खेल

पोर्चुगललाई हराउँदै बेल्जियम क्वाटरफाइनलमा, चेक रिपब्लिक पनि अन्तिम आठमा, आज दुई खेल

काठमाडाैं । १६ औं संस्करणको युरोकप फुटबलमा बेल्जियमले पोर्चुगललाई १-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

सेभियास्थित स्टाडियो ला कुर्ट्जा स्टेडियममा बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्डले निर्णायक गोल गरे ।

पोर्चुगल भने अन्तिम १६ बाटै बाहिरिएको छ । अब बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यसैगरि, नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक क्वाटरफाइनलमा प्रवेश गरेको छ । हंगेरीमा आइतबार राति भएको प्रि-क्वाटरफाइनलमा चेक रिपब्लिकले १० खेलाडीमा सिमित नेदरल्यान्ड्सलाई २-० गोल अन्तरले पराजित गरेको हो  ।

पुस्कास एरिनामा चेक रिपब्लिकलाई जित दिलाउन टोमस होल्स र प्याट्रिक शिकले एक एक गोल गरे ।

अब चेक रिपब्लिकले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ । डेनमार्क वेल्सलाई ४-० ले हराएर क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।

 

युरोकपमा आज दुई खेल

युरोकप फुटबलमा आज (सोमबार) दुई खेलहरु हुँदैछन् ।

पहिलो खेलमा स्पेन र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा फ्रान्सले स्विट्जरल्यान्डको सामना गर्नेछ  ।

डेनमार्कको पार्केन एरिनामा हुने स्पेन र क्रोएसियाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

रोमानियाको नेसनल एरिनामा हुने फ्रान्स र स्विट्जरल्यान्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । 

गाउँ सहर संवाददाता