राजनीति

कांग्रेस कार्यकर्ताबीच भाइरल तीन भाइकाे भेटघाट

काठमाडौं । नेपाली कांग्रेसका तीन नेता यतिबेला पार्टी कार्यकर्ताबीच भाइरल छन् । भाइरल यसअर्थमा कि उनीहरूले यो साता तीन नेताले पालैपालो एकअर्काको घरमा गई १४ औं महाधिवेशनको विषयमा सम्वाद गरेका छन् ।

नेपाली कांग्रेसका नेतात्रय उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीको १४ औं महाधिवेशनको सम्बन्धमा छलफल गरिरहेका छन् । ८ असारमा उपसभापति निधिको निवासमा भेटेका नेतात्रयबीच महामन्त्री कोइरालाको निवासमा पनि भेटवार्ता भयो ।

मंगलबार कांग्रेस नेता प्रकाशमान सिंहको निवासमा भएको तीन नेताको भेटघाटको क्रममा आगामी दिनमा महाधिवेशन केन्द्रीत छलफलको दायरालाई फराकिलो पार्न भन्दै शुक्रबार महामन्त्री शशांक कोइरालाको टोखास्थित निवासमा केन्द्रीय सदस्यहरुसँग छलफल गर्न सहमत भएका हुन् ।

सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता सिंहले पार्टीमा सबैको चाहाना पार्टी राम्रोसँग सञ्चालन हुनुपर्ने र प्रजातान्त्रिक तवरले सञ्चालन गर्नुपर्ने रहेको भन्दै छलफलको दायरा बढाउनको निम्ति केन्द्रीय सदस्यसँग बैठक गर्न लागिएको बताए । उनले १३ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका नेताहरुसँग पनि अलग्गै छलफल गर्ने जानकारी दिए ।

तीन नेताको भेटघाटमा पाउनुपर्नेले क्रियाशिल सदस्यता पाउनुपर्ने र छानबिनमा रहेका सदस्यहरुलाई आवश्यक विधि, प्रक्रिया पुरा गरेर क्रियाशिल सदस्यता दिनुपर्ने विषयमा छलफल भएको पनि उनले बताए ।

 

नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा नेताहरूले छलफल तीव्र पारेका छन् । नेता त्रय एकअर्काकाे ‘लञ्ज मिटिङ’ सहित छलफल तीब्र पारिरहेका छन् । उनीहरूको भेटघाटले देशभरका कार्यकर्ता माझ उत्साह पनि देखिएको छ । 

सभापति शेरबहादुर देउवासँग आफू पनि सभापति उठ्ने बताएपछि सभापतिका दाबेदार निधिल, कोइराला र सिंहकाे निरन्तर भेटघाटले कांग्रेसमा अहिले नयाँ तरंग आएको छ । भेटघाटलाई कतिपयले आगामी महाधिवेशनमा पुराना गुट भत्कने र नयाँ गुट बन्ने बताइरहेका छन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत