प्रविधि

ग्रामीण गरिबमा इन्टरनेट पुर्याउन डिसहोमको तयारी तिब्र

ललितपुर । नेपालको टेलिभिजन सेवाप्रदायक क्षेत्रमा पहिलो बन्दै डाइरेक्ट टू हो्म ‘डिटिएच’ मार्फत् स्याटेलाइटको माध्यमद्वारा घर-घरमा टिभी च्यानल पुर्याएको डिसहोमले ग्रामीण गरिबको घरमा ब्रोडव्यान्ड इन्टरनेट पुर्याउन युद्धस्तरमा काम गरिरहेको बताएको छ ।

सुरुवाती समयमा डिस टिभी र होम टिभीको रुपमा रहेको भएपनि केही समय पछि एक आपसमा गाभिएर बनेको डिस होमले बजारको २५ प्रतिशत भागलाई ओगट्दै डिजीटल टिभीको परम्परा बनाउँदै अब ब्रोडव्यान्डको तयारीमा लागेको बताएको हो । 

गाउँ सहर डटकमसँग कुरा गर्दै डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले भने, ‘हाम्रो पछिल्लो तयारी भनेको दुर्गम ग्रामीण भेगहरु हुन् जहाँ हामी ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तारको लागि अध्ययन गरिरहेका छौँ । कतिपय अध्ययनहरु हामीले अगाडीदेखि नै गरिनै रहेका थियौँ । त्यसमा थप अध्ययनको आवश्यकता परेकोले हामीले युद्धस्तरमा कार्य अगाडि बढाइरहेका छौँ ।’ 

निर्देशक आचार्यले विशेष गरी एकदमै विकट ठाउँहरुबाट यसको सेवा सुरु गर्ने तयारीमा डिसहोम जुटिसकेको जानकारी दिए । उनले भने, ‘अहिले पनि काठमाडौँ लगायतका केही सहरहरुमा त सिम टिभी मार्फत् सेवाग्राहीहरुले सेवा पाईरहेका छन् । अब हाम्रो विशेष लक्ष्य भनेको इन्टरनेट नै नपुगेका अति दूर्गम क्षेत्रतर्फ हुनेछ ।’

अहिले डिसहोम प्रयोगकर्ताहरुले कूल २ सय वटा च्यानलहरु हेर्न पाउँछन् । त्यसमा २५ वटा जति नेपाली च्यानलहरु छन् भने डिसहोमकै लगानीमा ७ वटा च्यानलहरु चलिरहेको निर्देशक आचार्य बताउँछन् । 

सन् २००९ मा स्थापित डिस होम नेपालको सबैभन्दा अग्रणी र गुणस्तरीय ‘पे टीभी’ सर्भिस हो । २४ घण्टा ग्राहक सेवा, हरेक वडामा दक्ष प्राविधिक, लोकप्रिय च्यानलका कारण डिस होमको सेवा लाखौं घरमा जडान भइसकेको छ । 

दुई सय एक करोड पूँजी रहेको कम्पनीले यो आर्थिक वर्ष भित्र नै शेयर जारी गर्ने तयारीमा छ । अघिल्लो वर्ष मात्रै यो कम्पनी सार्वजनिक कम्पनीको रुपमा रुपान्तरण भएको हो । 
 

तपाईँको मत