राष्ट्रिय जनगणनाको नमूना गरिँदै
- ३ कार्तिक आइतबार, २०७६ | १५:३०:०० मा प्रकाशित
काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले विसं २०७८ मा हुने राष्ट्रिय जनगणनाका लागि आगामी माघ १ गतेदेखि तीन महीनासम्म नमूना जनगणनाको तयारी गरेको छ ।
राष्ट्रिय योजना आयोगमातहतको उक्त विभागले सातै प्रदेशका हिमाल, पहाड र तराईको जनसङ्ख्याको समानुपातिक प्रतिनिधित्व हुने गरी करीब ११ हजार ६१० घरपरिवारमा नमूना जनगणना सञ्चालन गर्न लागेको हो ।
प्रत्येक प्रदेशबाट दुई जिल्लाका दरले १४ जिल्लाका ५५ वडामा नमूना गणना सञ्चालन गरिनेछ । विभागले आज पत्रकार सम्मेलन गरी नमूना गणनाका लागि १५ सुपरीवेक्षक, ६० गणक, अन्य ४७ गरी १२२ जनशक्ति परिचालन गर्ने जानकारी दिएको हो ।
सुपरीवेक्षक र गणक करारमा नियुक्त गरिनेछ । यस कार्यका लागि रु एक करोड १७ लाख बजेट विनियोजन गरिएको छ । विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले छ महीनाभन्दा बढी अस्थायीरुपमा बसेका नागरिकको सोहीस्थलमा गणना गरिने जनाउँदै विदेशमा बसिरहेका नेपालीको गणनाका कार्य चुनौतीपूर्ण हुने बताए ।
उनले जनगणनाको प्रारम्भिक नतिजा तीन महीना र पूर्ण प्रतिवेदन नौ महीनाभित्र सार्वजनिक गरिने बताए । विभागले जनगणनाका लागि ‘मेरो गणना, मेरो सहभागिता’ सहितको मूल नारा र लोगो पनि आज सार्वजनिक गरेको छ ।
जनगणनाका लागि आयोगका सदस्य डा रामकुमार फुँयालको संयोजकत्वमा समन्वय समिति गठन गरिएको छ । जनगणनाका कार्यका लागि आव २०७६/७७ को बजेटमा रु ३६ करोड २७ लाख विनियोजन गरिएको छ । प्रत्येक १०/१० वर्षमा गरिने जनगणना यसअघि विसं २०६८ मा गरिएको थियो । नेपालमा औपचारिकरुपमा विसं १९११ मा जनगणना कार्यको थालनी भएको हो ।
प्रतिकृया दिनुहोस