गाउँ सहर

कोभिड र पार्टीको कोषमा बुझाएकाे रकम उल्लेख गर्दै पाेखरेलले भने- मैले गरेका कामहरू अभिलेखहरूमा छन्

काठमाडाैं । निवर्तमान उपप्रधानमन्त्री ईश्वर पोखरेलले पदमा रहँदा सुविधा प्राप्त गरेवापत राज्यलाई बुझाउनु पर्ने सबै किसिमका दायित्वहरू पूरा गरेको र अब पार्टीमा क्रियाशील रहने बताएका छन् ।

पोखरेलले कोभिड संक्रमितको उपचारका लागि सात महिनाको पारिश्रमिक बराबर ४ लाख ५६ हजार ४ सय रुपैयाँ कोभिड कोषमा बुझाएका छन् । त्यस्तै पार्टीको कोषमा लेवीबापत ६ लाख ५ हजार रुपैयाँ बुझाएको पोखरेलले जनाएका छन् ।

पोखरेलले मन्त्री हुँदा आफूले सुबिधाबापत प्राप्त गरेका सबै दायित्वहरु राज्यलाई बुझाइसकेको र मन्त्री क्वार्टर शनिवार नै खाली गरिसकेको बताएका छन् ।

पोखरेलले अहिले सबैतिर पार्टी छ तर कहिँ पनि पार्टी छैन जस्तो अवस्था रहेको भन्दै यसलाई बदल्नुपर्ने चुनौती रहेको बताएका छन् । पोखरेलले पार्टीभित्रको एकतासमेत अहिले संकटमा रहेकाले यसलाई जोगाउन आफू लाग्ने बताएका छन् ।

सामाजिक सञ्जालमा पाेखरेलले लेखेका छन्:

म २०७४ फागुन १४ गतेदेखि २०७७ असोज २८ गतेसम्म (२ वर्ष ७ महिना १४ दिन ) नेपाल सरकारको रक्षा मन्त्री र तत्पश्चात २०७८ जेठ २१ गतेसम्म (७ महिना २३ दिन ) प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने जिम्मेवारीमा रहेँ ।

शुरूमा अर्थात् २०७४ फागुन १४ गतेदेखि २०७५ जेठ १७ गतेसम्म रक्षा मन्त्रीको रूपमा र त्यसपछि उपप्रधानमन्त्रीको हैसियतले रक्षा मन्त्रीका रूपमा जम्मा ३ वर्ष ३ महिना ७ दिन म प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकारमा रहेँ ।

यस अवधिलाई मैले मेरो राजनीतिक र सामाजिक जीवनको महत्वपूर्ण समयावधिका रूपमा लिएको छु । यस अवधिमा मलाई आफ्नो जिम्मेवारी पूरा गर्न सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले मार्गदर्शन गरिरहनु भयो । मन्त्री साथीहरूले निरन्तर सहकार्यका लागि सहृदयता प्रदर्शन गरिरहनु भयो ।

नेपाल सरकारका मुख्य सचिव, नेपाली सेनाका प्रधान सेनापतिलगायत सकल दर्जाका साथीहरू, मन्त्रालयका सचिवजीहरू तथा अन्य सम्पूर्ण कर्मचारी साथीहरूले गर्नुभएको सहयोगलाई म कहिल्यै विर्सन सक्तिनँ । मलाई समर्थन गर्नुहुने, माया गर्नुहुने आम जनता खासगरी निर्वाचन क्षेत्रका मतदाताहरूले सद्भाव र समर्थन जनाइरहनु भयो । उहाँहरूले गर्नुभएको सहयोग र सद्भावलाई म कहिल्यै विर्सने छैन । उहाँहरू सबैप्रति म कृतकृतज्ञ छु ।

यसबीच सरकारमा रहेकाबेला मबाट र मेरो नेतृत्वमा भएका सबै कामहरू सम्वन्धित ठाउँमा औपचारिक अभिलेखहरूमा सुरक्षित रहेका छन् । तिनले आजमात्र नभएर आवश्यक पर्दा पछि पछिसम्म पनि सबैलाई यथार्थ बताइरहने कुरामा मैले विश्वास लिएको छु ।

यसबीच कोभिड संक्रमणको महामारीका समयमा मैले "उच्चस्तरीय समन्वय समिति" र "कोभिड १९ संकट व्यवस्थापन केन्द्र" मा संयोजकका हिसावले भूमिका खेल्ने काम गरेँ ।त्यसबेलाको जटिलतासित गाँसिएर उठेका/उठाइएका कुराहरूलाई म कहिल्यै बिर्सन सक्तिनँ ।

यसबीच मैले कोभिड संक्रमितहरूको उपचारका लागि सरकारको औपचारिक निर्णयअनुसार सात महिनाको पारिश्रमिक ४,५६, ४००।- कोभिड कोषमा बुझाएको छु । सुविधा प्राप्त गरेवापत राज्यलाई बुझाउनु पर्ने सबै किसिमका दायित्वहरू पूरा गरेको छु ।

मन्त्री हुँदा प्राप्त सबै सेवा सुविधाहरू सम्वन्धित ठाउँमा आइतबार (२३ गते जेठमा) बुझाइसकेको छु । यस अवधिमा मैले मेरो प्रिय पार्टीको कोषमा ६,०५,०००।- बुझाएको छु । पुल्चोकस्थित मन्त्री क्वार्टर २२ गते शनिबार नै खाली गरिसकेको छु ।

साथीहरू सबैलाई थाहा छ- म नेकपा ( एमाले) को महाधिवेशनबाट निर्वाचित महासचिव- तर "महान र ऐतिहासिक" भनिएको एमाले-माओवादी केन्द्रबीच सम्पन्न एकतापछि म महासचिवको जिम्मेवारीमा रहिन ।

तर २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एमाले-माओवादी पार्टीहरूको पूर्वस्थिति कायम रहन पुगेका कारण म पुन: एमालेको महासचिव रहन पुगेको छु । यो अवस्थामा मैले बुझेको छु- म पार्टीको महासचिव भएर पुन: भूमिका खेल्नुपर्ने आवश्यकता आइपरेको छ ।

पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसित यस सम्वन्धमा कुराहरू भएका छन्। उहाँले मलाई परिस्थितिको गम्भीरता बारे बताउँदै आउनुभएको पनि छ र मैले उहाँको अन्तरआशयलाई राम्ररी बुझ्ने प्रयत्न पनि गर्दै आएको छु ।

अहिले कतिपयले भन्ने गरेजस्तो "सबैतिर छ पार्टी- तर कहिं पनि छैन पार्टी" जस्तो अवस्थालाई बदल्नुपर्ने चुनौती छ । र, यो बदल्ने अभियान संचालन गर्ने संस्थाको महासचिव भएर मैले भूमिका खेल्नुपर्ने छ । 

दुर्भाग्य नै हो- यतिवेला पार्टीभित्रको एकतामा पनि संकट देखापरेको छ । यसबाट पार्टीलाई जोगाउनुपर्ने आवश्यकता छ । चुनौतीहरू थुप्रै किसिमका छन् ।

राष्ट्रिय राजनीतिमा अस्थिरताका झन्झावातका आशंकाले मानिसहरूमा त्रास सृजना गराउन खोजिदैँछ । आर्थिक विकास र सम्वृद्धिको अभियानलाई कमजोर पार्ने, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको विषयलाई कमजोर बनाउने, मुलुकलाई अराकता र अस्तव्यस्ततातर्फ धकेल्ने, सामाजिक सद्भावलाई विथोल्ने आदि दुस्प्रयत्नहरू हुँदैछन् र ती प्रवृत्तिलाई प्रश्रय दिन भित्र/बाहिरबाट प्रयत्न भइरहेको कुरालाई बुझ्न सकिन्छ ।

यस्तो बेलामा सिंगो राष्ट्रले आम नेपाली जनताले नेकपा (एमाले) प्रति - सुदृढ र जनआधारित नेकपा (एमाले) प्रति आशा गरेको कुरालाई बुझ्न सकिन्छ ।

यो आवश्यकतालाई पुरा गर्ने चुनौतीपूर्ण उद्देश्यद्वारा निर्देशित हुनुपर्ने छ । यसका लागि पार्टीका सबै नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक मित्रहरूलाई गोलवन्द हुन हार्दिक अनुरोध गर्दछु ।

गाउँ सहर संवाददाता

तपाईँको मत