“लोग्ने”
उसकै प्रतीक्षामा बस्छु भुक्क फुलेर, ठुस्स ठुस्केर
- मीना डाँगी
- २५ मङ्सिर मंगलबार, २०७५ | १३:३१:०० मा प्रकाशित
हरेक दिनको झुल्के घामसँगै
उदाउँछ मेरो लोग्ने,
झमक्क साँझ पर्दा सुस्ताउँछ मेरो लोग्ने,
ऊ हतार-हतार दिन भरिको धपेटी भ्याउँछ,
र पनि
मुस्कुराउँछ मेरो लोग्ने,
म आफ्ना दिनभरिका कामको हिसाब किताबको थुप्रो लगाइ
उसकै प्रतीक्षामा बस्छु भुक्क फुलेर, ठुस्स ठुस्केर
तिम्रा कपडा मैले धोइदिन पर्ने
तिम्रो राखनधरन मैले गरि दिन पर्ने,
तिम्रा बाबूआमा, तिम्रा नातेदार
कुल कुटुम्भ मैले हेरिदिन पर्ने
मेरो चैँ कुनै इच्छा नै छैन
मेरा चाहिँ कुनै रहर नै छैन
आफ्ना रहर ईच्छा आकांक्षा
सब मैले चाहिँ धरौटी नै राख्न पर्ने ??
मेरा मन मस्तिष्कमा समस्याको पहाड चढ्छ,
अब भो अब सक्दिन,
जब ऊ घर भित्र प्रवेश गर्छ
मुसुक्क मु्कुराउँछ,
म रातापिरा आँखा पल्टाउँदै
उसको अनुहार हेर्न पुग्छु,
ऊ असामन्जस्यमा, के भो सानू सन्चो छैन ??
मेरो ठुस्केको अनुहारमा
मलाई अस्वस्थ देख्छ मेरो लोग्ने
मेरा गुनासा मेरो दुखाइ पोलाई घोचाई,
एकै स्वासमा समाप्त
एकै स्वासमा उर्जा पोतिन्छ शरीरभरी मनभरी,
अघि छोराले होमवर्क गर्न अटेर गरेको रिस,
आफुले तिलहरी नपाएको गुनासो
बैंकको तागेता पत्र
सब सामान्य
मेरो शरीरभरी फुर्तिलो रक्तसंचार हुन्छ,
मेरो उर्जाको स्रोत मेरो लोग्ने ।
हिजै मात्र ग्याँस सकिएको छ,
मैले चुल्होमा दाउरा फुकी सकेकी छु,
ध्वाँसोले भाडा काला, मेरा हत्केला फुटेका छन्,
मेरा गुनासाको पहाड फेरि चुलिन्छ,
स्कुलबाट एडमिसनको सूचना आएको छ,
बाबुले नयाँ ज्यकेट मागेको छ, साथीको जस्तै रे,
नानूको पढाइ सुरु, बुक्स छैन भनेकी छन्
सम्झिँदा सम्झिँदै मेरो पारो तातेको छ
कुन बेला आउला यो लोग्ने नामको भाँडो
र यो भुङ्गरो, खन्याउला
अटोमा ग्याँस आउँदैछ,
आज दाउरा बाल्न पर्दैन,
आज पेश्की लिएको,
भोलि शनिबार बच्चाहरुलाई जाडोको कपडा ल्याई दिनु छ
ए ! तिम्रा हात फुटेका थिए ,
मलम ल्याइदिएको छु,
रिसै रिसले अघाएकी म
अचानक भोक लागेर आउँछ,
अब दाउरा बाल्नु पर्दैन, अब नङ काला हुँदैनन्
मैले भोग्नु अघि नै बुझिदिन्छ
मेरो हरेक भोकको गाँस हो मेरो लोग्ने
आज छिमेकीसंग बिना सित्तै झगडा,
उनकै भैंसी फुकेर बारीको साग सखाप पार्यो,
सधैं फुस्किन्छ भैंसी दाम्लो फेर्नु न भाइ
यति मात्र के भनेथें छिमेकी जङ्गिए नाना भाति बक्दै गए,
तेरिमा नकचरी तेरो एकएक थाहा छ,
दिनभरीको लछारो भ्याएर आएको मेरो लोग्ने
छिमेकीको कठालो समाउन पुग्छ,
रातोपिरो धपधपी बल्दो आगो ओकल्दो,
भाउजूसंग माफी माग, भाउजूसंग माफी माग
उसका हात घाँटीमा पुग्छन्
एकाएक सरी भाउजू सरी भाउजू
मेरो अस्मिताको रक्षक मेरो अविभावक मेरो लोग्ने
भर्खर सानो घर बनाएको
ऋणकाे भारले टाउको दुखेको छ
छोराछोरीका कलिला रहरहरु
अभावमा कटौति भएका छन्
आङ्गको चिथरो कटौती,
गाँस कटौती, मीठो मसिनो स्वाद कटौती,
अभाव र समस्याका पोकैपोका बगरेल्ती
टुप्लुक्क पाहुना, अब भान्सा कटौति,
टुप्लुक्क आइपुग्छ मेरो लोग्ने,
उसका आँखा डुल्छन,यताउती पाहुना,
अनि मेरो अनुहार
अनि
उसको अनुहारमा अलिकति खिन्नता
थोरै लाचारी झुलुक्क झुल्किन्छ
फेरि सम्हालिन्छ,
ए सानू तिमी ठिकै छौ नि,
म त बाहिर साथीहरुसंग टन्न खाएर आएको,
खाना नथप है,
मेरो सारा अभाव बाँचिदिन्छ
हरेक मुस्किलमा मुसुक्क हाँसिदिन्छ
आमाबाबूको सहारा,
छोराछोरीका बाबू
मेरो जीवनसाथी मात्र होइन
म स्वार्थी हुन सक्दिन
यो समाजको एक जिम्मेवार नागरिक पनि हो मेरो लोग्ने ।
प्रतिकृया दिनुहोस