समाज

नुवाकोटको तारुकामा माघे संक्रान्तिको गोरु जुधाइ

  • ३० पौष सोमबार, २०७५ | १४:१५:०० मा प्रकाशित

नुवाकोट । माघे संक्रान्तिको गोरु जुधाइ भन्नासाथ धेरैले सम्झने ठाउँ नुवाकोटको तारुका हो तर, तारुका मात्र नभई जिल्लामा गोरु जुधाइको क्षेत्र फैलँदै गएको छ ।

तारुकामा व्यवस्थित रुपमा गोरु जुधाउन थालेको पाँच वर्षपछि नुवाकोट र रसुवाको सीमा बेत्रावती (नुवाकोट पट्टिको भू–भाग) मा गोरु जुधाउन शुरु भएको थियो । तर, अहिले जिल्लामा पञ्चकन्या गाउँपालिकाको पञ्चकन्या, लिखु गाउँपालिकाको कट्टिछाप र शिवपुरी गाउँपालिकाको शेराबगरमा समेत गोरु जुधाउन थालिएकोे छ । 

जिल्लाका विभिन्न स्थानमा गोरु जुधाइने भए पनि तारुका सबैको आकर्षणको क्षेत्र बनेको यहाँ आउने दर्शकको ओइरोले नै पुष्टि गर्ने तारकेश्वर गाउँपालिका–२ का वडाध्यक्ष तथा माघे संक्रान्ति गोरु जुधाइ संरक्षण संस्थाका सल्लाहकार समरबहादुर आलेमगरले बताए ।

“तारुकाको सिको गर्दै अन्यत्र पनि गोरु जुधाउने परम्पराको संरक्षण हुनु राम्रो हो,” उनले भने – “हामीले व्यवस्थित रुपमा गोरु जुधाइ कार्यक्रम थालेका कारण सबैमा संस्कृतिप्रति मोह बढेको हो ।” तारुकाको विभिन्न टोलमा हुने गोरु जुधाइलाई व्यवस्थित पारी २०६२ सालदेखि एकै थलोमा गर्न थालिएको हो । 

गोरु जुधाइ पश्चिम १ नम्बरको पुरानो परम्परा भएपनि पछिल्लो समय बिर्सन थालिएकामा तारुकाले पुनर्जागृत गरेको तारकेश्वर–४ बुधसिङका वडाध्यक्ष राममणि अधिकारीले बताए । “हाम्रो भेगमा पहिले पहिले झिल्टुङ, रातमाटे, बधुसिङ, दाङसिङ, तारुकामा माघे संक्रान्तिमा गोरु जुधाउने गरिन्थ्यो, उता थानसिङ, चौघडातिर पनि गोरु जुधाउने गरिएको सुनिन्थ्यो,” उनले भने – “पहिलो आ–आफ्नो टोलमा सय÷पचास जनाबीच जुधाउने गरिन्थ्यो । न चर्चा हुन्थ्यो, न प्रचार । सबैतिर परम्परा नै लगभग हराइसकेका बेलामा तारुकाले व्यवस्थित रुपमा मेला नै सञ्चालन गर्यो ।” 

तारकेश्वर गाउँपालिका–२ तारुकाको गोरु जुधाइ मेलालाई गत वर्षदेखि गाउँपालिकाले समेत आफ्नो पालिकाको प्रमुख सांस्कृतिक पर्वको रुपमा मान्यता दिएर सहयोग गर्दैआएको छ । हजारौं दर्शकहरु आउने यो मेलालाई अझै व्यवस्थित गर्न गाउँपालिकाले ध्यान दिएको अध्यक्ष रमेश वस्तीले बताए । 

यो वर्ष तारुकामा मात्र २३ हल गोरु जुधाउने तयारी भएको छ । गोरु जुधाउन ४६ जना किसानले नाम दर्ता गराएको संस्थाका अध्यक्ष शिवबहादुर अधिकारीले बताए । गोरु जुधाइ मेला सञ्चालनको तयारी पूरा भएको छ । मेला स्थलसम्म आउन सडकको मर्मत, पार्किङ स्थलको निर्माण, शौचालय, पिउने पानीको व्यवस्थासमेत गरिएको छ । 

गोरु जुधाइ मेलाको प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्ड, राष्ट्रिय खेलकूद परिषद्ले समेत सहयोग गरेको छ । मेलामा विजेता गोरु धनीलाई रु ६ हजार नगद र प्रमाणपत्र तथा उपविजेतालाई रु ४ हजार पुरस्कार दिइने छ । तारुकाको विभिन्न स्थानमा गोरु जुधाएर मनोरञ्जन लिने परम्परालाई २०६२ सालदेखि चन्दनीको बारीको ठूलो पाटोमा सारिएको हो । 

पवित्र धार्मिक क्षेत्र तथा ऐतिहासिक थलो बेत्रावतीमा पनि गोरु जुधाउने तयारी पूरा भएको छ । यो वर्ष बेत्रावतीमा सात हल गोरु जुधाइने भएको आयोजक गोसाइकुण्ड युवा क्लबले जनाएको छ । 

बेत्रावतीमा नौ वर्षदेखि व्यवस्थित रुपमा हरेक वर्ष मकर संक्रान्तिमा गोरु जुधाइँदै आइएको छ । विदुर नपा–१० बेत्रावतीमा सञ्चालन हुने गोरु जुधाइमा नुवाकोट र रसुवाका किसानहरुसमेत आ–आफ्ना गोरु लिएर आउने भएका छन् । विजेता गोरुधनीलाई ३ हजार र उपविजेतालाई २ हजार ५०० प्रदान गरिने छ भने सहभागी गोरुधनीलाई एक हजार ५०० रुपैयाँ दिइने छ । 

बेत्रावतीमा २०६७ सालदेखि व्यवस्थित रुपमा गोरु जुधाउन थालिएको हो । परम्परागत रुपमा सयौं वर्ष अघिदेखि जुधाउने गरिएको भएपनि पछिल्लो समय यहाँका युवाले यसमा पहलकदमी लिएको हो । 

 

तपाईँको मत