प्रविधि

चन्द्रमाको सतहमा सोचिएभन्दा पानीको मात्रा बढी भएको खुलासा

  • १५ कार्तिक शनिबार, २०७७ | १२:०२:०० मा प्रकाशित

अमेरिकी अन्तरिक्ष संस्था नासाका वैज्ञानिकहरूले चन्द्रमाको सतहमा पहिला सोचिएभन्दा पानीको मात्रा बढी भएको खुलासा गरेका छन्।

अनुसन्धानकर्ताहरूले चन्द्रमाको सतहमा कुनाकुनामा प्राचीन बरफको सानासाना थुप्रै टुक्राहरू भएको पत्ता लागेको बताएका हुन्।

उनीहरूका अनुसार ती प्राचीन बरफमा अर्बौं वर्षदेखि प्रत्यक्ष घामका किरण परेको छैन।

नयाँ अनुसन्धानले चन्द्रमाको सतहको करिब ४० हजार वर्ग किलोमिटर क्षेत्रमा पानी यसैगरी रहेको हुनसक्ने अनुमान गरेको छ।

यो खोजले भविष्यमा अन्तरिक्षयात्रीका लागि ताजा पानीको स्रोत बरफ हुनसक्ने सम्भावना देखाएको छ।

पानी रहेको स्पष्ट रूपमा पत्ता लागेपछि यसले नासाको चन्द्रमामा आधार बनाउने आकाङ्क्षालाई थप बल दिएको छ।

यसको उद्देश्य चन्द्रमाकै प्राकृतिक स्रोतको प्रयोग गरेर त्यहाँको आधारलाई टिकाउ बनाउने हो।

वैज्ञानिकहरूले पत्ता लगाएका यी विषय नेचर एस्ट्रोनोमी नामक जर्नलमा प्रकाशित भएका छन्।

एउटा भर्चुअल टेलिकन्फरेन्समा बोल्दै जर्नलमा प्रकाशित सामग्रीकी सहलेखिका क्यासी हनिबलले भनिन्: "चन्द्रमाको एक क्युबिक मिटर माटोमा पानीको मात्रा लगभग ३५० मिलिलिटर हुन्छ।"

हनिबल अहिले नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरकी पोष्टडक्टोरल फेलो हुन्।

उनका नासाका सहकर्मी ज्याकब ब्लिचरले जम्मा भएर बसेको पानीको प्रकृति बुझ्न बाँकी नै रहेको बताएका छन्।

उनका अनुसार त्यसले भविष्यमा चन्द्रमामा जानेहरूका लागि त्यो कति उपयोगी हुन्छ भन्ने पत्ता लगाउन मद्दत गर्छ।

चन्द्रमाको सतहमा पानीको सङ्केत यसअघि नै पाइएको भए पनि यी नयाँ खोजहरूले त्यहाँ सोचेभन्दा प्रचुरमात्रामा पानी रहेको थाहा भएको छ।

तपाईँको मत