प्रेरणा

गमला बनाएरै मासिक आधा लाख कमाइ

  • १४ माघ मंगलबार, २०७६ | १४:१२:०० मा प्रकाशित

सुरुङ्गा । झापाको बाह्रदशी गाउँपालिका–६ कुमालगाउँका सावित्रादेवी पण्डितले गमला बनाउन थालेको झण्डै तीन दशक पुगेको छ । उनले गमला बनाएर नै घर धानेकी छन् । शुरुमा गमलासहित दियो, पाला, खुत्रुके बनाउँदै आए पनि पछिल्लो समय गमलाको माग बढेपछि अहिले उनले गमला मात्रै बनाउँछिन् । ग्रामीण क्षेत्रदेखि शहरसम्म नै गमलाको माग बढेपछि उनीसहित उनका श्रीमान् रामेश्वर पण्डित बिहान सबेरैदेखि माटोको काममा निस्कन्छन् ।

गमलाका लागि रामेश्वरले बिहानभरि मुछेको माटोलाई दिउँसो सावित्रादेवीले गमला बनाएर सुकाउँछिन् । सावित्राले दैनिक झण्डै १०० वटा गमला बनाउने गर्छन् । ती गमलालाई सुकाएपछि रामेश्वरले भट्टीमा पकाउँछन् र त्यही गमला बेचेर पण्डित परिवारको जनजीविका चलेको छ ।

पण्डित दम्पतीले बनाएको गमला घरबाटै बिक्री हुन्छ । एउटा गमलाको होलसेल मूल्य रु ३० हो । बजारमा रु ५०–६० पर्ने गमलालाई पण्डित दम्पतीले घरबाटै व्यापारीलाई रु ३० मा बिक्री गर्छन् । एक सातामा ५०० गमला बिक्री गर्ने पण्डित दम्पतीले महिनामा दुई हजार गमला बिक्री गर्छन् । साताकै रु १५ हजार गमला बेचेर कमाई गर्ने पण्डित दम्पतीको मासिक कमाई रु ६० हजार हुने गरेको छ । त्यसो त माटो खरीदका लागि मासिक रु १० हजार छुट्याउने पण्डित दम्पतीले घरमै बसेर गमला बनाएर मात्रै मासिक रु ५० हजार आम्दानी गर्दै आएका छन् ।

तपाईँको मत