दृष्‍टिकोण

“जातीय कुरा नगराैँ, जन्मले सबै मानव शूद्र नै हुन्, उसको गुणबाट मात्रै ब्राह्मण हुने हो”

कृषि सभ्यताको विकासले लामो समयसम्म जङ्गली अवस्थाबाट गुज्रेका मानिसलाई संस्कृत बनाउन ठूलो भूमिका निभायो । त्यो कृषि सभ्यताको दीर्घायुको मेरुदण्ड भनेको एक पुस्ताले विकास गरेको ज्ञान, सीप र प्रविधि त्यसपछिका पुस्तौँ पुस्तासम्म गरिँदैजाने हस्तान्तरण थियो । अनि त्यो हस्तान्तरण यो कारणले सम्भव भएको थियो कि ज्ञान, प्रविधि र प्राविधिक सीप जस्ता सम्पत्ति समग्र समाजका नभएर पारिवारिक सम्पत्ति थिए । त्यसका विकासकर्ताहरूले आफूले आर्जेको ज्ञान र सीपलाई आफ्ना कुलको नयाँ पिँढीमा हस्तान्तरण गरेर सुरक्षित राख्दै आएका थिए । सबै व्यवसायीले आ-आफ्नै व्यावसायिक रहस्य आफ्नो कुलमा सीमित राख्दै आएका थिए । पण्डितको कामको रहस्य पण्डितका, सुनको कामको रहस्य सुनारका, छालाको कामको रहस्य चर्मकारका, राजाका कामको रहस्य राजाका, व्यापारको कामको रहस्य व्यापारीका कुलमा मात्र सीमित हुन्थ्यो । व्यवसायको रहस्य आफ्नो कुलभित्र जोगाइराख्ने रुझान जातिप्रथाको जन्मदाता र पालनकर्ता थियो ।

कृषि अर्थतन्त्रले जातिप्रथाको उदय त विश्वभरि नै गराएको थियो, तर पनि जातिप्रथालाई वैदिक परम्पराले जति सामाजिक, सांस्कृतिक र दार्शनिक स्थान दियो त्यति स्थान सायदै अरू कनै सभ्यताले दिएको होला । हुन त, यदाकदा विद्वान्हरूले जातिप्रथा वैदिक कालको होइन, पछि बनाइएको हो भनेर पनि भनेको पाइन्छ, तर वास्तविकता त्यो होइन । कृषि सभ्यता विकासको मेरुदण्ड नै जातिप्रथा भएकोले यो कुनै नयाँ कुरा हुन सक्दैन । यसको प्रमाण ऋग्वेद हो, जसले भन्छ - "ब्राह्मण ब्रह्माको मुखबाट, क्षेत्री पाखुराबाट, वैश्य तिघ्राबाट र शूद्र खट्टाबाट जन्मेका हुन्" । त्यसैले, ऋग्वेद कालीन समयमा नै पेशागत समुदायहरू विद्यमान भइसकेका र जातिप्रथा स्थापित भइसकेको हामीलाई थाहा हुन्छ । त्यो समयमा जाति-वर्णको व्यवस्था हुनु सभ्यताको विकासको सूचक मात्र सकिन्छ ।

त्यो समयमा नै सामाजिक-दार्शनिक विचारकहरूले के कुरा थाहा पाइसकेका थिए भने एउटा समाज वा राष्ट्र उन्नत, सम्पन्न, सुव्यवस्थित, शान्तिमय, शिष्ट र सुरक्षित हुनका लागि समाजमा चार वर्णका मानिसको आवश्यकता पर्छ । यो आवश्यकता त्यो समयमा मात्र पर्ने होइन कि आजको एक्काइसौं शताब्दी वा आजको हजारौँ वर्ष पछिको समाजलाई पनि पर्छ । जसरी मानिसको शरीर स्वायत्त, स्वतन्त्र र उन्नत हुनका लागि ऊ टाउको, पाखुरा, पेट र खुट्टाले युक्त हुन जरुरी हुन्छ, एउटा समाज पनि त्यस्तै हो । समाजमा बुद्धिबलले धर्म, ज्ञान, रचना र मार्गदर्शनको काम गर्छ, बाहुबलले रक्षा, शान्ति र सुव्यवस्था कायम गर्छ, बित्तबलले गाँस, बास, कपास र भौतिक उन्नतिको व्यवस्था गर्छ, र व्राज (हिँडडुल गर्ने, गतिमा ल्याउने) बलले गतिशीलता, कर्मशीलता, शिल्पकारिता र चलायमान-धारणको व्यवस्था गर्छ, र ती सबैको संयोजनले उन्नत समाजको निर्माण गर्छ । ती सबै आयाम नभएको समाजलाई आफ्नो स्वतन्त्र सम्प्रभूता प्राप्त हुन सक्दैन किनकि ऊ जीवन यापन र उन्नतिका लागि परनिर्भर हुनु पर्छ । त्यसैले, यो चार जातिको व्यवस्था एउटा आफैँमा पूर्ण, स्वायत्त, स्वशासित र उन्नत समाज निर्माण गर्ने आधारशिला थियो ।

के शुद्र महिलाका छोरा वेदव्यास अनि विदुषी गार्गीले शास्त्रमा अधिकार जमाउँदा आपत्ति हुँदैन तर अरूले जमाउँदा आपत्ति हुन्छ ?जातिप्रथाको वकालत गर्ने प्रमुख रचना मनुस्मृतिमा नै “मानिस जन्मले एउटै हो, शुद्र हो, अनि कर्म अनुसार ब्राह्मणले शूद्रता र शूद्रले ब्राह्मणत्व प्राप्त गर्न सक्छ, अनि क्षत्रिय र वैश्यले पनि अन्य वर्ण प्राप्त गर्न सक्छन्" भनेको छ । जन्मले सबै मानिस शुद्र हुन् र संस्कारको माध्यमबाट मात्रै व्यक्ति ब्राह्मण, क्षेत्री वा वैश्य बन्ने हुन् भनेर अत्रि-स्मतिमा पनि भनिएको छ । गीताले पनि त्यही भनेको छ ।
 

तत्कालीन कृषि अर्थतन्त्रको विकासको मेरुदण्ड यही जातिप्रथाको पहिचान र उपयोग थियो । यसमा आजको चिन्तनशील मानिसले कुनै तिक्तता व्यक्त गर्नु निरर्थक छ । अन्जान रूपमा जातिप्रथा मान्दै आएका हाम्रा पुर्खाहरूप्रति क्रुद्ध हुनु पनि निरर्थक नै छ । त्यो किनभने कृषि-प्रधान विश्वका कुनै पनि समाजमा जातिप्रथा रहेको थियो, स्वाभाविक रूपमा बाँचेका थियो । त्यो बाँच्नसक्नुकै कारणले अर्थतन्त्र र सभ्यताको विकासमा सकारात्मक असर परका थियो । आजका विकसित राष्ट्रमा पनि जातिप्रथाका जरामा टेकेर हर्केबढेको कृषि सभ्यतालाई पछि औद्योगिक युगले किच्दै जाँदा निकै लामो सङ्घर्षद्वारा त्यो जातिप्रथा हटाउन सकिएकाे थियाे । कृषिप्रधान अर्थतन्त्रहरूमा त यसका जरा निकै गहिरा हुन्छन् नै, चाहे त्यो समाजले कै नामको धर्म-सम्प्रदाय चलाएको किन नहोस् ।

बीसौँ शताब्दीसम्म गोरा ईसाईले काला ईसाईलाई तथा विश्वका तमाम अश्वेतलाई तल्लो दर्जाका मानिस मानेका वा कुनै समयमा अमानवसम्म मानेका कथा त इतिहासमा ताजै छन् । महात्मा गान्धी, मार्टिन लुथर किङ्ग जुनियर, नेल्सन मण्डेला, रोजा पार्क लगायतका जीवनीले हालैका केही दशक अघिसम्मको जातिप्रथाको दर्दबारे घाम झैँ बोल्छन् । फेरि पनि, त्यो भेदप्रति पश्चिमा जगत् एकदम सचेत भइसकेको छ र त्यहाँको चिन्तनमा ठूलो रूपान्तरण आइसकेको छ, तर वैदिक परम्परावाला हाम्रो समाजमा त्यस्तो रूपान्तरण ल्याउन ठूला प्रयत्नहरू आवश्यक देखिन्छन् ।

आफूलाई वैदिक ठान्ने समाजले कुनै कालखण्डमा आइपुग्दा प्रविधिको विकासकर्ता र प्रवर्धनकर्ता 'शूद्र' लाई अछूत मान्न थाल्यो र गुरुकुलको ज्ञानबाट वञ्चित गर्‍यो, जुन एउटा अत्यन्त ठूलो अन्याय थियो । आधिकारिक शिक्षाबाट जन्मजात निषेध गरिएकोले 'शूद्र' ले 'अर्को जुनी' मा मात्र मुक्ति पाउनु पर्ने भयो । महिलालाई व्यावहारिक रूपमा टाढाको यात्रामा जान नदिनुका कारणले आधिकारिक शिक्षाबाट वञ्चित हुनु पर्‍यो र फलस्वरूप अर्को जुनी' मा मात्र मुक्ति पाउनु पर्ने भयो । ती निषेधलाई पुराणले मजबुत पारे । यस्ता निषेधहरू वैदिक दर्शनको मूल मर्म विपरीत थिए र छन् । तत्कालीन आवश्यकताले नै जन्माएर अभ्यास गरिएका भए पनि कुनै अन्यायपूर्ण अभ्यासलाई अबको चिन्तनशील समाजले अनुमोदन गर्नु हुँदैन । के शुद्र महिलाका छोरा वेदव्यास अनि विदुषी गार्गीले शास्त्रमा अधिकार जमाउँदा आपत्ति हुँदैन तर अरूले जमाउँदा आपत्ति हुन्छ ?

जातिप्रथालाई ऐतिहासिक कालखण्डको कुनै व्यावहारिक आवश्यकताले जन्माएको हो । गीताले पनि मानिसको जन्मका आधारमा नभएर गुण र कर्मका आधारमा नै जातिको विभाजन भएको भनेको छ । जातिप्रथाको वकालत गर्ने प्रमुख रचना मनुस्मृतिमा नै “मानिस जन्मले एउटै हो, शुद्र हो, अनि कर्म अनुसार ब्राह्मणले शूद्रता र शूद्रले ब्राह्मणत्व प्राप्त गर्न सक्छ, अनि क्षत्रिय र वैश्यले पनि अन्य वर्ण प्राप्त गर्न सक्छन्" भनेको छ । जन्मले सबै मानिस शुद्र हुन् र संस्कारको माध्यमबाट मात्रै व्यक्ति ब्राह्मण, क्षेत्री वा वैश्य बन्ने हुन् भनेर अत्रि-स्मतिमा पनि भनिएको छ । गीताले पनि त्यही भनेको छ । गहिरिएर बुझ्दा यो भन्न सकिन्छ कि आचार र संस्कार नै उत्तम मानिस बनाउने प्रधान कारक हुन् ।

महाभारतमा मानिस सदाचारले ब्राह्मण हुनु पर्छ भनिएको छ । यसको वनपर्वमा यक्षले 'ब्राह्मण को हो ?' भन्ने प्रश्न गर्दा उत्तरमा युधिष्ठिरले भनेका हुन्छन्: “सुन्नुस् आदरणीय ! यो कोही कुलले, स्वाध्यायले, वा शास्त्रले हुँदैन, कारण यो छ कि ब्राह्मण हुने वृत्त (सत्आचरण) बाट नै हो, यसमा शङ्का छैन ।” जन्मँदा हरेक मानिस शारीरिक र मानसिक रूपमा कसैको पराश्रित बनेर आएको हुन्छ । अर्थात्, उसलाई कोही आश्रयकर्ताको मातृत्व वा पितृत्वमा हुर्कनु पर्ने बाध्यता हुन्छ । त्यो उसको हुनसक्ने न्यूनतम स्थिति हो, उसको आश्रित स्थिति हो । त्यसैले, मानिस जन्मैले पराश्रित हुन्छ, जोखिमपूर्ण स्थितिमा हुन्छ, उसको मुक्ति र बन्धन पनि अर्कामा निर्भर हुन्छ । उसका आमा-बा वा कोही उसका प्रभु हुन्छन् र ऊ उनीहरूको आश्रित हुन्छ । त्यो उसको शूद्र स्थिति हो । त्यसैले, जन्मले सवै मानव शूद्र नै हुन् । उसले गुणको ग्रहणबाट ब्राह्मण हुने हो ।

वैदिक जाति परम्परामा शूद्र त्यो व्यक्ति हो जसलाई आफ्नो जीविकाका लागि अर्कामा आश्रित हुने बाध्यता रहेको हुन्छ वा जसले कोही आश्रयदाताको नोकरी र दाशतालाई स्वीकार्न बाध्य हुन्छ । ब्राह्मण त्यो हो जसले नोकरी, धनदौलत आदिलाई नभएर विद्यालाई नै सर्वश्रेष्ठ धन मानेर आफ्नो जीवनलाई ज्ञानमा समर्पित गरेको हुन्छ र ज्ञानमा नै उसले आफ्नो मुक्ति खाेजेकाे हुन्छ । हुन पनि सबै मानवले आफूलाई उन्नत बनाउँदै लगेर प्राप्त गर्ने उच्चतम स्थिति भनेकाे श्रेष्ठतम ज्ञानको प्राप्ति र सांसारिक दुःखबाट मुक्ति नै हो । त्यसैले, उसले प्राप्त गर्नसक्ने उच्चतम स्थिति ब्राह्मणको हो तर त्यो ब्राह्मण आज स्थापित बनेको तथाकथित ब्राह्मण होइन । त्याे ब्राम्हण त योग्यता, आचार र संस्कारबाट परिष्कृत बनेर प्राप्त हुने पद हो, जुन पदलाई शूद्र आमाका छोरा व्यासले पनि पाउन सफल भएका थिए ।

यहाँ जन्म हुँदा सबै बालबालिका बराबर क्षमता लिएका हुन्छन् भनेको पनि होइन, तर खास जातको भएको मात्र कारणले निर्दिष्ट मार्ग मन पराउने गरी कसैले जन्म दिन सक्छ भन्ने कुरा आपत्तिजनक हो । हरेक मानव आफ्नै मौलिकता लिएर जन्मेको हुन्छ, त्यो अरू कसैसँग मिल्न असम्भव प्राय नै हुन्छ, तर भविष्यमा अरूभन्दा असाधारण व्यक्ति बन्न सक्ने गुणले युक्त भएर जन्मने कुनै बच्चा ब्राह्मण भनिनेको घरमा जन्मन सक्ने तर शूद्र भनिनेको घरमा जन्मन नसक्ने भन्ने मान्यता कहीं छ भने त्यो आपत्तिजनक हो । कसको घरमा जन्मने कस्तो मानिस हुन्छ भन्ने कुनै पूर्वनिर्धारित मान्यता राखेर सामाजिक संरचना बनाउनु आपत्तिजनक हो ।

हो हामीलाई मुक्ति त चाहिएको पनि हो । तर त्यो मुक्त स्थिति प्राप्त गर्ने अवसरको निर्माण गर्न एउटा सभ्य समाजले आफ्नो समाजका बालबालिकाका लागि उच्चतम शिक्षा र संस्कार हासिल गर्ने उचित प्रबन्ध गरेको हुन्छ वा हुनु पर्छ। सिकाइको त्यही प्रबन्धका कारण बालबालिकाहरूले पराश्रित अवस्थालाई चीरेर पराक्रमी बन्न आवश्यक मानसिक र भौतिक साधनहरू प्राप्त गर्छन् । त्यो अवस्थामा कसैले खेती, उद्योग, वाणिज्य, व्यापारलाई आफ्नो पेशा बनाउन सक्छन्, कसैले सेना, पुलिस र राज-कर्मचारी हुनु, राजनीति गर्नु वा राज्यसत्ता हासिल गर्नुलाई प्रधान पेशा बनाउन सक्छन्, अन्य कसैले अध्ययन, अध्यापन, अनुसन्धान र नवप्रवर्तनलाई प्रधान पेशा बनाउन सक्छन्, र पनि अरू कैयौँले अर्कैको नोकरी गरेर वा प्राविधिक सेवा प्रदान गरेर आश्रितका रूपमा जीविका गर्ने हुन्छन् । यसरी पेशाले मानिसहरू अनेकौँ जातमा बाँडिन पुग्छन्, भिन्न वर्ण वा वर्गका सदस्य बन्न पुग्छन् । एउटा वयस्क नागरिक रुचि र क्षमता अनुसार वर्ण वा वर्गमा यसरी विभाजित हुनुलाई सामान्य नै मान्न सकिन्छ, तर यदि अन्जान बालबालिकाहरूलाई उनका बा-आमाको स्थितिका कारणले फरक सामाजिक व्यवहार गरिन्छ भने त्यो एउटा घोर अन्याय हो । त्यस्तो जन्मजात विभेद गर्ने सामाजिक व्यवहारलाई कदापि मानवीय मान्न सकिँदैन र वैदिक मान्यता अनुकूल मान्न सकिँदैन । 

लामो समयसम्म हाम्रो समाजले 'धर्मशास्त्र' को आड लिएर 'शुद्र'हरूलाई वेद पढ्न त के छुनसम्म पनि दिएन । हाम्रो समाजले वेदको हवाला दिँदै पालेको यो संस्कार एउटा उन्नत सभ्यतामाथि लागेको कला नै थियो । बाठा शासक र पण्डितहरूले स्वर्गै लैजाने बाटाे जस्ताे गरि प्रस्तुत गरेकाे याे पापमा 'वेदमा के थियो' भनेर पढ्न-खोज्न नजानेका हाम्रा अन्जान आमा पनि परे । वेदको हवाला दिएर वेदको मर्ममाथि नै आघात पुर्‍याउँदै आएको याे कु-संस्कारको त जति आलोचना गरे पनि पुग्दैन ।

विभेदको शिघ्र अन्त्य गर्नु एउटा चिन्तनशील समाजको दायित्व हो किनकि हिजो गरिएको अवहेलना वैदिक आत्मा र परमात्माको एकताको मर्मभन्दा ठीक विपरीत छ । पेशाले मानिसहरू अनेकौँ जातमा बाँडिन पुग्छन्, भिन्न वर्ण वा वर्गका सदस्य बन्न पुग्छन् । एउटा वयस्क नागरिक रुचि र क्षमता अनुसार वर्ण वा वर्गमा यसरी विभाजित हुनुलाई सामान्य नै मान्न सकिन्छ ।

 

संस्कार, विद्या, स्वभाव वा कर्मले मानिस फरक हुनसक्ने कुरा त हामीले यो एक्काइसाैँ शताब्दीमा पनि मान्न सक्छौँ र युगौँ पछि पनि मान्ने छौँ । तर वैदिक सभ्यताको मूलथलो भनेर गर्व गर्ने यो समाजमा सवै बालबालिकाका लागि संस्कार, विद्या र सीप विकासको समान अवसर मात्र होइन कि वेद नै पढ्ने अवसर पनि बराबर उपलब्ध हुनु पर्थ्यो, तर ऐतिहासिक रूपमा र आजसम्म पनि त्यस्तो हुन सकेको देखिँदैन । हाम्रो समाजमा कसरी ती बराबर मानिएका अन्जान बालबालिकालाई संस्कारको विकास गर्न पाउने अवसर एउटै प्रकारले दिइएन ? आज आफूलाई बडो एक्काइसौँ शताब्दीको ज्ञानले सुसज्जित ठान्ने र मानव समानताका डीङ हाँक्ने नेपालमा पनि धनी र गरीबका, उत्पीडक र उत्पीडितका, सरकारी कर्मचारी र ज्यालादारी मजदूरका, मानव-अधिकारकर्मी र दलित (याने उत्पीडित कोही) का छोराछोरी बीचको भिन्नता तीव्र रूपमा बढ्ने प्रबन्ध किन सुनिश्चित गरिएको छ ? हाम्रो समाजले यस्तो अमानवीयतालाई किन अमानवीय ठान्दैन ? समाज भित्र विद्यमान यस्ता प्रश्न अझै सम्म पनि अनुत्तरित रहेका छन् ।

कसरी ब्रह्मबाट फक्रेर बनेका जीवात्मालाई मात्र नभै सबै भूतात्मालाई परमात्माका अंश मान्दै देवताका रूपमा पूज्ने समाजले आफ्नै बन्धु मानवलाई अपूज्य मान्ने मात्र नभै अछूत समेत मान्न सक्छ - त्यो पनि अन्जान बालबालिकालाई ? उसलाई त्यस्तो गर्न कुन वेदले अह्रायो ? बालबालिकाहरू बीचमा विभेद गर्न त उसलाई वैदिक दर्शन, न्याय र नैतिकताले दिन सक्दैन । फेरि पनि यहाँ जातका नाममा उत्पीडित जनसमुदायका बालबालिकामाथि जे अन्याय हुन गयो त्यो वैदिक संस्कृतिमा बाँचेको ठूलो विरोधाभास हो, अन्याय हो, पाप हो । कसरी कुकुर, कौवा, सर्प, वनस्पति, नदी, वादल, कुवा, घर, खेत, हलो र कोदाली समेतलाई देवता मानेर पूजा गर्ने संस्कृतिमा मानिसको अवहेलना हुन सक्यो भन्ने कुरा शोचनीय छ । त्यो अब हुन सक्नु र पाउनु हुँदैन । यस्तो विभेदको शिघ्र अन्त्य गर्नु एउटा चिन्तनशील समाजको दायित्व हो किनकि हिजो गरिएको अवहेलना वैदिक आत्मा र परमात्माको एकताको मर्मभन्दा ठीक विपरीत छ ।

वैदिक 'द्विज' हरूले पुस्ताैँ देखि पालेको अन्यायले यहाँको वैज्ञानिक र दार्शनिक विकासमा प्रतिकूल प्रभाव पारिरहेको छ । यो त्यही कारण हो जसले गर्दा यहाँ दुई हजार - चार हजार वर्ष पूर्व र अझ पहिले रचना गरिएका दर्शन र साहित्यको तुलनामा विगत हजार वर्षमा रचिएका दर्शन र साहित्य फिक्का लाग्छन् । पुराना साहित्यका खुट्टामा राख्न पनि नसुहाउने जस्ता लाग्छन् । जातिभेद र लिङ्गभेदले निम्त्याएको यो दुष्परिणामलाई हामीले आज मात्रै बुझ्दै र तोड्दै छौँ ।

यहाँ के पनि भन्नु पर्छ भने वैदिक दर्शनको मर्म नबुझीकन र आत्माको वैदिक मर्म र मर्यादालाई नै नबुझीकन अर्कालाई जन्मैले हेय देख्न सिकेको एउटा अबुझ मानिसका माझमा सबैले वेद पढ्न पाउनु पर्छ भन्दा, ग्यालिलियोले ग्रहहरू पृथ्वीका वरिपरि नघुमेर सूर्यका वरिपरि घम्छन भन्दा त्यो कुरा ईसाई धर्माधिकारीहरूलाई बाइबल विरोधी र ईश्वरको नियम विपरीत लागेको जस्तै अपाच्य लाग्न सक्छ । तर कसैले चाहे पनि वा नचाहे पनि यस्तो परिवर्तन अवश्य आएर छोड़ने छ । शिक्षित विश्वका त जो कोही मानिसले पनि आजै वेद पढ्न सक्छन् नै तर पुरातन परम्पराले किचेर निषेध गरिएका हाम्रा जस्ता ठाउँमा पनि अब त्यो निषेध या त तोडिइसकेको छ या त तोडिने नै वाला छ । (पूर्वीय दर्शनको पुनन्र्याख्या पुस्तकबाट )

तपाईँको मत