प्रेरणा

गर्मीमा कुल्फी बेच्ने, जाडोमा बदाम ‘रोग पनि भगाऔं, जीवन पनि चलाऔं’

‘राई मेरो थर, सोलु मेरो घर, काम गरेर खान मलाई के को डर’

काठमाडौं । सोलुखुम्बुका ४३ वर्षीय मनकुमार राई विहान दश बजे कोठाबाट सिजन अनुसार सडकमा कुल्फी, बदाम बेच्न नाच्दै गाउँदै निस्कन्छन् । 

उनी मुटु रोगी हुन् । पेट सुन्निने, ढाड दुख्ने लगायत रोगले च्यापेपछि धेरैथरी औषधी खाँदा पनि निको भएन । डाक्टरले हिँडडुल गर्न सल्लाह दिए ।
त्यसपछि शुरु भयो उनको  नाच्दै गाउँदै, हसाउँदै  बदाम बेच्ने इलम । 

'मुटुमा समस्या भएपछि त्यतिकै हिडेर मात्र त काठमाडौंमा गुजारा चल्दैन । त्यसपछि खाने व्यापारको मेरो इलम शुरु भयो' -राई भन्छन् । 

उनी भन्छन्- 'डाक्टरले हिँडडुलमा अलि बढी ध्यान दिनु, काम पनि त्यस्तै गर्नु भन्नुभएको थियो । त्यसैले हिँडडुल गर्न थालेपछि स्वास्थ्यमा पनि सुधार आयो यो काम हिँडडुल गरेर गर्न मिल्ने भएकोले मलाई डबल फाइदा भएको भएको छ । पहिलो स्वास्थ्यमा सुधार दोस्रो आम्दानी ।' 

दिनमा लगभग १० पाथी बदाम बेच्छन् । दैनिक बाह्र-पन्ध्र सय कमाउँछन् । 

मनकुमार मनका पनि धनी छन् । हामी उनीसँग कुरा गर्दा गर्दै एकजना बदाम शारिरीक असक्त भएकी महिला बदाम किन्न आइन् तर उनले पैसा नलिई बदाम दिए । 

उनी नाच्ने गाउने र हसाउँदै रमाइलो गरेर बदाम बेच्छन् । उनलाई सहयोग गर्ने उनकै भाञ्जा राम राई छन् । जसले बदाम बोक्न सहायता गरिरहेका छन् । 

'शुरु-शुरुमा यसरी कराउँदै हिड्दा धेरैले बौलाहा पागल पनि भने तर मैले वास्तै गरिनँ' उनी सम्झन्छन् । 'म कराईरहेको हुन्थेँ तर मेरै छेउमा कत्तिले यसको दिमाग खुस्केछ । खुस्केर नाच्दै हिडेछ, भन्थे ।' उनी भन्छन् । 

कपनको मिलनचोक, साततले गणतन्त्रचोक र गल्लीभित्रका सडकमा कराउँदै हिड्ने उनी बिहान १० बजेबाट बेलुकी ५ बजेसम्म व्यस्त हुन्छन् । कलेजका विद्यार्थी रमाइलो मानेर किन्न आउँछन् । परिवार आफन्तहरुले पनि राम्रो मानेका छन् ।

उनी हाँस्दै भन्छन्- 'स्वास्थ्यलाई पनि ठीक हुने, आम्दानी हुने भएकाले नाम दामसहित चर्चित पनि भएका छौ धेरैले चिन्छन तिमीलाई भनेर बधाई दिन्छन् आफन्तहरुले सबैले । झन् तपाईँहरुको अनलाईनमा समाचार र भिडियोमा आएपछि त धेरैले चिन्छन नि ।' 

पार्क चोक लगायत भीडभाडमा किन नगएको भन्ने जिज्ञासामा उनी भन्छन् -'पार्क तथा ठूला चोकमा बढी भीड हुने हुँदा मेरो आवाज पनि कसैले सन्दैन । सबैलाई काममा कता कता कुद्नै भ्याई नभ्याई हुन्छ । गाडी तथा धुलो धुँवाभन्दा भित्री गल्ली ठीक छ भनेर यही क्षेत्रमा सक्रिय छु।'

 

तपाईँको मत