संसदमा प्रतिपक्षी सांसदहरू सरकारविरूद्ध खनिए, सत्ता पक्ष भन्छन्- ‘बाेकाले दाईँ हुँदैन’
- गाउँ सहर संवाददाता
- २६ चैत बिहीबार, २०७७ | १५:२८:०० मा प्रकाशित

काठमाडाैं । संसदको बिहीबारको बैठकमा प्रतिपक्षी सांसदहरू सरकार विरूद्ध खनिएका छन् । तर सरकार पक्षीय सांसदहरूले भने सरकारले समृद्धि र विकासमा अग्रगामी छलाङ मारेकाे दाब गरे ।
संसदमा बाेल्दै नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले तीन वर्षमा केके काम भए संसदमा बहसमा आउन चुनौती दिए । थापाले भने, ‘तथ्य र तथ्यांकमा टेकेर बहस गर्न म तपाईंलाई संसदमा निम्तो दिन चाहन्छु ।’
एमाले सांसद महेश बस्नेतले कांग्रेसका सांसद गगन थापालाई जवाफ दिँदै प्रधानमन्त्री ओली राजनेताको रुपमा अघि बढेको दावी गरे । विगतमा जाँचिएका असफल भएका नेताहरुका चेलाहरूले संसदलाई प्रभावकारी ढंगले चल्न नदिएको आरोप लगाउदै भने, ‘प्रधानमन्त्रीलाई चुनौती दिएर बालहठ गर्ने कांग्रेसका साथीहरुलाई म के भन्न चाहन्छु भने यो बोकाको शैलीले दाईँ गरिँदैन दाईँ गर्नका लागि गोरुकै शैली चाहिन्छ । अहिले प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको हैसियतमा नेकपा एमालेले प्रतिनिधित्व गर्छ । प्रधानमन्त्रीले ल्याएका योजनाहरुलाई सके सहयोग गरौँ नसके वस्तुनिष्ठ ढंगले विश्लेषण गरौँ ।’
एमाले सांसद खगराज अधिकारीले सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँताएपछि संसदीय समितिमा पनि यी दलको अलग अलग प्रतिनिधित्व गराउन माग गरे । प्रतिनिधिसभा बैठकमा एमाले र माओवादी केन्द्रको अलग अलग प्रतिनिधित्व भए पनि संसदीय समितिमा अहिले पनि एमाले सांसदहरु नेकपाकै प्रतिनिधित्व गर्न बाध्य भएको बताए ।
नेकपा एमालेका सांसद लालबाबु पण्डितले संसदमा आएका विधेयक र सन्धि सम्झौताहरु अगाडि बढाउन कुन पार्टी र कुन मन्त्रीले रोकेको छ भन्दै कुनै बाधा अवरोध भए संसदलाई जानकारी गराउन सभामुखलाई आग्रह गरे ।
सांसद लालकाजी गुरुङले प्रतिनिधि सभालाई बेवास्ता गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई राजा महाराजा भन्दा महान् ठान्ने गरेको आरोप लगाए । शिलान्यास गर्नमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्भवतः कीर्तिमान नै कायम गरेकाे र एकैपटक एक सय ६५ वटा सडककाे शिलान्यास गरेकाे भन्दै व्यङ्ग्य गरे ।
सांसद सत्य पहाडीले प्रधानमन्त्री केपी ओली शर्माले असंवैधानिक ढङ्गले प्रतिनिधि सभा विघटन गरेर सांसद र संसद्को अपमान मात्रै नभइ अस्तित्व समेत धुलोमा मिलाउने कोसिस गरेको आरोप लगाइन् ।
सांसद लालबहादुर थापाले गएकाे साउन ४, २५ र भदाै २ गतेको बाढी र पहिरोले बाजुरा जिल्लाका विभिन्न नगरपालिकाका वडामा खेतीयोग्य भूमि बगाएको र कैयौँ विस्थापित भएको भन्दै विस्थापित परिवारलाई पुनर्स्थापना गरी उचित राहतको व्यवस्था गर्न माग गरे ।
सांसद विमला विश्वकर्माले तीन वर्षीय अवधिमा सरकारले गरेका कामहरूको स्वागत गरिन् ।
सांसद शान्ता चौधरीले विकासप्रेमीहरू खुसीले गदगद भएको भन्दै सरकारका कामहरूको प्रशंसा गरिन् ।
त्यस्तै सांसद सत्यनारायण शर्मा खनालले बास र गाँस नभएका चेपाङ बस्तीहरू जलाउने र भत्काउने काम गरेको भन्दै आपत्ति जनाए ।
सांसद सरलाकुमारी यादवले नेपालबाट दैनिक बालबालिका हराउने क्रम बढ्दै गएको भन्दै आफ्ना नागरिकको जीवनको सुरक्षा गर्नु राज्यको दायित्व भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।
अर्का सांसद सरिताकुमारी गिरीले बाल विकास केन्द्रहरूमा कार्यरत शिक्षकहरूले श्रम ऐनअनुसार पारिश्रमिक नपाएको भन्दै आउँदाे बजेटमा ती शिक्षकका लागि उचित पारिश्रमिकको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद सीतादेवी यादवले शान्ति सम्झौताको १४ वर्ष भइसक्दा पनि द्वन्द्वकालीन समयमा बेपत्ता पारिएका व्यक्ति र द्वन्द्व पीडितले न्याय नपाएको भन्दै उनीहरूलाई न्याय गरी आत्मसम्मानका साथ बाँच्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद सुरेशचन्द्र दासले सर्वोच्च न्यायालय र नागरिकबाट पुरस्कृत ओली सरकारको विकल्प नहुनु दुर्भाग्यपूर्ण र रहस्यमय रहेको बताए ।
सांसद स्मृतिनारायण चौधरीले दिल्लीबाट, चीनबाट ट्रेन आउँछ भनेर ओली सरकारले भ्रम छर्ने काम गरेको आरोप लगाए ।
सांसद सञ्जयकुमार गौतमले बाघ, हात्ती र गैँडाको आतङ्कले बर्दिया राष्ट्रिय निकुञ्ज आसपास मध्यवर्ती क्षेत्रमा रहेका नागरिक प्रताडित भएको भन्दै मध्यवर्ती क्षेत्रमा काम गर्ने, पर्यटन व्यवसायी तथा स्थानीयवासीको जीवन रक्षाको प्रत्याभूति गर्दै पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
प्रतिकृया दिनुहोस