हात्तीपाइले रोगविरुद्धको औषधि १२ जिल्लामा खुवाइँदै, ६३ जिल्ला जोखिममा
- गाउँ सहर संवाददाता
- २० चैत शुक्रबार, २०७७ | ०८:४७:०० मा प्रकाशित

काठमाडाैं । आजदेखि देशका १२ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै छ ।
हात्तीपाइले रोग मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपाङ्ग बनाउने सरुवा रोग हो । यसविरुद्ध हरेक वर्ष अभियान नै चलाए पनि नियन्त्रण हुन सकेको छैन ।
लक्षित वर्गले औषधि सेवन नगरिदिँदा सरकारले लाखौं खर्चेर बर्सेनि हात्तीपाइले रोगविरुद्ध अभियान चलाइरहे पनि सफल हुन सकेको छैन ।
हात्तीपाइले विरुद्धको औषधिले असर गर्छ भन्ने भ्रमका कारण धेरैले औषधि खान नमान्दा अभियान प्रभावकारी हुन सकेको छैन ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलले हात्तीपाइले विरुद्धको औषधिले केहीलाई रिँगटा लाग्ने, ज्वरो आउने र वाकवाकी लाग्ने जस्ता लक्षण देखिए पनि केही समयपछि यो समस्या हट्ने बताए ।
तर, दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी तथा सिकिस्त बिरामी, कडा रोगको लागि औषधि खाइरहेका व्यक्ति र कडा कुपोषण भएका पाँच वर्षमुनिका बालबालिकालाई भने यो औषधि खुवाउन हुँदैन ।
हात्तीपाइले रोग (फाइलेरिया) प्रायः बाल्यावस्थामा लाग्ने गर्छ । यो लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । हात्तीपाइले रोगीलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्दा ‘उचेरेरिया बांक्रोटी’ नामक परजीवी स्थानान्तरण भई यसको संक्रमण हुन्छ । यसबाट बच्न वर्षको एक मात्रा हात्तीपाइलेविरुद्धको औषधि निरन्तर ६ वर्षसम्म सेवन गर्नुपर्छ । यो औषधि सरकारले अभियान नै चलाएर हरेक वर्ष निःशुल्क वितरण गर्दै आएको छ ।
महाशाखाका निर्देशक पौडेलकाअनुसार अहिलेसम्म ११ करोड १० लाख मात्रा औषधि जोखिमयुक्त जनसंख्यामा खुवाइसकिएको छ । ‘अझै ६३ वटा जिल्ला यो रोगको जोखिममा छन्,’ उनले भने ।
हालसम्म मुलुकभर ३० हजारभन्दा बढीले हात्तीपाइलेसम्बन्धी समस्या भएको भन्दै सरकारी स्वास्थ्य संस्थामा रिपोर्ट गरेका छन् । जसमध्ये धेरैमा हाइड्रोसिलको समस्या देखिएको छ । आर्थिक वर्ष २०७५/७६ सम्मको तथ्यांकअनुसार ९ हजार ८० जनाको हाइड्रोसिलको शल्यक्रिया भइसकेको छ । हाइड्रोसिल हात्तीपाइलेका कारण हुने एक शारीरिक समस्या हो ।
नेपालमा सन् २००३ देखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन थालिएको हो । पहिलो वर्ष एकमात्र जिल्लामा औषधि खुवाइएको थियो । सन् २००७ मा बढाएर २१ जिल्लामा अभियान सञ्चालन गरियो । धेरै जिल्लामा यो रोगका बिरामी देखिएपछि सन् २०१३ मा ५६ जिल्लामा औषधि खुवाइएको थियो । सन् २०२० मा भने १३ जिल्लामा मात्रै यो अभियान सीमित भयो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस