राजनीति

महामन्त्री शशांक कोइरालाले महासमिति बैठकमा हिन्दु धर्मको विषय उठाउने

File Photo

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले हिन्दु धर्मको विषय महासमितिको बैठकमा उठाउने बताएका छन् ।

एक सातादेखि जारी पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री कोइरालाले हिन्दुधर्मबारे आफ्नो धारणा यथावत रहेको र बैठकमा उठाउने बताएका हुन् ।

केहीसमय पहिला महामन्त्री कोइरालाले सार्वजनिक रुपमा हिन्दुधर्म र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । उसाे त उनले प्रत्येक कार्यक्रमहरूमा हिन्दु धर्मकाे प्रसंगलाई जाेड्दै अाएका छन् ।

‘यो विषय केन्द्रीय समितिको बैठकभन्दा पनि बढी महासमिति बैठकमा जोडदार रूपमा उठ्छ । यहाँ के उठिरहेको छ र ? यहाँ नभएका धेरै कुरा महासमिति बैठकमा उठ्छ’ उनले भने ।

जारी केन्द्रीय कार्यसमितिको बैठकमा यो विषयमाथि बुधबार पनि छलफल भएको थियो ।  बुधबारको बैठकमा केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले हिन्दु धर्मको विषयबारे प्रष्ट पार्न माग गरेका थिए ।  अर्का केन्द्रीय सदस्य शंकर भण्डारीले अब हिन्दुत्वको मुद्दालाई साथसाथै लिएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

सहमहामन्त्री डा प्रकाशशरण महतले बुधबार केन्द्रीय कार्य समितिमा पार्टी समग्र आर्थिक नीतिका सम्बन्धमा पेस गरेको प्रतिवेदनमा मुलुकमा रहेका पुराना मन्दिर र पुरातात्विक स्थल संरक्षण गरी पर्यटक आकर्षित गर्न सकिने उल्लेख गरेका छन् । 

पार्टीकाे महासमिति बैठक मंसिर २८ बाट पाैष ३ सम्म काठमाडाैँमा हुँदैछ ।

 

तपाईँको मत