विश्व

विमान दुर्घटनामा परि नाइजेरियाका सेना प्रमुखको मृत्यु

  • ८ जेठ शनिबार, २०७८ | १२:३२:०० मा प्रकाशित

नाइजेरियाका सेना प्रमुख जनरल इब्राहिम अटाहिरूको देशको उत्तर-पश्चिमी राज्य कडुनामा भएको एउटा विमान दुर्घटनामा परेर मृत्यु भएको बीबीसीले जनाएकाे छ ।

खराब मौसमबीच विमान अवतरण गर्ने प्रयास हुँदा उक्त घटना घटेको सेनाले जनाएको छ ।

दुर्घटनामा परेर चालक दल र अन्य दशजना अधिकृतहरू मारिएको बताइएको छ ।

राष्ट्रपति मोहम्मदु बुहारीले दुर्घटनाका कारण आफू 'गहिरो दु:खमा परेको' बताएका छन् । 

५४ वर्षीय जनरल अटाहिरूले गत ज्यानुअरी महिनामा सेनाको उच्च तहमा पुनर्संरचना गरिँदा उक्त पद सम्हालेका थिए ।

इस्लामिक लडाकुहरूका कारण एक दशकभन्दा लामो समयदेखि अस्थिरता झेलिरहेको उक्त पश्चिम अफ्रिकी देशमा त्यस्तो पुनर्संरचना सेनाको प्रभावकारिता बढाउने सरकारी उद्देश्य अन्तर्गत गरिएको थियो ।

नाइजेरियन एयर फोर्सका अनुसार विमान कडुना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा सो दुर्घटना भएको थियो ।

तपाईँको मत