जीवनशैली

‘हिराे’ बन्ने सपना त्यागेर सबैकाे ‘फ्रेन्ड्स’

विभिन्न पेशा, व्यवसाय, सामाजिक कार्य तथा जीवन भाेगाइहरूबाट समाजमा नयाँ केही गरेका, गर्न सकारात्मक प्रयासरत तथा भरखर सफलताकाे सिँढीमा उक्लदै गरिरहेकाहरूलाई प्राेत्साहन, प्रेरणा, उत्साह थप्न र उर्जा मिलाेस् भनेर गाउँ सहर डट कमले समाजमा रहेका त्यस्ता पात्रहरूकाे व्यक्तित्वसहित समेट्ने प्रयासस्वरूप ‘गाउँ सहरमा व्यक्ति-विशेष’ श्रृङ्खला शुरू गरेका छाैँ । जसमा अन्तर्वार्ता तथा व्यक्ति परिचय हुने गर्दछ । यस अन्तर्गतकाे याे श्रृङ्खलामा पनि हामीले एक युवासँग कुराकानी गरेका छाैं । 

जाे सेवा र कर्ममा विश्वास गर्छन् । उनी कर्मलाई असल नियतले गर्नु चाहिं धर्म मान्छन् । स्वार्थ, लोभ र पापबाट माथि उठेर सेवामा समर्पित हुनेमध्ये एक हुन् काठमाडाैंकाे उत्तरी भेग गाेकर्णेश्वर नगरपालिका-२, नयाँपाटी निवासी युवा जीवन श्रेष्ठ । मध्यम वर्गीय परिवारका जेठो छोरा हुन् जीवन । सानै उमेरदेखि विभिन्न सामाजिक कार्यमा सक्रिय श्रेष्ठ फ्रेन्ड्स नेवा क्याफे एण्ड रेष्टुरेन्टका सञ्चालक, घरजग्गा व्यवसायी तथा अन्य विभिन्न क्षेत्रमा संलग्न छन् । त्यसाे त उनी एक समय माेडलिङ्ग क्षेत्रमा पनि लागेका थिए । 

माेडलिङ् रहर  

सुन्दरीजल नयाँपाटीकाे रैथाने । घरकाे जेठाे छाेराे । विद्यालय तह सकाएर कलेजमा पढ्दा पढ्दै माेडलिङमा रहर जाग्याे । साथीभाइले पनि हिराेजस्तै छ भनेपनि मन फुरूङ्ग नहुने हुरै भएन । माेडलिङकाे विगत सम्झदै श्रेष्ठले भने-'सबैले माडलिङ गर, माेडलिङ गर भन्न थालेपछि म जिम क्लब धाउन थालेँ । हिराे बन्छु भनेर के के गरिएन ।' 

श्रेष्ठले सन् २००६ काे मिस्टर नेपालमा भाग पनि लिए । उक्त श्रृङ्खलाकाे 'बेष्ट पर्सनालिटी अवार्ड' हात पार्न सफल भए । साे समयमा विभिन्न म्युजिक भिडियाे तथा फिल्ममा खेल्न अफर आएपनि घरायसी व्यवहारिक जिम्मेवारीले समय दिन नसकेकाे बताउँछन् । त्यसपछि घरमै रेष्टुरेन्ट व्यवसाय शुरू गरेपछि व्यस्तताले माेडलिङ क्षेत्रमा समय दिन नसकेकाे बताए ।

आत्मनिर्भरताका लागि बाटो खोज्ने क्रममा माेडलिङ क्षेत्र छुटेकाे उनले बताए । कलेजको कक्षापछि साथीभाई रमाइलोतिर लागे भने उनी कामतिर । बाध्यता नभए पनि यो उनको फरक खालको संघर्ष थियो ।

घरमै रेष्टुरेन्ट व्यवसाय र जिमखाना

२२ वर्षदेखि घरमै सञ्चालन गरिरहेकाे रेष्टुरेन्ट उनकाे राम्राे आम्दानीकाे स्राेतमध्ये एक हाे । 'फ्रेण्डसीप क्याफे एण्ड रेष्टुरेन्ट' नामजस्तै धेरैजसाे साथीभाइ नै उनका रेष्टुरेन्टका नियमित ग्राहक हुन् । स्थानीयदेखि सुन्दरीजल घुम्न पुग्नेहरूका नजरमा उनकाे रेष्टुरेन्ट पहिलाे राेजाइमा पर्ने गर्दछ ।    

नयाँपाटी चाेककाे पिपलकाे रूख र मन्दिर अघिकाे घरमा रहेकाे रेष्टुरेन्ट भूइँ तलामा सञ्चालन गरिरहेका छन् । भ्याएसम्म आफैँ बस्छन् । शुरूशुरूमा त खासै चल्दैनथ्याे । उनले सुनाए- 'यसाे चिया, चाउमिन, मम, चाउचाउ जस्ता खाजा बनायाे वरपरका मानिसहरू नै मुख्य ग्राहक थिए । यस्तैमा दैनिक एक-दुई हजार हुने कमाइ कलेजमा जाँदा साथीभाइलाई खुवाएर, रमाइलाे गरेरै सकिन्थ्याे । अहिले परिस्थिति फरक छ । घरजग्गा व्यवसायीदेखि सुन्दरीजल घुम्न आउनेहरू मुख्य ग्राहक बनेका छन् ।'

दिनदिनै रेष्टुरेन्टमा आउने साथी भाइहरूकाे घेरा फराकिलाे हुँदैछ । मिजासिलाे बाेली, भलाे चिताउने र सक्ने काम नाइँ नभन्ने सहयाेगी भावनाले धेरैकाे मनमा बस्दै गए । साथी, छिमेकी तथा सुन्दरीजल घुम्न आउनेहरूकाे प्रिय बन्दै गएकाे रेष्टेरेन्ट आम्दानीकाे स्राेत बनिरहेकाे छ । अहिले त उनले हाेमस्टे जस्तै विदेशबाट सम्पर्कमा आउने विदेशी पाहुनालाई पनि राख्ने गरेकाे छन् । उनले त्यसरी धेरै देशका नागरिकहरूलाई सेवा दिएका छन् । 

माेडलिङकाे रहरले नियमित जिम गर्ने बानी परेपछि उनले घरमै जिमखाना पनि सञ्चालन गरेका छन् । जहाँ नयाँपाटी वरपरका सबैले नि:शुल्क व्यायम गर्न सक्ने उनले बताए । निषेधाज्ञाले मानिस घरबाट बाहिर जाने अवस्था नभएपछि उनले नि:शुल्क सेवा उपलब्ध गराएर स्वास्थ्यप्रति पनि सजग हुनुपर्ने सन्देश दिएका छन् । 

'सफलताको सम्बन्ध कामसित हुन्छ । सफल मानिसहरु सधैँ गतिशील हुन्छन्'-श्रेष्ठ भन्छन् । इमानदारिता, मीठाे बाेली र कामप्रतिकाे लगाव नै सफलताकाे बाटाे भएकाे उनकाे ठम्याइ छ।

रेष्टुरेन्टमा कम, जग्गा व्यवसायमा बढी

पछिल्लाे समयमा सुन्दरीजलमा मेलम्चीबाट ल्याइएकाे खानेपानी जम्मा गर्ने ट्याँकी र सुरूङमार्ग बनेपछि जग्गाकाे भाउ आकाशिन थाल्याे । उनले पनि विस्तारै विस्तारै जग्गा सम्बन्धि काम गर्न थाले । जाेरपाटी-सुन्दरीकाे बाटाे बढेपछि त त्यस भेगकाे जग्गाकाे किनबेच ह्वात्तै बढ्न थाल्याे । जसले गर्दा उनका लागि त्याे अवसर बन्न पुग्याे । र अहिले जग्गा किनबेच गराउने व्यक्तिकाे रूपमा परिचित छन् । 

त्यसाे त साथीहरूसँग मिलेर उनले 'निशान रियल स्टेट कम्पनी' नै मार्फत नै काम थालेका छन् । शुरू शुरूमा जग्गा देखाएवापतकाे केही रकम हात पार्ने गरेकाे भएपनि अहिले भने व्यवसायिक रूपमै जग्गा किनबेच, प्लटिङमा पनि हात हालेका छन् । जसकाे काम घरमै रहेकाे रेष्टुरेन्टबाटै पनि गरिरहेका हुन्छन् । 

‘अन्य क्षेत्रको तुलनामा जग्गामा लगानी गर्ने बढेका छन्,’ उनले भने, ‘कोभिडपछि सुन, सेयरमा भन्दा जग्गा सुरक्षित हुन सक्ने कारणले कारोबार बढ्दै गएकाेछ ।’ काठमाडौंलगायत सहरमा जग्गा किन्नेहरूको संख्यासमेत यो अवधिमा बढेको उनको भनाइ छ ।

इमान्दार भएर निरन्तर अगाडि बढ्दा सफलता मिल्ने बताउँछन् श्रेष्ठ । अहिले रेष्टुरेन्टमा कम समय र रियल स्टेटतिर समय बढि दिइरहेका छन् ।

स्वस्फूर्त सेवामा, संस्थागत सेवाकाे माध्यम बन्याे लायन्स क्लब

कोरोनाभाइरसको प्रकोपले विश्वकै अर्थतन्त्रमा गम्भीर असर परेको बेला नेपाल पनि यसबाट अछुतो रहन सकेन । नेपाल सरकारले निषेधाज्ञा लागू गरेपछि उनकाे रेष्टुरेन्ट र जग्गा खरिदबिक्री व्यवसाय पनि ठप्प भयाे । उताउता हिँडिरहनुपर्नेमा मान्छे घरभित्रै थुनिनपर्दा उकुसमुकुसमा थिए । लामाे समय निषेधाज्ञामा घरभित्रै बस्नुपरिरहेकाे बेला लायन्स क्लबले आइसोलेसन तथा होल्डिङ सेन्टर तथा श्रमिकहरूलाई खाद्यान्न सहयाेग गर्ने खबरले उनलाई सामाजिक कार्यमा जुट्न झन् प्रेरित गर्याे । 

यस अवधिमा उनले लायन्स क्लबमार्फत सुन्दरीजल वरपर तथा काठमाडाैंका विभिन्न स्थानमा पुगेर खाद्यान्न, लताकपडादेखि स्वास्थ्य सामाग्री र नगद पनि सहयाेग गर्न भ्याए । 

लायन्स क्लब अफ काठमाडाैं बाैद्ध आवद्ध उनले यसै वर्ष नयाँपाटी वरपरका साथीभाइहरू समटेर 'लायन्स कल्ब अफ काठमाडाैं फेन्ड्स' स्थापना गरे । जसकाे उनी संस्थापक अध्यक्ष हुन् । अहिले उनले उक्त लायन्स क्लबमार्फत साथीहरूसँग मिलेर सामाजिक सेवामा संलग्न हुँदै आएका छन् । मनाङकाे बाढी हाेस् वा सिन्धुपाल्चाेक मेलम्चीकाे पहिराे पीडितका लागि व्यक्तिगत र संस्थागत रूपमा सक्दाे सहयाेग गर्दै आएका छन् । 

महाविपत्तिमा मनमनमा सहयोगी भावना बाेकेर हातेमालाे गर्नुपर्नेमा उनकाे जाेड छ । राज्यकाे जस्तै नागरिककाे पनि केही न केही दायित्व हुने उनकाे भनाइ छ । हुनेले कम हुनेलाई वा नहुनेलाई सहयाेग गर्नु नै मानवीय धर्म सम्झन्छन् । लायन्स क्लबमा आवद्ध भएपछि सामाजिक सेवाकाे बुझाइ फरक भएकाे बताउँछन् । 

त्यसाे त उनले यसअघि नै ५ जना विद्यार्थीहरूलाई सम्पूर्ण खर्च बेहाेर्ने गरि पढाइरहेका छन् । समाज सेवा मानवतासँग सम्बन्धित हुने र मानवताप्रति देखाएको श्रद्धा नै समाज सेवा हुने श्रेष्ठले बताए ।

नयाँपाटीमा मन्दिर बनाउन हाेस् वा विभिन्न देवी देवताकाे मूर्ति राख्न उनले व्यक्तिगत खर्च सहयाेग गरेका छन् नै स्थानीय युवा क्लब तथा अन्य सामाजिक संघ संस्थामार्फत पनि उनी कुनै न कुनै ढंगले सार्वजनिक कार्यमा जाेडिएकै हुन्छन् । 

'समाज सेवा र समाज सेवी सगरमाथा भन्दा पनि उच्च स्थानमा रहन्छन् समाज सेवाको भित्र स्वार्थ लुकेको हुनु हुँदैन र समाज सेवीको हृदय नाङ्ग्लो जत्रो हुनु पर्छ । समाजसेवा अन्य व्यवसायभन्दा भिन्न र आत्मसन्तोषी पनि हुन्छ । समाजसेवी हो या स्वयम्सेवक  समाजसेवीलाई सस्तो बनाउनु हुँदैन',- उनले भने । 

हाे, श्रेष्ठले भनेजस्तै समाजलाई समाजजस्तो बनाउन स्वार्थ, लोभ र पापबाट मान्छेहरु माथी उठ्न जरुरी छ । अनि मात्र समाज समाज जस्तो बन्छ । अन्त्यमा, सेवा धर्म हो, गीतामा भनेझैँ कर्म गर फलको आशँ नगर भन्ने कुरालाई मध्यनजर गर्दै त्यसलाई व्यबहारमा उतार्ने मात्र समाजसेवी हुन सक्दछ ।

समाज सेवाको नाममा कही कतै ब्रम्हलूट पनि भएको हामीले समाचार सुनेका छौँ । समाजसेवीको नामबाट गलत क्रियाकलाप पनि नभएका हाेनन् तर त्यो समाज सेवाको रथ हाक्ने जिम्मा मानिसले लिएका हुन्छन् । समाजसेवा पवित्र कार्य हो भने समाजसेवीको चरित्र तथा दरिद्र मानसिकताबाट समाज सेवामा कालो धब्बा लाग्दछ । आजकाल छ्याप छ्याप्ती जहाँ गयो त्यहि समाजसेवी देख्न थालेको छ । तर हिसाबकिताब गरेर दिमागले सेवा गर्नेभन्दा मनदेखि गर्ने सेवा पवित्र हुन्छ । 

गाउँ सहर संवाददाता