खेल

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल आज, प्रत्यक्ष हेर्न दुईथरी टिकट मूल्य

काठमाडौं । नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल आज हुँदैछ ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसगँ मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ । त्यसमा भारतले १३ खेल जित्दा नेपालले दुई खेल मात्रै आफ्नो पक्षमा पारेको छ । त्यस्तै नेपाल र भारतीचका चार खेल बराबरीमा सकिएको इतिहास छ । खेल साँझ ५ः३० बजे हुनेछ । त्यस्तै नेपालले भारतसँग दोस्रो मैत्रीपूर्ण खेल यही भदौ २० गते खेल्नेछ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्धको खेलका लागि नेपाली टोली तयारी अवस्थामा रहेको जानकारी दिए । उनले खेल जित्नकै लागि खेल्ने बताए ।

प्रशिक्षक अलमुताइरीले भारतविरुद्ध उत्कृष्ट प्रदर्शनका साथै जित्नकै लागि खेल्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बताए । उनले नेपाल भन्दा भारत निकै बलियो भए पनि इतिहासलाई नहेरी भविष्यका लागि खेल्ने बताए ।

उनले भारतविरुद्ध नेपालको विगतमा राम्रो नतिजा नभए पनि त्यसले खासै असर नपर्ने जानकारी दिए । भविष्यलाई ध्यानमा राखेर तयारीसमेत गरिरहेको र दुवै खेलमा जित हासिल गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म हुनेछ ।

खेल हेर्न टिकट मूल्य १ हजार र २ हजार

मैत्रीपूर्ण खेलको टिकट मूल्य तय भएको छ । एन्फाले बुधबार दुई फरक दरको टिकट मूल्य तोकेको छ  । सामान्य प्यारापिटतर्फ १ हजार र भीआईपीतर्फ २ हजारको टिकट मूल्य तोकेको छ । टिकट प्रभु पेबाट किन्न सकिनेछ ।

मैत्रीपूर्ण खेलका लागि सरकारले ५१ सय दर्शकलाई अनुमति दिएको एन्फाले जनाएको छ । तर, खेल हेर्ने दर्शकले कोभिडको पूर्ण खोप लगाएको वा कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको देखाउनु पर्नेछ ।  

खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्नेछ । 

गाउँ सहर संवाददाता

तपाईँको मत