नागपञ्चमीः घरको दैलोमा नागकाे चित्र किन टाँस्ने ?
- गाउँ सहर संवाददाता
- २० श्रावण सोमबार, २०७६ | ०४:४६:०० मा प्रकाशित

आज नागपञ्चमी, नागको पूजा गर्ने दिन । श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिनमा मनाइने नागपञ्चमीमा नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि टाँस्ने गरिन्छ । यो श्रद्धा र विश्वासको पर्व हो । नागलाई धारण गर्ने भगवान् भोलेनाथको पूजा आराधना गर्नु पनि यो दिनमा शुभ मानिन्छ ।
नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म , तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले त्यस्तो घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ । ज्योतिषशास्त्र-अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । भूमिमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने संभावना भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ मानिदैंन ।
आजको दिन नेपालका विभिन्न नाग देवताको मन्दिरहरूमा नाग पञ्चमी मेला लाग्दछ । नागपञ्चमीमा नागको चित्र बनाई पूजा गरेर घरमा टाँस्नाले सर्पकाे डर हुदैन भन्ने हिन्दू शास्त्रको मान्यता रहेको छ । पश्चिम नेपालका जिल्लाहरूमा नागपञ्चमीका दिन देखी हिउँद लाग्छ भन्ने भनाई रहेको छ ।
नेपालको सुदूर तथा मध्य पश्चिममा नाग पञ्चमीका दिन कागजमा नाग, बिछ्छी जस्ता बिषालु जिव जनावरहरूका चित्र बनाएर पूजा गरी घरको दैलोमा टाँस्ने चलन छ । यसका साथै नाग पञ्चमी र श्रीपञ्चमीका दिनमा हलसारो गर्न दिन जुराउनु पर्दैन भन्ने धार्मीक मान्यता रहेकाले हलसारो (पहिलो पटक हलो जोताई) गरेर हिउँदे खेतीको तयारी थाल्ने चलन पनि रहेको छ भने बडिमालिका लगायत विभिन्न ठाउँमा छरिएर रहेका मालिका मन्दिरमा पूजा गर्न जाने श्रदालुहरूले व्रत गर्ने, भूमी सयन गर्ने र ब्रह्मचार्य धारण गर्ने चलन रहेको छ ।
व्रतको विधि
नागपञ्चमी नाग देवताका निमित्त व्रत लिने गरिन्छ । यस व्रतमा पूरै दिन व्रत बसेर सूर्यास्त भएपछि नाग देवताको पूजाका लागि खीर प्रसाद पकाई, त्यसलाई सर्व प्रथम नाग देवताको मूर्ति अथवा शिव मन्दिरमा अर्पण गरी (भोग लगाई) प्रसादका रूपमा वितरण गर्ने र आफू स्वयंले समेत ग्रहण गर्नु पर्दछ । व्रत अवधिभरि कुनै किसिमको भोजन गर्नुहुँदैन नै, र समाप्तिमा समेत नुन खानु वा चिल्लोचापिल्लो परिकारहरूको प्रयोग पनि वर्जित छ । व्रतालुले पाँचवटा टाउका भएको वा अष्टकुली नागको आकृति बनाई आफ्नो घरको ढोकामा गाईको गोबरले टाँस्ने चलन छ । गोबरको अभावमा गमको प्रयोग पनि गर्न सकिन्छ । त्यसपछि नागदेवतालाई दूध, दुबो, कुश, चन्दन, फूल, अक्षता, लड्डू अर्पण गरी पूजासमेत गरेर नाग स्तोत्रको पाठ गर्ने गरिन्छ । नागदेवतालाई श्रीखण्डको सुगंध विशेष प्रियकर हुन्छ। त्यसैले नागपूजामा श्रीखण्ड चंदनको प्रयोग गर्नु राम्रो मानिन्छ, त्यस्तै आजको दिनको पूजनमा सेतो कमलको प्रयोग गर्ने विधान छ । आज यी सम्पूर्ण कृत्य गर्न सक्दा 'कालसर्प योग' दोषको शान्ति पनि हुन्छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस