दृष्‍टिकोण

गृहकार्य र चाडपर्वः अभिभावक केन्द्रित की विद्यार्थी ?

व्यवहारिक भन्दा देखावटी

123RF.com

काठमाडौँ । यति लामो, करिब १ महिना विदा भएको छ विद्यालयमा । दशैँ सबैलाई अब केही दिन अझै लाग्छ । यो बिचमा बच्चाहरुले लगभग पढाईको अवस्था विर्सिसकेका हुन्छन् । झण्डै एक महिनालाई तार्गेट गरेर विद्यालयले गृहकार्य पनि दिएका हुन्छन् । त्यो अहिले विद्यार्थीहरुले हेर्नसम्म भ्याएका छैनन् । पछि झगडा गरेर पूरा गर्ने गरिएका उदाहरणहरु हामीमाझ छन् ।

शिक्षा राज्यको अभिन्न अंग हो । शिक्षाको मुख्य काम देशका नागरिकहरुलाई प्रशिक्षण गर्नु वा शिक्षित बनाउनु हो । अशिक्षित मानिसको जीवन अन्धकारमय हुने भएकोले मानवीय जीवनमा शिक्षाको अतुलनीय महत्व रहेको हुन्छ ।

शिक्षा विनाको जीवन अपुरो, अधुरो, अप्ठ्यारो हुन्छ । औपचारिक रुपमा होस अथवा अनौपचारिक रुपमा शिक्षा मानवीय जीवनमा अनिवार्य बनाएकोमा दुई मत छैन । यो अनिवार्यताकाबीच एउटा प्रश्न घरघरमा उठेको छ, विदाको समय र शैक्षिक संस्थाका प्रयासहरु सम्बन्धमा ।

चाडवाडको विदा र पढाईबीचको तालमेल नमिलेर विद्यालय, विद्यार्थी र अभिभावकहरुको जुहारी चलेका घटनापनि समाजमा नौला रहेनन् । एक त वर्षदिनको चाडपर्व र संस्कृति केटाकेटीले बुझ्नु अत्यन्तै आवश्यक छ । यो कुरा विचार नगरी विद्यालयले गृहकार्य दिएको पनि छन् । यस्ता विदामा गृहकार्यपनि चाडपर्व र संस्कृतिसँग मिल्ने दिँदा दुबै पक्षलाई फाइदा पुग्ने कुरालाई अझैपनि बुझ्न सकिएको छैन ।

पढाई र सिकाईबीचमा फरक कुरा हुन् । यसकारण विद्यार्थीलाई सिकाईमा अभिप्रेरित गर्नु सबैको जिम्मेवारी हो । गृहकार्यलाई टाउको दुःखाईको विषय बनाउनु हुँदैन । तसर्थ, चाडवाड केन्द्रित गृहकार्यले विद्यार्थीलाई रमाउँदै, व्यवहारिक ज्ञानलाई खातामा उतार्नमा मद्यतकारी हुन्छ । गृहकार्यको भारी बोकाएर भन्दापनि रमाएर गृहकार्यप्रति उत्तरदायी हुने अवस्था आउन सक्नुपर्छ । अधिकांश गृहकार्य विद्यार्थीको लागि भन्दापनि अभिभावकको लागि दिइएको हुन्छ । यसले न विद्यार्थीको शैक्षिक वृद्धि हुन्छ न विद्यालयको गुणस्तर । केवल अभिभावकको टाउको दुःखाई !

नेपालको शिक्षा प्रणाली र परम्पराका कारण बालबालिकाहरुले पीडा बढी भोग्नुपरेको कसैबाट छिप्दैन । साना बच्चाहरु दवाबमा प्रतिशत भन्दापनि रमाउन, खेल्दै सिक्न गएका हुन् । यसकारण दशैँ तिहार जस्ता पर्वहरुमा घोकन्ते र नौला गृहकार्य भन्दा व्यवहारिक समाज र चालचलनका गृहकार्य दिँदा बच्चाले रमाईरमाई र खेल्दै गृहकार्य सम्पन्न गर्दछन् । जसले न विद्यार्थीलाई भार पर्छ न अनुत्पादक पढाई हुन्छ । विदाको दिनमा गृहकार्यको भारी बोकाउनुभन्दा समय र परिवेशनुसारको गृहकार्य शैक्षिक संस्थाले दिनुपर्दछ ।

दशैँ र तिहार अनि छठसँग सम्बन्धित प्रश्नावली, चित्र, जमरा, दुर्गा भगवान, भाइटिका, देउसीभैलो सूर्य आदिजस्ता विषयसँग सम्बन्धित गृहकार्यले स्थानीय परम्परा, ज्ञानको सदुपयोग गर्ने अवसर प्राप्त हुन्छ । अनिमात्र विद्यालयलाई गृहकार्यको भारी बोकाउने भन्दा उत्पादक र व्यवहारीक गृहकार्यको थालनी गरेकोमा सम्पूर्ण अभिभावकले स्याब्बासी दिनेछन् । शिक्षा भनेको थाहा पाउनु हो । यसले ज्ञान दिन्छ । यस प्रकारको मूल्यवान वस्तुको उपयोग प्रणाली र यसको प्रभावकारितालाई ध्यानमा राखी यसको उपयोग गर्ने विषय मुख्य चुनौती हो । अहिलेको प्रमुख आवश्यकता भनेको व्यावहारिक, व्यावसायिक तथा सीपमूलक शिक्षातर्फ ध्यान दिनु हो । 

विद्यार्थीको सिकाई उपलब्धिमा निजि विद्यालयको भन्दा सामुदायिक विद्यालय कमजोर देखिएको छ । सिकाइको विभिन्न स्तरमा विद्यार्थीको प्रतिशत मापन गर्दा समग्रमा सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको तुलनामा निजि विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सिकाइ  उपलब्धि उच्च देखिएको घटना ताजै छन् । यो कुरालाई मध्येनजर गर्दै अबका आधुनिक शिक्षण संस्थाले विचार पुर्याउन सकेनन भने विद्यार्थीले गृहकार्य भन्नेवित्तीकै कान ठाडो र डराउने अवस्था आइनै रहनेछ । यसतर्फ सचेत रहनु आवश्यक छ ।


 

तपाईँको मत