गाउँ सहर

तामाङ समुदायको मौलिक पर्व सोनाम–ल्होछार इतिहास र संस्कृतिभित्रकाे उत्सव

हरेक पर्वहरू जातियता, क्षेत्रीयताभन्दा माथि उठेर माैलिक पर्वकाे रूपमा सबैले एकाकार भइ मनाउनु पर्दछ ।

के हो ल्होछार परम्परा ?

तामाङ भाषामा नयाँवर्ष उत्सवलाई ल्होछार भनिन्छ । यसरी नै नेपालमा यही पर्वलाई ह्योल्मो, शेर्पा तथा तिब्बती समुदायहरुले लोसार भनेर बडो हर्सोल्लासकासाथ मनाउने गरि आएका छन् । यहाँ तामाङ भाषामा ल्हो शब्दले बाह्र ल्होखोर अर्थात १२ वर्षे चक्रलाई बुझाउँछ । तामाङ परम्परामा ल्हो ले सम्बत, वर्ष, उमेर, आदि जनाउँछ । हरेक वर्ष यो चक्रले एक–एक ल्हो फेर्छ । यहि ल्हो तामाङ समुदायले माघ महिनामा फेर्छ भनेर सदियौंदेखि मानि आएको छ । किनभने यसै बेला आदिवासी थारु तथा मगर जातिको पनि माघि पर्व पर्दछ । ल्हो को बाह्र वर्षेचक्र (सम्वत) को नाम विभिन्न १२ जीव तथा पंक्षीहरुको नामबाट रहेको हुन्छ । जसका क्रमशः १. नाम्युङ/ङ्याम्ङगु/जीवा (मुसा) ल्हो, २. म्हे/ग्लाब/लाङ (गोरु), ल्हो ३. च्यान/च्यन/ता (बाघ) ल्हो, ४. हे/तावर/ह्योअी (खरायो) ल्हो, ५. मुपुखी/डुक (ड्राइगन) ल्हो, ६.पुख्री/सापुख्री/डुल (सर्प) ल्हो,७. ताबु/ ता/ताग (घोडा) ल्हो, ८. ग्यु/ल्हुक (भेडा) ल्हो, ९. माकर/तीम्ङ्यु/टे/प्रे (बाँदर) ल्हो, १०. नामे/ ङ्याम्ङ्या/ज्या (चरा), ११. नाकी/नाखी/खी (कुकुर) ल्हो र १२. डोवा/ड्वा/फाग (बँदेल) ल्हो रहेको हुन्छ ।

यी ल्होहरु मध्ये यसपाली डोवा/ड्वा/फाग (बँदेल) ल्हो को बिदा गर्ने र नाम्युङ/ङ्याम्ङगु/जीवा (मुसा) ल्हो को स्वागत गर्ने हुन्छ । यी ल्हो (सम्बत) सँगै नै पाँच खामहरु मध्ये एक खाम रहेको हुन्छ भने खामको पनि स्त्री र पुरुष मध्ये एकको प्रभाव रहने हुन्छ । यसपाली धातु–पुरुष–मुसा वर्षमा परेको छ । यी खामहरु क्रमशः १. सा (माटो), २. क्युअी/की/छी (पानी), ३. मे (आगो), ४. फाअी/च्या (फलाम) र ५ सीङ (काठ) हुन् । हरेक वर्ष एउटा ल्हो पिच्छे याब र युम (पुरुष र स्त्री) खाम मध्ये एक रहेको हुन्छ । ल्हो, खामको साथै ग्रह, नक्षेत्र, आदिको माध्यमबाट खगोलीय पिण्डहरुको स्थितिका बारेमा जानकारी भएपछि यसैको आधारमा घडिपला, दिन, महिनाको निर्धारण तथा सो दिनहरुको साईत शुभ, अशुभ, भविष्यको प्रभाव आदि पञ्चाङ्ग ज्यातिषशास्त्रको निर्धारण गर्ने गरिन्छ । यसरी सम्वत्, मुख्य भूमिका निर्वाह गर्ने दुई जिवजन्तुको नामबाट रहेको वर्ष, खाम तत्वहरु सबै चिन्हात्मक आधारमा अवलोकन अध्ययन गर्ने भएकोले यो खगोल तथा ज्योतिष शास्त्रको अध्ययनलाई  Elemental Astronomy & Astrology भनेर चिनिन्छ । यो विधि चीनमा उत्पत्ति भएको हुँदा तामाङ भाषामा ग्याची/नागची भनिन्छ । यसैलाई ग्रहनक्षत्रको उत्पत्तिका सिद्धान्तका आधारमा हुने गणना गरिने भएकोले तामाङहरु ज्युङ्ची अर्थात्   Elemental Astronomy & Astrology  भनिन्छ । यो नै हाम्रो मौलिक परम्परा हो । हामी तामाङहरु यसै परम्पराका आधारमा आफ्नो ची, मुटु च्याबा अर्थात् भविष्यवाणी गर्ने, उमेर, साल–सम्बत्, महिना, दिन, बार आदिको निर्धारण गर्नेदेखि शुभ अशुभ साइत हेर्ने जुराउने आदि गर्ने गरिँदै आएको छ । यो परम्परा नाग्ची हो भने सैद्धान्तिक दृष्टिबाट ज्युङ्ची भनेर सदियौंदेखि मानी चलिआएको हामी तामाङहरुको प्रचलन हो ।

कहिले कुन दिन र समयमा ल्होछार मनाइन्छ ?

आजभन्दा ५ हजार वर्ष अघिदेखिको तामाङ समुदायले मनाउँदै, चलाउँदै आएको यो परम्पराको आधारमा नै तामाङभाषामा बौद्ध स्तुपलाई ज्यारोङखास्योर भनेर चिनिन्छ । यहाँ ज्याले चरा वर्षको संकेत गर्दछ भने हरेक बाह्र वर्षमा चरा वर्षमा बाह्र वर्षे मेला लाग्ने गरि आएको छ । यसैगरी स्वयम्भू स्तुपालाई तामाङ भाषामा फाबासिङगुन भनेर चिनिन्छ । यो पनि फाग अर्थात बँदेल वर्षमा मनाएको तामाङ विश्वास दरिलो प्रमाण स्वयम्भूमाथिको ठूलो बज्र मुनीको ल्होखोर बाह्रवर्षे तामाङ वर्षचक्रको बँदेल यसको पूर्व प्रदेशमा रहेको छ । यसरी लिखत लिपिको विकास हुन अगावैदेखि स्वयम्भू र बौद्ध प्रचाीन स्तुपाहरुको सम्बन्धमा तामाङ यो ल्हो (सम्वत) परम्पराको प्रयोग हुँदै आएको विश्वास गरिन्छ ।

यस्तो ऐतिहासिक प्राचीन तामाङ सम्वत ल्हो वर्षचक्र अनुसारको नयाँ वर्ष कहिले र किन मनाइन्छ त ? पर्वभन्दा हामी तामाङले माघ महिनामा ल्हो फेर्छ भन्ने मान्यताका आधारमा नेपालमा तानाशाही जहनिया राणा शासन पछिका ३० वर्षे पञ्चायती निर्दलीय व्यवस्थाको अन्त्यसँगै बहुदलीय ब्यवस्थाको स्थापनाले नेपालका आदिवासी जनजातीहरुले आफ्नो पहिचानको आन्दोलनको दौरानमा सांस्कृतिक पुनर्जागरण अभियानसँगै थालनी भएको सांस्कृतिक अधिकारको स्थापनाका तामाङ आन्दोलका दौरानमा ठम्याउँदै राज्यको संरक्षण अभावमा लगभग बिलाई सकेको अवस्थामा करिब ५ वर्ष जतिको लामो विभिन्न ल्होछार मान्ने मनाउने ९ समुदायकाबीचमा बहस छलफल चलाउँदै निष्कर्षमा पुगि माघ शुक्लपक्ष प्रतिपदाका दिनलाई २०५१ सालमा तत्कालीन प्रधानमन्त्री स्व. मनामोहन अधिकारीज्यूको कार्यकालमा नेपालको राष्ट्रिय पर्वको सूचीमा सूचीकृत भई यो सोनम लोसार-तामाङ ल्होछार पर्वले राज्यबाट ल्होछार मान्नेहरुका लागि भनेर पहिलो चोटी राष्ट्रिय पर्वको मान्यता प्राप्त राष्ट्रिय पर्व, तामाङ समुदायको सोनाम ल्होछार नयाँवर्ष पनि यही हो । यसपाली माघ शुक्लपक्ष प्रतिपदाका दिन माघ ११ गते  तदनुसार जनवरी २५ का दिनमा ल्होछारको तिथि मिति परेको छ ।

कसरी मनाइँदै छ तर ल्होछार ?

सदिऔंदेखि तामाङ समुदाय लगायतले मानिआएको यो पर्वले राज्यबाट राष्ट्रिय पर्वको मान्यता प्राप्त गरेपछि पनि आज २० औं भन्दा बढी ल्होछारका उत्सवका अब इतिहास बनिसेकेको हामी तामाङहरुको पावन महान ल्होछार सम्बन्धमा दिग्म्रमित नहोस्, तामाङ पहिचानको सांस्कृति विरासतहरुको रक्षा तथा संरक्षण, सम्वद्र्धनार्थ विगत वर्षहरुमा झैं यसपाली पनि तामाङ सामाजिक संघ–संस्थाहरुले ल्होछार महोत्सवको साथै सांस्कृतिक महोत्सवकासाथ राष्ट्रिय सोनम ल्होछार मनाइदैछ ।

यसको अलावा तामाङहरुले ल्होछार आउनु एक महिना अगावैदेखि गाउँघरका पँधेरा, बाटोघाटो सर–सफाई गर्ने, टाढा पुगेका इष्टमित्रहरुलाई बोलाउने, घरमा तान बुन्दै गरेको आधा मात्र भएको भएपनि तान काट्ने टुंग्याउने गरिन्छ । ल्होछारका एक दिन अगाडि बेलुकी मध्येरातको ११ बजे पुरानो ल्हो को बिदाइ समारोह ल्होदोबा मुन गुथुक क्वाटि जस्तो ९ प्रकारका गेडागुडीसहितको पिठोमा मम झैं पोका पारेर खान हुने नहुने अंगार, भेडाको भुत्ला आदि राखि पकाइएको खानको डोनसोल (भोज–भतेर) को आयोजना घर–टोलमा गर्ने गरिन्छ । गुथुक खाँदा जसको भागमा नखाने वस्तुहरु परेको हुन्छ ती व्यक्तिहरुको आगामी वर्ष अशुभ, नराम्रो हुने धारणा बनाईन्छ । राती नै पुरानो भइ रहेको वर्षको बिदावारी गरिन्छ ।

भोलिपल्ट घरघरमा घर मुलिले नुहाएर साङ वरीपरी परिवारका सदस्यजनलाई छेरीङ्खाइ भनेर दिर्घायुको आशिर्वादको साथै नगद भेटी दिने परम्परा रहेको छ । ल्होछार नयाँ वर्ष उत्सवका दिन गाउँघरको सार्वजनिक उपयुक्त डाडाँको थुम्को वा चउरीमा भेला भई सांस्कतिक कार्यक्रमसहित सामूहिक नाचगान कार्यक्रम गाउँका सबै गाउँलेहरुलाई बराबरी लगानीमा ह्रोसोल (बनभोज) समेत गरिन्छ । ल्होछारको पहिलो दिन पछिका दिनहरुमा आफन्तजनहरुलाई घरघरमा बोलाएर ल्होछारको डोन खुवाउने गरिन्छ भने बाह्र तामाङ ग्ले बाह्रगाउँका नेपो (प्रमुख) चाहोले भोलिपल्टका दिनमा ल्होछारको खुशियालीम शुभकामनाको साथै ग्लेइल्होछार–डोन अर्थात् ग्याल्साला चोहोला–डोन (ग्यालबोई) डोनसोल क्यङबा गेताङ गरिन्छ । यसलाई ग्याल्बो ल्होछार भनिन्छ । यो बाहेक पनि विभिन्न रुपमा लामागुरुहरुले ल्होछार अगाडी नै पनि नराम्रा पक्षहरुको शास्त्रीय विधि अनुसार पुजा आयोजना गरि बिदा तथा सम्मानपूर्वक फाइङसी गरेर पठाउने पुजाहरू गरिन्छ ।

कहिलेकाहीँ नेपालमा ल्होछार मनाउने समुदायहरुले एउटै प्रकृति र मूलका ल्होछार पर्व आफ्नै मौलिक नेपाल देसीय पञ्चाङग बनाउने असली पण्डितहरुको अभावम चीनको चिनिया, तिब्बतीको तिब्बती नाक्ची तथा कार्ची लगायत विभिन्न परम्परा मिसिएको तथा भारतीय कालचक्र परम्परा अनुसारको खुनु आदि विभिन्न पण्डितहरुले प्रकाशित गरेका पात्रो कतिपय त अनधिकृत र अनआधिकारिक रुपमा पात्रो आफूखुशि प्रकाशन गरी ल्होछार पर्वको तिथिहरु तोकिदा ल्होछार मान्दै आएका जनसमुदायहरु अन्यौलमा पर्नु अस्वभाविक होइन ।

तसर्थ सरकारले नेपालमा रहने सबै ल्होछार पर्व मानिआएका जनसुमुदायहरुको पनि राज्यबाट अध्ययन अनुसन्धान गरी कुल परम्परा त्यो समुदायले चाहेको हो त्यो नेपाल देसीय मानक–समयका आधारमा कसरी ति मौलिक पर्वहरुको पहिचान गर्नुपर्ने वस्तु परिस्थितिको राज्यले चासाे र संरक्षण गर्न जरूरी छ । 

नेपालले भ्रमण वर्ष २०२० मनाइरहँदा हाम्रा विभिन्न भाषा, धर्म, संस्कृति, संस्कारकाे पनि जगर्ना, प्रचार-प्रसार र माैलिक परम्पराकाे विस्तारमा पनि जाेड दिन जरूरी छ । यस्ता माैलिक परम्परा, संस्कृति र पर्वले नेपाल र नेपालीलाई मात्र हाेइन विश्वलाइ जाेड्न सहयाेगी भूमिका खेल्नेछ । यसप्रति सबैकाे ध्यानाकर्षण हुन जरूरी  छ। यी पर्वहरूलाई वेवास्था गरिँदै जाने हाे भने हाम्रा माैलिकताकाे बिलय हुँदै जानेछन् । त्यसैले हरेक पर्वहरू जातियता, क्षेत्रीयताभन्दा माथि उठेर माैलिक पर्वकाे रूपमा सबैले एकाकार भइ मनाउनु पर्दछ । (लेखकः लुम्बिनी विकास कोषका पूर्व सदस्य–सचिव हुन् ।)

तपाईँको मत