अन्तर्वार्ता

‘संसदवादको अन्त्य, नयाँ जनवादको स्थापना-हाम्रो अभियान, वैज्ञानिक र जनमुखी शिक्षाका लागि विद्यार्थी आन्दोलन’

पार्टीको बुझाइमा माथिका तप्कामा मात्र परिवर्तन भए देशको परिवर्तनले तल्ला तहका जनतामा कुनै फरकपना ल्याउन सकेको छैन । धनी दिनदिनै धनी र गरिब दिन दिनै गरिब हुँदै गएको परिपेक्ष्यमा नेपाल कम्युनिष्ट पार्टीले पुष्पलालले अंगालेको नीति तथा विचारलाई अवलम्बन गर्दै नयाँ जनवादको कार्यक्रमलाई अगाडि बढाएको छ ।

क्रान्तिकारी विचार बोक्दै नयाँ जनवाद मुद्धामा अगाडि बढिरहेको ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी यूनियन (अनेवियू) का केन्द्रीय सचिव सन्देश भट्टराईलाई गाउँ सहर डटकम टीमले सोधेका थियौँ :—

१. यतिधेरै कम्युनिष्ट पार्टीका हुलमा तपाईंहरु के गर्दै हुनुहुन्छ ?
देशमा भ्रष्टाचार, कालोबजारी, तस्करी र कमिसनखोरीले गर्दा जनजीविका विकास निर्माण र राष्ट्रियतामाथि नै गम्भीर आँच पुगेको छ । देशमा रोजगारी सिर्जना गरी युवा शक्तिलाई विदेश पलायन हुनबाट रोक्न वर्तमान सरकार असक्षम भएको छ । सरकार झुटको खेतिमा व्यस्त छ । तसर्थ, स्वाधिन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण र ठोस नीतिको जगमा अघि बढ्नुपर्ने अवस्थालाई शिरोधार गर्दै पार्टी र संगठन अगाडि बढिरहेको छ ।

२. के पुगेन र तपाईंहरु ?
नेता बढे, काण्ड बढे, आशा गरेको कम्युनिष्ट पार्टी जुन दुइतिहाइका साथ सत्तामा छ तर काम देश विकास भन्दा भ्रष्टाचारलाई मलजल गर्ने, नयाँ चुनावको लागि सञ्चित गर्ने, अपराधिकरणलाई पक्षपोषण गर्ने परिपाटी हुर्कंदा जनतामा खासै परिवर्तन ल्याउन नसक्ने अवस्थालाई हामीले राम्रोसँग नजरअन्दाज गरेको छौँ । जनताको आशामाथि तुषारोमात्र छर्ने परिपाटीले जनताले कुनै नयाँपन नपाएका कारण हामी छौँ र निरन्तर लागिरहन्छौँ जहिलेसम्म जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सकिँदैन तवसम्म जारी रहन्छ । यही अभाव चिर्दै जनतामा वास्तविक विकासको स्वाद पस्कनैको लागि हामी हौँ, हामी गफमा भन्दा काममा विश्वास गर्छौं ।

३. नेकपामा अटाउन सक्नुभएन है ?
मुद्धा फरक, हामी नयाँ जनवादमा छौँ उनीहरु नाममात्रको कम्युनिष्ट र कम्युनिष्ट आन्दोलनको पतनको बाटोमा लागिरहेका छन् । चुनाव जित्नको लागि मात्रै जनता भूलाउने र चरित्र कम्युनिष्ट नभएपनि कम्युनिष्टको नाम विकाइरहेका छन् ।

यस्तो खोरको समुहमा कसरी अटाउँन सकिन्छ त ! सबैतिर भङ्गलाहरु छन उनीहरुमा । सुधारको कुनै नयाँपन छैन । जनतामारा शैलीमा हावी भएका छन् । यो अवस्थामा उनीहरुसँग कसरी हिँड्न सकिन्छ ? स्थायीत्व, सुशासन, सामाजिक न्यायमा चुकेको वर्तमान परिवेशमा हामी सहि बाटोमा हिँड्नकै लागि नेकपामा अटाउन सकेनौँ ।

४. अरु विद्यार्थी संगठनभन्दा के नयाँ योजनाका साथ अस्तित्व धानिरहनुभएको छ ?
अहिले विद्यार्थी संगठनहरु केही सीमित कस्मेटीक आन्दोलनमा बोकेर हिँडिरहेका छन् । देशको शिक्षामा आमूल परिवर्तन गर्ने बेलामा पार्टीको झोलामात्र बोकेर हिँड्ने, कमिशनको पछाडि दौडने, र विद्यार्थीको मुद्धाहरु बोकेर नहिँड्ने, मिलेमतोमा विद्यार्थी आन्दोलन टुंग्याउने नजिर नै बनेको छ । यो विकृत अवस्थाको रुपमा सुधार आवश्यक छ ।

विद्यार्थी सँगठनमा बढेको अराजकता, भ्रष्टाचार, राजनीति गर्ने थलो, अध्यापनमा आधुनिकिकरण, शैक्षिक व्यापारिकरणलाई चिर्दै जनताका छोराछोरीले सहज र सरल तरिकाले शिक्षाको प्राप्ति र व्यवहारिक शिक्षामा हाम्रो जोड रहेको छ जुन अरुमा देखिएन । अरु सबै माउ पार्टीका दवावमा कुनै न कुनै रुपले उद्धेश्यभन्दा बाहिर भागिरहेका छन् । जसलाई चिर्दै हामीलाई स्वच्छ शैक्षिक संस्था र अनुशासित विद्यार्थी संगठन हाम्रो मन्त्र हो ।  अहिले हाम्रो नारा नै ‘संसदवादको अन्त्य, नयाँ जनवादको स्थापना—हाम्रो अभियान, वैज्ञानिक र जनमुखी शिक्षाका लागि विद्यार्थी आन्दोलन ।’ रहेको छ ।

५. राजनीति प्राप्तिपनि भनिन्छ, तपाईंको यो उर्जाले के गन्तब्य प्राप्त गर्ला ?
अहिले राजनीतिलाई कमाई खाने भाँडो बनाइएको छ । तर, हामी कमाउनलाई राजनीतिमा प्रवेश र यो संघर्ष होइनौँ । कमाउने नै भए म उद्योग खोल्थें तर समाजमा सेवाको भावनाले राजनीतिमा होमिएको छु । सांसद नभइएला, मन्त्री नभइएला, पार्टीले एक सिट नजित्ला त्यो फरक कुरा हो । तर, जनताको लागि निश्वार्थ काम गर्नुपर्छ भनेर म नेकपामा राजनीति गरिरहेको छु, सन्तुष्ट छु । प्राप्तिको आशाले म संगठनमा आएको होइन, जनताको सेवागर्न म यो पार्टीमा छु ।

७. अहिले युवा किन निराश छन्? तपाईंको संगठनबाट युवा उन्नतिको के खाका तयार गर्नुभएको छ ?
सत्य हो, युवामा वितृष्णा छ । युवाकेन्द्रीत कार्यक्रमहरु छैनन् । उद्यम र उद्यमशिलता विकास छैन, सरकारको कुनै ठोस नीति तथा कार्यक्रमहरु छैनन । भएपनि आफ्नै कार्यकर्ता पाल्ने, आफ्नालाई आइएनजीओजको दाश बनाउने काममा अगाडि बढेको छ ।

यहिकारण युवाहरु सबै खाडी र अन्य मुलुकमा जानुपर्ने वाध्यता छ । देखावटी कार्यक्रमबाहेक अन्य नीति र रणनीतिमा युवा पर्ने गरेका छैनन् । यसकारण हामी विभिन्न वर्गको उत्थानको लागि कटिबद्ध भएर योजना बनाएका छौँ । जहाँ कोहिपनि खाली बस्नुपर्दैन, देशमा सृजना र रोजगारीको गत्तिलो स्थल बनाउँछौँ । देशमा रोजगारीका अवसरहरु खोल्छौँ र बैज्ञानिक समाजवादी नेपालको यात्रा अघि बढाउँछौँ ।

८. प्राप्ति शुन्यताको दर बढ्दैजाँदा तपाईं र तपाईंको संगठन कहाँ छ ?
सामन्त, दलाल तथा नोकरशाही पूँजीवाद नियन्त्रित संसदीय व्यवस्था अन्त्य गरी नयाँ जनवादी राज्यसत्ता र राष्ट्रिय पूँजीको स्थापना नहुँदासम्म राष्ट्रियता, जनतन्त्र र जनजीविकाको समस्या हल हुन सक्दैन । तसर्थ हामी यो प्राप्तिको लागि लागिपरेका छौँ । देखावटी स्तरमा हामी भिडमा हराएपनि जनताको सही मुद्धामा हामी एक नम्बरमा छौँ ।

९. कति आन्दोलन र संघर्षमात्र गरिरहने, युवा विदेश पठाइरहने ?
तपाईंले भनेको सहि हो, हाम्रो पुस्ता सँधै संधर्षपूर्ण रह्यो । सँधै यसरी हुँदैन भनेर नै प्रगति र परिवर्तनका पक्षधर स्वाभिमानी नेपालीहरुको संघर्षलाई उचाइमा नपुगिञ्जेलसम्म हामी संघर्ष जारी गरिरहन्छौँ । आज गरिएको संघर्षले भोली दाजुभाइ, दिदिबहिनिहरु विदेश जानु पर्दैन । यहीँ रोजगारीका स्थानहरु सृजना गरिनेछन् ।

१०. अब के गर्ने ?
हामी ३ नं प्रदेशको सम्मेलनको तयारीमा छौँ । सो सम्मेलनबाट हाम्रा नयाँ योजनाहरुपनि सार्वजनिक गर्न जाँदैछौँ । देश अब दलालको हातबाट मुक्त पार्नैपर्छ । अनेवियू स्थापना कालदेखि नै राष्ट्रियता जनतन्त्र जनजीविका साथै प्रगतिशिल, व्यवहारिक, रोजगारमुलक वैज्ञानिक र जनवादी शिक्षाका पक्षमा र सामन्तवाद, विस्तारवाद, साम्राज्यवाद एवं सबैखाले शैक्षिक विकृतिका विरुद्धमा नेपाली विद्यार्थी आन्दोलनको अग्रमोर्चामा रही दृढतापूर्वक संघर्ष जारी रहने छ । वर्तमान समयमा हामी मेडिकल शिक्षा सुधारका लागि आन्दोलनरत छौँ ।

विकास जनताको अधिकार भन्ने कुरालाई स्थापित गराएरै छाड्ने हाम्रो उद्धेश्य छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत