सेवा

अस्पतालका आकस्मिक सेवाबाहेकका अन्य सेवामा आवासीय चिकित्सक सहभागी नहुने

  • ९ माघ बुधबार, २०७५ | ०९:३९:०० मा प्रकाशित

काठमाडौं । डाक्टर गोविन्द केसीले राखेका मागको बेवास्ता गरेको भन्दै आवासीय चिकित्सकहरूकाे तीनवटा संस्थाले विरोधका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । 

आज एक संयुक्त विज्ञप्ति जारी गर्दै डाक्टर केसीको १६ औँ सत्याग्रह (आमरण अनसन) को  १४ दिन बितिसक्दा पनि सरकार र  सरोकारवालाको मौनताप्रति दबाबस्वरुप विरोधका कार्यक्रम सार्वजनिक गर्नुपरेको बताइएको छ । 

'स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील क्षेत्रको विकास र विकृति हटाउन गरिएको निस्वार्थ सत्याग्रह सरकार निरन्तर दबाउने प्रयासमा रेहेको र मौन रही गैरजिम्मेवारीपूर्ण कदम चाल्ने चलखेलप्रति हामी घोर भत्सर्ना गर्न चाहन्छौँ'  विज्ञप्तिमा उल्लेख छ । 

राष्ट्रिय आवासीय चिकित्सक संघका अध्यक्ष डाक्टर सुमित पाण्डे, रेजिडेन्ट डक्टर्स एसोसिउसन अफ न्याम्सका अध्यक्ष डाक्टर शरद चन्द्र बराल र जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीका अध्यक्ष डाक्टर कवि राज पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा माघ ९  र १० गते दुई घण्टा ओपीडि सेवामा आवसीय चिकित्सकहरु सहभागी नहुने तथा सो समयमा अस्पताल प्राङ्गणअघि बसी शान्तिपूर्वक धर्ना दिन] तथा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र राजनीतिक दलहका शीर्ष नेताहरुलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम सार्वजनिक गरिएको छ । 

साथै  वार्ताका लागि ठोस पहल नभएको खण्डमा ११ गते पश्चात आवासीय चिकित्सकहरु आकस्मिक सेवाबाहेकका अन्य सेवामा तिनवटै संस्थाका सम्पूर्ण आवासीय चिकित्सक सहभागी नहुने उल्लेख गरिएकाे छ । 

'विगतमा हाम्रा संघहरुले शान्तिपूर्ण तवरले कालो पट्टी लगाई सरकार र सरोकारवालालाई घच्घच्याइरहेको  र कठीन परिस्थितिमा रहेको स्वास्थ्य क्षेत्र र आगामी दिनमा यसरी नै अघि बढ्दा आउने भयावह स्थितिलाई मध्यजनजर गर्दै हामी विरोधका कदम चाल्न बाध्य तुल्याएका छौं । यो  क्रममा हुन जाने असुविधाको लागि सरकार आफै जिम्मेवार हुने'  विज्ञप्तिमा जनाइएको छ । 

उनीहरूले सरकारले वार्ताको माध्यमबाट चाँडो भन्दा चाँडो यो स्थितिका निक्र्यौल निकाली अघि बढ्न र आउने विकराल परिस्थितिबाट स्वास्थ्य क्षेत्रलाई जोगाउन अपिल गरेका छन् । 

अन्यथा आगामी दिनमा संघले अझै सशक्त आन्दोलनमा जाने अववगत गराइएको छ ।

विज्ञप्ति:-

 

तपाईँको मत