“कोरोनाः सन्त्रास कि सचेतना !”
आज विकसित देशहरूमा नै धेरै नागरिकहरूको मृत्यु भईराखेको छ किन ?
- जयदेश श्रेष्ठ
- १७ चैत सोमबार, २०७६ | १७:५९:०० मा प्रकाशित

पृथ्वीलोकको सर्वश्रेष्ठ प्राणी भनिएको मान्छेको धब्जी उडेको छ । आज कोरोनाले भयभित भएर सिङ्गो विश्वका मानिसहरू निरह प्राणी झैँ लकडाउन गरेर आफ्नै घरभित्र बन्दी जीवन बिताउन बाध्य भएका छन् । एक्काईसौँ शताब्दीमा वैज्ञानिक चमत्कारले चुलिएको विकसित देशहरू कोरोना भाइरलको सङ्क्रमणले विश्व त्राहिमाम् बनेको छ । अझै अप्रिलमा मानव जगतको अन्त्यको परिभाषा दिनेहरूले पृथ्वी नै ध्वस्त हुने फेसबुके समाचारहरू पोस्ट गरिरहेका छन् । किन आज विश्वमा सन्त्रास फैलिरहेको छ ?
ईश्वरीय शक्ति प्रकृतिको देनलाई ठाडो चुनौती दिने वैज्ञानिक आविष्कार खोजले पृथ्वीको पर्यावहनमा देखा परेको कठिनाइले अहिलेको यो अवस्था ! मानव जगतले भोग्नु परेको हो भन्दा अन्यथा नहोला ! वुहान सहरबाट सुरु भएको कोरोना भाइरस चीन देशलाई आक्षेप लगाएको कोरोना भाईरसको जिम्मेदार हामी विश्वभरका मानव जगतले लिनुपर्ने भएको छ । किन हामी आफूलाई प्राणी जगतको सर्वैसर्वा मानव ठान्छौँ ? संसारको सृष्टिकर्ता, पालनकर्ता, संहारकर्ता प्राकृतिक देनलाई हामीले बिर्सन थालेका छौँ । हामीले प्रकृतिको हरेक नियमहरू तोडन खोजेका छौँ । खाद्यान्नमा बढी उत्पादनको लागि मलजलको तरिका ठिक थियो । दूधको परिकारबाट विभिन्न परिकार बनाउन सकिन्छ । ती बनेका परिकारबाट दूधको अस्तित्वलाई जोगाई राख्न सक्दछौँ । दूध एक दुई दिनमा फाट्छ । यसलाई दही जमाएपछि हप्ता दिन बचाउन सक्छौँ । दहीबाट घ्यू बनाउँछौ । घ्यूलाई वर्ष दिनसम्म बचाउन सक्छौँ यतिसम्म प्रकृतिको नियम पालना हुन्छ । आज आफ्नो सन्तान हुर्काउन प्रकृतिले दिएको मातृत्व दूधलाई मानव प्रवृत्तिले आफ्नो स्वार्थमा प्रयोग गरेका छन् । आफ्नो मातृत्वको खुराक छिनेर हामी मानवले संसारका सबै प्राणीहरूलाई आफ्नो हितको लागि प्रयोग गर्न थालेका छौँ ।
प्रकृतिको सुख सुविधालाई मानिसले एकाधिकारको प्रभुत्व जमाउन थालेका छौँ । जनावर चराचर जगतलाई मानिसले आफ्नो फाईदाको लागि उपयोग गर्दै आएका छौँ । प्रतिस्पर्धाको विश्व समाजले के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने कुरा मानिसले विर्सँदै आएका छन् । समाजमा राम्रो पक्ष पनि छन् नराम्रो पक्ष पनि छन् । "धर्मले संस्कार जन्माएको हो कि ! संस्कारबाट धर्म स्थापना भएको हो ?" गर्नहुने र गर्न नहुने ! सबै कुरा थाहा भएर पनि मानिस आफ्नो स्वार्थको लागि गर्न नहुने काम कुनै पनि बाँकी राखेका छैनन् । मानिसले आफ्नो उत्पादनमा खेती तरकारी खाद्यान्नमा विषादीको प्रयोगदेखि अप्राकृतिक खाद्यान्न सामाग्री उत्पादन गर्न थालेका छन् । प्लास्टिक दाना चामल बनाएका छन् । नक्कली अण्डा बनाएका छन् । भोगटे र कागतीमा कलप गरेर कुन नयाँ फल फलाउने हो ? सुन्तलाको बोटलाई गमलामा मुन्तलाको फल फलाउन थालेका छन् । तरकारीबारी घरको छानामा सार्न थालेको छ । प्रकृतिलाई सङ्कुचनमा आफ्नो घेराबन्दीमा पार्ने मानव स्वभाव प्रकृतिको लागि चुनौती भएको छ । प्राणी पशुपंक्षी चराचर जगतलाई मानिसले आफ्नो फाईदामा उपभोग गर्न थालेको छ । मान्छेले यो संसारमा नखाने जीवजन्तु चराचर केही पनि रहेन । चाईनामा वुहान सहर जहाँ मानिसले एक सय पचास भन्दा बढी प्रकारमा जीव जन्तुको मासुको व्यापार गर्ने गर्दछ । आज मानिसले जीवजन्तुको मासु मात्र हैन । निकै कष्ट दिएर मार्ने गर्दछ भने जिउँदैमा परिकार बनाएर खाने प्रवृतिलाई मानिसको पराकाष्ठा अत्याचार भएको हुँदा चमेरो र सर्पको सेवनबाट कोरोना भाइरस चाईनाको वुहान सहरबाट आज विश्वभर फैलिएको छ ।
मानिसमा सचेतना जगाउने कसले कहिले ? धर्म-संस्कृति, वेद-पुराण-शास्त्रको ज्ञानले वैज्ञानिकहरूले गरेको उपलब्धिले आजको विज्ञानको युगमा केही देश विकसित बैभवशाली भएको हो । त्यसैले विश्व गोलार्ध्व बैज्ञानिक प्रविधिले केही शक्ति राष्ट्रहरूको पकडमा छ । हरेक समस्यालाई पनि हल गर्ने वैज्ञानिक युगमा एउटा कोरोना भाइरसले विश्वलाई यसरी सताउँछ भन्ने कल्पना पनि कसैले गरेका थिएनन् होला । आज विकसित देशहरूमा नै धेरै नागरिकहरूको मृत्यु भईराखेको छ किन ? सोचनीय विषय भएको छ ।
कोरोनाको हालसम्म औषधि बनेको छैन तर पनि संक्रमित व्यक्तिहरू निको हुन सक्छ कसरी ? यो ईश्वरीय देन त होइन ! संक्रमितबाट कसरी जीवाणु सर्दछ ? अचम्म लाग्दछ संक्रमित व्यक्ति आफूलाई कोरोनाको आभास नै नहुँदा अरूलाई जीवाणु सार्न सक्दछ भने आफूसँग संसग्रह हुने जो कोहीलाई कोरोना सङ्क्रमण हुनेभए आजको भयावह कसैले रोक्न सक्दैनथ्यो । वुहानबाट सुरु भएको कोरोना आफ्नै देश बेइजिङ फैलिएको छैन। हजारौँ किलोमिटर दूर अमेरिका कसरी पुग्यो ? हामीले सुनेको घटना भक्तपुरको नवदुर्गा भगवानलाई बनेपामा केही व्यक्तिहरुले दुर्ब्यवहार गरेको हुँदा १७-१८ साल तिर उनिहरु त्यहाँबाट फर्केर आफ्नो हातको बाला फ्याकेर बनेपामा आगलागी भएको थियो । पुराना मानिसले भनेअनुसार जस-जसले अनादर गरेका थिए तिनीहरूको घर जले भने बिचका घरहरु बचे जसले भगवानप्रति श्रद्धाभाव गरेका थिए । आगोले पनि भेदभावमा क्षति गरेको ईतिहास सत्य नै हो की ? आज सम्पन्न र सुरक्षित राष्ट्र इटली किन समस्याग्रस्त भयो ? कोरोनालाई बेवास्ता गर्नुको प्रतिफल हो । जस्तै बैभव स्वास्थ्य उपचार प्रणाली भएर के गर्नु आज दैनिक सयौँको संख्यामा लास सडकमा थुप्रिएको छ । सतर्कताबाट बच्न सकिन्छ भन्ने उदाहरण विश्वको एउटै देश दक्षिण कोरिया मात्र बाँकी छ ।
हामीले धर्मशास्त्रमा पढेका थियौँ । संसार प्रलय हुँदा पनि भगवानको स्तुति ध्यान पाठले भगवानको कृपाले बाँच्न सकिन्छ । त्राहिमाम् अवस्थामा कालकुटबाट निस्किएको विष शिव भगवानले निलेर समुन्द्र मन्थन गराएका थिए । आज चाईनाले आफ्नो देशबाट सुरु भएको कोरोनाको विष आफ्नो देशमा फैलन नदिएर राष्ट्रपति सी. चिन. फिङले कसरी आफ्नो देशमा मन्थर गराए सोचनीय विषयवस्तु छ । सबै राष्ट्रहरूमा आ आफ्नो बलबुताले भ्याएसम्म कोरोनाबाट बच्न अविलम्ब उपायहरू खोज्देैछन् ।
हाम्रा वैज्ञानिकहरूले शास्त्रको उपयोग आफ्नो फाईदाको लागिमात्र उपयोग गरे । प्रकृति र धर्म-संस्कार-वेद-पुराण आदी विश्वका अनेकौँ धर्म संस्कारलाई पन्छाउँदै गए । आज प्रकृतिको देनलाई उपेक्षा गरेको परिणाम हामीले भोग्दै छौँ । हिन्दु धर्ममा हामीले शास्त्रमा उल्लेख गरेका कतिपय कुराहरू कोरोना भाइरलबाट बचाउने उत्तम उपायहरू भएका छन् । मलामी गएर घर फर्कँदा हामी आफ्नो हात गोडा धोएर नेवारीमा (मिखा पें) भनेर आफैँले आफैँलाई जल छर्केर घर भित्र पस्छौँ र आगो छोएरमात्र परिवारसंग बोल्दछौँ । धेरै दिन टाढाको यात्राबाट घर फर्कँदा केही समय दिन बाहिर बिताएर घर प्रवेश गर्ने चलन थियो । धर्म र ज्ञानको विषयमा हरेक समस्याको समाधान गीता-वेदमा पाउन सकिन्छ भनिएको छ । त्यसैले यो लकडाउनको अवसरमा धर्म-संस्कृतिका वेद, ज्ञानका शास्त्रहरू पनि पढने हो की !
प्रतिकृया दिनुहोस