सडक/यातायात

एयरलाइन्स कम्पनीहरुले हवाई भाडादरमा ब्रम्हलुट, सराकार मुकदर्शक

काठमाडौं । विश्वभर काेराेनाकाे त्रास छ । नेपाल पनि त्यहि मारमा छ । सरकारले गत बुधबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेकाे छ भने शुक्रबार लामो दूरीका बस सेवा बन्द गर्ने निर्णय सरकारले गरेपछि यात्राका लागि हवाई मार्गको प्रयोग गर्नु एक मात्र विकल्प खडा भएको छ।

तर यहि माैका पारेर  मुलक कोरोना भयको त्रासबाट गुज्रिरहेका बेला एयरलाइन्स कम्पनीहरुले हवाई भाडादरमा ब्रम्हलुट मच्चाएका छन्। विपतको मौका छोपी हवाई भाडादरमा दोब्बरदेखि तेब्बरसम्म बृद्धि गरिएपछि यात्रुहरुको ढाड सेकिएको छ।

काठमाडौँदेखि धनगढीसम्मको नियमित हवाई भाडादर औसतमा पाँच हजार रुपैयाँ हो। यो भाडादर कुनै बेला घटेर ४ हजार सम्म पुग्ने गरेको हुन्छ भने कुनै बेला बढेर ६ हजारसम्म पुग्ने गरेको छ।

विपदका बेला यात्रुहरुको ढाड सेक्ने काम भइरहेको छ । १२ हजार पाँच सयको टिकट पनि सजिलै उपलब्ध छैन । एयरलाइन्स कम्पनीहरुले काठमाडौँबाट बाहिरिने हरेक उडानमा तेब्बरसम्म भाडा बृद्धि गरेका छन् ।

नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले विद्यालय तथा कलेज बिदा भएपछि घर फर्कन खाेजेका कयाैं साथिहरूले फाेन गरेर एयरलायन्स र गाडीहरूले मनपरि भाडा लिएकाे दुखेसाे गरेकाे बताए । 

महामन्त्री तिमल्सिनाले भने- धनी र पैसावालले लुट्न कालोबजारी गर्न छुट हो कि के हो सरकार ? १० रुपैयाको मास्क २०रुपैयामा बेच्दा ५०हजार जरिवाना तिराउने सरकार ५ हजारको हवाई टिकट २२ हजारसम्म बेचिएकाे गुनासाे सुनिएकाे छ । किन अनुगमन र बढि भाडा लिने एयरलाइन्सलाई  कारबाही हुँदैन ? कि सानोतिनो कालोबजारी गर्नेलाई मात्र हो कारबाही र जरिवाना ? कतै सरकारका केही झुन्डहरु नै कालोबजारीमा लागेका त छैनन ? सरकारकाे ध्यान तत्काल यतातिर पनि जाओस् । 

तिमल्सिनाले धेरे मानिसहरू यतिबेला घरभित्रै रहेकाले उनीहरूकाे लागि झन धेरै सूचना चाहिने भएकाले सरकारले इन्टरनेट सेवा र टेलिफाेन सेवा निशुल्क वा न्यूनतमा शुल्कमा उपलब्ध गराउनुपर्ने बताए । 

गाउँ सहर संवाददाता

तपाईँको मत