काठमाडाैंमा कसरी भयाे विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण ? सकेसम्म घरबाहिर ननिस्कन आग्रह
- गाउँ सहर संवाददाता
- १४ चैत शनिबार, २०७७ | ०८:३२:०० मा प्रकाशित

काठमाडौं । शुक्रबारदेखि काठमाडाैंमा एक्कासी वायु प्रदूषण बढेकाे छ । जुन विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण बन्न पुग्याे ।
विश्वभरका सहरको हावाको शुद्धता मापन गर्ने आइक्यू एअर डटकमका अनुसार काठमाडाैंको एक्यूआई अहिले ४२१ रहेको छ । हिजोदेखि काठमाडाैं उपत्यकालगायत देशका विभिन्न ठाउँको हावाको प्रदूषण अझै केही दिन रहने भएको छ ।
हिजो स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको हावाको प्रदूषण खतराको अवस्थाबाट अझै तल झरेको छैन । हिजो काठमाडाैंमा एक्यूआई ४७० सम्म पुगेको थियो । हिजोको तुलनामा केही कम भएको देखिए पनि यो सुधार हुन अझै केही दिन लाग्ने वातावरण विभागले जनाएको छ ।
हावाको प्रदूषण मापन सूचक (एक्यूआई) दुई सयभन्दा माथि जानु स्वास्थ्यका लागि घातक मानिन्छ । ३ सयभन्दा माथि पुग्नुलाई अति हानिकारक मानिन्छ ।
पछिल्लो समय नेपालका अधिकांश जिल्लामा डढेलो लागेकाले प्रदूषणका कणहरु वायुमण्डलमा नै जम्मा भएकाले काठमाडौं उपत्यकामा बाक्लो तुवालो लागेको छ ।
जल तथा मौसम विज्ञान विभागले एक बुलेटिन निकालेर नेपालका धेरैजसो स्थानको वायुमण्डल स्थिर अवस्थामा रहेको र यस्तो अवस्थामा प्रदूषणका कण छरिन नपाई वायुमण्डलमा नै तैरिरहने भएकाले प्रदूषण बढ्न गई पारदर्शितासमेत घटेको जनाएको छ ।
स्थिर रहेको वायुमण्डल आगामी केही दिनसम्म सुधार हुने सम्भावना कम रहेको मौसमविद् सविना शाक्यले बताए । यसबाट हुने प्रदूषणको कारण स्वास्थ्यमा पर्ने नकारात्मक असर आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या आदिबाट बच्न आवश्यक कार्यबाहेक घर बाहिर ननिस्किन र निस्किनुपरेमा मास्क लगाउन हुन र आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणको असरबाट जोगिन अपिल गरेको छ ।
मन्त्रालयले विज्ञप्ति निकालेर काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँको वायु प्रदूषणको स्तर खतरनाक अवस्थामा पुगेको भन्दै घरबाहिर खुला ठाउँमा नबस्न, नखेल्न र मर्निङवाकमा जाने वा घरबाहिर गएर शारीरिक व्यायाम गर्ने जस्ता काम नगर्न अपिल गरेको हो ।
मन्त्रालयले बालबालिका, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न पनि आग्रह गरेको छ । मन्त्रालयले फोहर नजलाउन पनि अनुरोध गरेको छ । यस्तै घरबाहिर ननिस्कन, निस्कनै पर्ने अवस्था भएमा मास्कको अनिवार्य प्रयोग गर्न र धुलो, धुँवा उड्ने पेसा, व्यवसाय केही दिनलाई रोक्न र अति आवश्यक नभइ गाडी नचलाउन भनेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस