गाउँ सहर

पोखरामा गाेवर्द्धन पूजा र भिन्तुना र्याली

  • २२ कार्तिक बिहीबार, २०७५ | २०:३४:०० मा प्रकाशित
सामूहिक गाेवर्द्धन पूजा गुल्मी, रासस ।

पोखरा । यमपञ्चकको चौथो दिन आज बिहानैदेखि पोखरामा पनि गाेवर्द्धन अर्थात् गाईतिहार धार्मिक एवम् सांस्कृतिक विधिपूर्वक मनाइँदैछ । 

आँगन लिपपोत गरी गाईको गोबरको गाेवर्द्धननाथको प्रतिमा बनाएर पूजा गरिन्छ । त्यसपछि गाेवर्द्धन अर्थात् गिरिराज पर्वतलाई प्रसन्न गर्न अन्नकुट (प्रसाद)को भोग लगाउने परम्परा छ ।आजकै दिन किसानले आ–आफ्ना गाईगोरुलाई नुहाई तेल लगाएर सिँगार्ने गर्छन् । त्यसपछि गाईगोरुको विशेष पूजाका साथै हलीको पनि पूजा गर्ने गर्छन् । 

द्वापरयुगमा भगवान् कृष्णले गोकुलवासीले इन्द्रको पूजा गरेको देखेपछि आफ्नी आमासँग इन्द्रको पूजा किन गरिएको जिज्ञासा राखे । उनकी आमाले इन्द्रले वर्षा गराउँछ, सो कारणले अन्न उत्पादन हुन्छ र चारैतिर हरियाली छाउने भएकाले इन्द्रलाई खुशी पार्नका लागि पूजा गर्ने गरिएको जानकारी गराइयो । 

यसको प्रतिउत्तरमा भगवान् कृष्णले गाईगोरुहरु गाेवर्द्धन पर्वतमा चर्ने गरेकाले सो पर्वतको पूजा गर्नुपर्ने सुझाव दिएपछि गोकुलवासीले इन्द्रको पूजा छोडेर गिरिराज पर्वतको पूजा गर्न थालेको मद्यदेवी भागवतमा उल्लेख गरिएको छ । 

त्यसपछि इन्द्र रिसाएर गोकुलमा घनघोर वर्षा गराउन थालेपछि भगवान् कृष्णले हत्केलामा गोवद्र्धन पर्वतलाई उठाएर गोकुलवासीलाई वर्षाबाट जोगाएका थिए । 


भिन्तुना र्याली 

नेपाल संवत् ११३९को अवसरमा नेवा खलः कास्कीले आज पोखरामा भिन्तुना र्यालीसहित नगर परिक्रमा गरेको छ । प्रत्येक वर्षझैँ यस वर्ष पनि विभिन्न नृत्य बाजाका साथै झाँकीसहित पोखराको टुँडिखेलबाट शुरु भएको सो र्याली नेवा छेँ भीमसेन टोलमा शुभकामना सभामा परिणत भएको थियो । 

सो अवसरमा संस्कृतकर्मी तीर्थ श्रेष्ठले नेपाल संवत् नेपाली जनताको छोराको संवत् भएका कारण यसलाई कामकाजको संवत् बनाउनुपर्नेमा जोड दिए । नेपाल संवत् राष्ट्रिय विभूति शङ्खधर साख्वाले चलाएका हुन् । साख्वाले काठमाडौँ, ललितपुर र भक्तपुरका जनताको ऋण तिरेर सो संवत् चलाएका हुन् । रासस

तपाईँको मत