राष्ट्रिय सभाको अधिवेशन आज शुरू हुँदै, प्रतिनिधि सभा विघटन भएपछि आम चासो
- गाउँ सहर संवाददाता
- १७ पौष शुक्रबार, २०७७ | ०८:३४:०० मा प्रकाशित

काठमाडौं । प्रतिनिधि सभा विघटन भएपछि पहिलोपटक सङ्घीय संसद्को एक मात्र सदन राष्ट्रिय सभाको अधिवेशन (आज) शुक्रबारदेखि प्रारम्भ हुँदैछ । अधिवेशनबीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थाअनुसार शुक्रबारदेखि अधिवेशन प्रारम्भ हुन लागेको हो । अपराह्न ४ बजेबाट अधिवेशन प्रारम्भ हुनेछ ।
सङ्घीय संसद् सचिवालयले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । कोरोना जोखिम न्यूनीकरणका लागि अधिवेशन प्रारम्भअघि अघिल्लो अधिवेशनमा कायम रहेको आसनको व्यवस्था फेरिएको छ । यसअघि कायम रहेको भौतिक दूरीको प्रबन्धलाई पनि थप व्यवस्थित बनाइएको छ ।
सचिवालयले अधिवेशन प्रारम्भको सम्भावित कार्यसूचीसमेत सार्वजनिक गरेको छ । बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सम्भावित कार्यसूची तय गरेको हो । सार्वजनिक सम्भावित कार्यसूचीमा अधिवेशन प्रारम्भबारे राष्ट्रपति कार्यालयको पत्रबारे जानकारी गराइनेछ । यस्तै मन्त्रिपरिषद् पुनर्गठनबारे राष्ट्रपति कार्यालयको पत्रको जानकारी पनि सभामा गराइनेछ । यस्तै बैठकमा अधिवेशन नचलेको अवस्थामा बाधा अड्काउबाट भएको समिति गठनको आदेश पनि अनुमोदनका लागि सदनमा पेस गरिने सम्भावित कार्यसूची रहेको छ । यस्तैै अधिवेशन प्रारम्भका अवसरमा संसदीयदलका नेताहरूले सम्बोधन गर्ने पनि सम्भावित कार्यसूची रहेको छ । यसैगरी अधिवेशन नभएको अवधिमा सरकारको सिफारिसमा विभिन्न समयमा जारी गरेका सातवटा अध्यादेश पनि पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यसबीचमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमन, संवैधानिक परिषद् काम, कर्तव्य र अधिकारसम्बन्धी पहिलो संशोधन अध्यादेश, नेपाल प्रहरी तथा प्रदेश प्रहरीको कार्यसञ्चालन तथा सुपरिवेक्षणसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश जारी भएका थिए । यस्तै औषधि (तेस्रो संशोधन) अध्यादेश, ऐन हिंसाविरुद्ध केही नेपाल ऐन संशोधन अध्यादेश तथा फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश पनि पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यस्तै सदनको अधिवेशन नभएको अवधिमा निधन हुनुभएका बहालवाला तथा पूर्वसांसदको निधनमा पनि शोक प्रस्तावको सम्भावित कार्यसूची रहेको छ । यसबीचमा प्रतिनिधि सभा सदस्यद्वय सानु शिवा र सूर्यबहादुर केसीको निधन भएको थियो । यस्तै प्रतिनिधि सभाका पूर्वसदस्यहरू ओमकारप्रसाद गौचनको पनि यस अवधिमा निधन भएको थियो । यस्तै राष्ट्रिय सभाका पूर्वसदस्यद्वय दीपकबहादुर गुरुङ र इन्द्रहाङ लिम्बूको पनि निधन भएको थियो ।
१७ पुसभित्र संसद्को अधिवेशन बोलाउनैपर्ने संवैधानिक बाध्यताले राष्ट्रिय सभाका बैठकहरू औपचारिकतामा मात्रै सीमित हुने गरी बोलाइएको कतिपयकाे दाबी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेको भन्दै सो कदमको आलोचना भइरहेको छ । नेकपाको दाहाल–नेपाल समूह, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले प्रतिनिधिसभा विघटनलाई अलोकतान्त्रिक र असंवैधानिक भएको बताउँदै आन्दोलन तथा प्रदर्शन गरिरहेका छन् ।
यस्तो बेलामा बस्न लागेको राष्ट्रिय सभामा के छलफल होला भन्नेमा आम चासो छ । संसद् सचिवालयका अनुसार शुक्रबार बस्ने राष्ट्रिय सभाको बैठकमा सुरुमै राष्ट्रपतिले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाइनेछ । त्यसपछि सबै पार्टीका संसदीय दलका नेताले बोल्ने कार्यक्रम छ । राष्ट्रिय सभामा अहिले नेकपा, कांग्रेस र जसपा तीन दल छन् । संसदीय दलका नेताहरूले प्रतिनिधिसभा विघटनबारे राष्ट्रिय सभामा कुरा उठाउने तयारी गरेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
प्रतिकृया दिनुहोस