अर्थतन्त्र

निजी क्षेत्रमा प्रवाहित कर्जा २७.३ प्रतिशतले बढ्याे, पूनरकर्जामा रु. १२२ अर्ब ७० करोड लगानी

काठमाडाैँ । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७७-७८ को वार्षिक तथ्याङ्कमा आधारित) तथ्यांकनुसार बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन, कर्जा प्रवाह र पुनरकर्जा, सहुलियतपूर्ण कर्जा र व्यवसाय निरन्तरता कर्जा यस्ताे रहेकाे छ ।

निक्षेप परिचालन

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २१.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप १८.७ प्रतिशतले बढेको थियो ।

२०७८ असारमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः १०.४ प्रतिशत, ३४.२ प्रतिशत र ४७.० प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः १० प्रतिशत, ३१.९ प्रतिशत र ४८.६ प्रतिशत रहेको थियो ।

२०७८ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४२.७ प्रतिशत रहेको छ । २०७७ असार मसान्तमा यस्तो निक्षेपको अंश ४४.३ प्रतिशत रहेको थियो ।

कर्जा प्रवाह

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २७.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १२ प्रतिशतले बढेको थियो ।

समीक्षा वर्षमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २७.८ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह ३०.५ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरुको कर्जा प्रवाह ६.३ प्रतिशतले घटेको छ । 

२०७८ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये६६.१ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.७ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७७ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.७ प्रतिशत र १३ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७७-७८ मा बैंक तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा ४३.६ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २०.६ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १८.४ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २०.४ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २६.२ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको
कर्जा २०.९ प्रतिशतले बढेको छ ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा २९.७ प्रतिशतले, ओभरड्राफ्ट कर्जा २९.८ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ४८.७ प्रतिशतले, डिमान्ड तथा चालु पूँजी कर्जा २५.४ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १५.८ प्रतिशतले र मार्जिन प्रकृति कर्जा ११०.८ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ७.७ प्रतिशतले घटेको छ ।

पुनरकर्जा, सहुलियतपूर्ण कर्जा र व्यवसाय निरन्तरता कर्जा

आर्थिक वर्ष २०७७-७८ मा कुल रु. १४८ अर्ब ७५ करोड पुनरकर्जा स्वीकृत भई २०७८ असार मसान्तमा रु. १२२ अर्ब ७० करोड लगानीमा रहेको छ ।

२०७८ असार मसान्तसम्ममा १ लाख ४ हजार १०९ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई रु. १६१ अर्ब ४४ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ४६ हजार ५७ ऋणीलाई प्रवाह भएको रु.१०६ अर्ब ९८ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ५५ हजार ५५१ महिला उद्यमीलाई प्रवाह भएको रु. ५० अर्ब ९८ करोड कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ५०१ ऋणीको रु.३ अर्ब ४८ करोड कर्जा बक्यौता रहेको छ । 

“व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु-याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएकोकर्जा २०७८ असार मसान्तसम्ममा रु.९५ करोड ६७ लाख स्वीकृत भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत