स्वास्थ्य

कोरोना सक्रिय संक्रमितको संख्या घट्दो, थप ६७* जनाको मृत्यु, निको भए ५ हजार २२५, ३ हजार ७५० नयाँ संक्रमित थपिए

काठमाडौँ । नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । दैनिक मृतकको संख्या घटेको छ । नयाँ थपिने संक्रमितको संख्यापनि कम भएको छ भने निको हुने दर बढेको छ । यो खुसीको खबर हो ।

कोरोनाभाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा ६७* जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ८ हजार ३०५ पुगेको छ । 

यो *मृत्यु नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत हुन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुबै विधिबाट १५ हजार १८२ को परीक्षण गरिएकोमा ३ हजार ७५० नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या पिसिआर परीक्षणबाट ६ लाख ४ हजार ३९६ र एन्टिजेन विधिबाट पहिचान भएका १ लाख ८ हजार ७५५ पुगेका छन् । 

काठमाडौँमा १० हजार ५१, भक्तपुरमा २ हजार ९४६ र ललितपुरमा ३ हजार ९९४ सक्रिय संक्रमित रहेको मन्त्रालयले बताएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार २२५ जना निको भएका छन् । योसहित कुल निको हुनेको संख्या ५ लाख २० हजार ८१६ पुगेको छ । निको हुने दर ८६.२ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार अहिले देशभरमा ७५ हजार २७५ सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा १ हजार १८९ को आइसियूमा र ३६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उसका अनुसार अहिले होम आइसोलेशनमा रहनेको संख्या ६९ हजार ८६८ र संस्थागत आइसोलेशनमा रहनेको संख्या ५ हजार ५८९ छ । क्वारेन्टाइनमा रहनेको संख्या ५९४ छ ।

पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न धेरै स्थानहरुमा कडा निषेधाज्ञा जारी गरिएको छ भने काठमाडौँ उपत्यकामा केहि खुकुलो गरिएको छ ।

पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २१ वर्षदेखि ६० वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ । 

मन्त्रालयका अनुसार ४६ जिल्लाहरुमा संक्रमणको दर ५०० माथि छ । उसका अनुसार कोभिड १९ विरुद्धको खोप लगाउनेको संख्या पहिलो मात्रा लगाउने २३ लाख ३७ हजार ७७९ र दोस्रो मात्रापनि लगाउनेको संख्या ६ लाख ९१ हजार ४९४ छ ।

गाउँ सहर संवाददाता