अर्थतन्त्र

के छ आर्थिक सर्वेक्षण २०७८ मा (पूर्णपाठसहित)

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै सरकारले मुलुकको कुल ग्राहस्थ उत्पादन (जीडीपी) वृद्धिदरबाहेक अर्थतन्त्रका बाँकी सबै सूचक सकारात्मक रहेको दावी गरेको छ ।

आर्थिक सर्वेक्षण २०७७/७८ सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोभिड १९ को महामारी बढेका कारण ४.०१ प्रतिशत आर्थिक बृद्धि हासिल गर्न कठिन भएको बताए ।

अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण २०७८ सार्वजनिक गर्दै पछिल्लो २ दशकमै पहिलो पटक मुलुकको आर्थिक वृद्धिदर २ दशमलब १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको बताए । उनले स्वास्थ्य संकटको अवस्थामा क्रमश सुधार आउने अपेक्षासहित नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक बर्षमा ४ दशमल शुन्य १ प्रतिशत रहने अनुमान गरिएको भएपनि चालु आर्थिक वर्षको तेश्रो चौमासिकबाट तीव्र गतिले फैलिरहेको कोभिड १९ को दोश्रो लहरको कारण अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चुनौतिपूर्ण बन्दै गएको बताए ।

आर्थिक सर्वेक्षण २०७८ मा चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा ५ दशमलब ८ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ११ सय ९१ पुगेको अनुमान गरिएको छ ।

त्यसैगरी प्रतिव्यक्ति कुल राष्ट्रिय आयमा ५ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ११ सय ९६ पुगेको अनुमान गरिएको छ । पछिल्ला वर्षहरुमा बस्तु तथा सेवाको औषत मूल्यस्तर वाञ्छित सीमाभित्र नै रहेको जनाइएको छ । आर्थिक बर्ष ७६-७७ मा तीनै तहका सरकारको एकीकृत खर्च ११ खर्ब ९१ खर्ब ६ करोड रुपैया रहेको छ । एकीकृत खर्चमध्ये चालु खर्च ५६ प्रतिशत र पुँजीगत खर्च ३४ दशमलब १ प्रतिशत र वित्तीय व्यवस्था ९ दशमलब ९ प्रतिशत रहेको छ । त्यसैगरी सरकारको बजेट घाटा कुल गार्हस्थ्य उत्पादनको ८ दशमलब १ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षको फागुनसम्म संघीय राजश्वमा भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ दशमलब ६ प्रतिशतले बढेर ५ खर्ब १ अर्ब ९७ करोड पुगेको छ ।

सोही कार्यक्रममा अर्थसचिव शिशिर कुमार ढुंगानाले कोभिड १९ महामारीको दोस्रो लहरका कारण अर्थतन्त्रमा केही चाप तथा चुनौती थपिए पनि गतवर्षको जस्तो गम्भीर संकुचन नदेखिने बताए ।

‘हामीले जीडीपीको वृद्धिदर लक्ष्य ७ प्रतिशत राखेकामा त्यो लक्ष्य नभेटिने हुँदा त्यसमा मात्रै हामी पछाडि छौं । अर्थतन्त्रका अरु सूचकहरुमा हामी कम्र्फटेबल जोन मै छौं,’ सचिव ढुंगानाले भने ।

सचिव ढुंगानाले विदेशी विनिमयको सञ्चिति सबल रहेको, मुद्रास्फिती नियन्त्रित अवस्थामा रहेको, वैदेशिक व्यापारमा परिसूचकहरु सकारात्मक रहेको, वैशाखसम्मको राजस्व संकलन लक्ष्य अनुरुप नै रहेको, रेमिट्यान्स बढेको र बजेट खर्च पनि गतवर्षको तुलनामा केही बढेका कारण अर्थतन्त्रमा ठूलो असर नदेखिने दावी गरे ।

गाउँ सहर संवाददाता

तपाईँको मत