर्दो हो
सिङ्गल ट्री उभिए जसरी ।

तपाईँको मत