दृष्‍टिकोण

दशैँ, स्वास्थ्य अनि मदिरा, डा. मिलन प्रकाश के भन्छन् !

एकथरी खाँदै नखाने, अर्काथरी केही मात्रामा दिनहुँ खाने सल्लाह दिन्छन्

Grande Page

‘डाक्टरसाब ! म त रक्सी खान्नँ, कहिलेकाँही बियर मात्रै हो ।’

‘डाक्टरसाब ! दिनहुँ अलिअलि रक्सी त मुटुलाई राम्रो भन्छन् नि होइन ?’

डाक्टरसाब ! म त पिउने भनेको विदेशी मात्रै हो, लोकल त मुखैमा हाल्दिनँ ।’

हामी डाक्टरहरुले यस्ता कुरा दिनहुँ सुन्नुपर्छ । हाम्रो समाजमा रक्सीको बारेमा अनेकौँ भ्रम छन् । डाक्टरहरुको दुइथरी भनाइ अगाडि आँउछ । एकथरी खाँदै नखाने सल्लाह दिन्छन् भने अर्काथरी केही मात्रामा दिनहुँ खाने गरेमा शरीरलाई फाइदा नै गर्छ भन्छन् । बिरामी पनि अलिअलि खाने बानीले राम्रै गर्छ भन्ने सल्लाहको पछि लाग्छन् तर त्यो अलिअलि कति हो धेरै कमलाई मात्र थाहा हुन्छ । मैले दैनिक चेकजाँच गर्ने सिलसिलामा आफूलाई नियन्त्रणमा राखेर पिउने बानी भएका करीब पाँच प्रतिशत बिरामी मात्र भेटेको छु ।

मदिरा भनेको अल्कोहलयुक्त पेय पदार्थ हो । हामी सबैलाई थाहा भएकै कुरा हो, मदिरा सेवन गर्नुहुँदैन, यसले स्वास्थ्यमा नराम्रो अस गर्छ । तर मानिसको स्वभाव, हानी गर्छ भन्ने जान्दाजान्दै पनि सेवन गर्नैपर्छ । कहिले थकाइ लागेर, कहिले तनाव भएर, कहिले प्रगति भएर, कहिले अरुको मन राख्न, कहिले चाडबाड परेर । चाडबाड, भोजभतेरमा त रक्सीको उपस्थिति नै आफ्नो स्ट्याटस् को पहिचान बन्छ ।

ह्विस्की, वाइन, बियर, भोड्का, लोकल, रम, जीन जे पिएपनि सबैमा अल्कोहलको मात्रा भइहाल्छ । कुरा प्रतिशतको मात्रै हो र प्रतिशत बोतलमा उल्लेख गरिएको हुन्छ । कुनैमा बढी त कुनैमा कम । ह्विस्कीमा अल्कोहलको मात्रा झण्डै ४० प्रतिशतको हाराहारीमा हुन्छ भने वाइनमा १२ र बियरमा ५ प्रतिशत ।

हरेक कुराको केही न केही राम्रो र नराम्रो पक्ष भएझैँ यस्ता अल्कोहोलयुक्त पेय पदार्थका पनि केही राम्रा र नराम्रा पक्ष छन् । अहिलेसम्म भएगरेका अध्ययन अनुसार वाइन पिउनु स्वास्थ्यको लागि राम्रो मानिन्छ । तर, यसको फाइदा यसमा रहेको अल्कोहलको कारणले होइन, यसमा प्रयोग हुने अँगुर तथा अन्य फलफूलको रसले हो । यस्ता फलफूलको रसमा पाइने विभिन्न फ्लावेनोइड्स तथा एन्टिअक्सिडेन्टले शरीरलाई फाइदा गरिरहेको हुन्छ, जुन कुरा नियमित फलफूल खानाले पनि प्राप्त हुन्छ ।

अल्कोहोलको मुटुमा राम्रो असर भनेको यसले रगतमा हुने कोलेस्टेरोलमध्ये राम्रो कोलेस्टेरोल एचडिएलको मात्रा बढाइदिन्छ । तर, यसको अर्थ एचडिएल बढाउन रक्सी खानैपर्छ भन्ने होइन। दिनहुँ व्यायाम गरेमा पनि यसको मात्रा बढेर जान्छ । रक्तचापलाई कम गर्ने, तथा रक्तनलीमा रगत जम्न नदिने यसका अन्य राम्रा पक्ष हुन् भने सिफारिस गरिएभन्दा बढी सेवनले रक्तचाप बढाउने, कलेजो खराब गर्ने, मोटोपना बढाउने, दिमागको पक्षघात गराउन सक्छ । मुटुको चालको गडबडी तथा मुटुको मांसपेशीको रोग कार्डियोमायोप्याथी पनि रक्सीको अत्यधिक सेवनले गराउन सक्छ, जसलेण् मानिसको मृत्यु पनि हुनसक्छ ।

कति हो त स्टान्डार्ड ड्रिंक्स ?

नेशनल इन्स्टिच्युट अफ अल्कोहल अब्यूज एण्ड अल्कोहलिज्मका अनुसार १४ ग्राम अल्कोहल रहेका कुनै पनि पेय पदार्थलाई स्टान्डर्ड ड्रिंक्स भनिन्छ । अमेरिकन हार्ट एसोसिएसन तथा अमेरिकन डाइबिटिज एसोसिएसनका अनुसार ह्विस्की, स्पिरिट, आदि ४५ मिलि, बियर ३४० मिलि, तथा वाइन, साइडर १४० मिलि स्टान्डर्ड ड्रिंक्स हो भन्ने मान्यता रहेको छ । त्यसैगरी मदिरा सेवन गर्नेलाई अनुशासनमा बसेर ४५ वर्षमाथिका स्वस्थ शरीर भएका महिलाहरुले दैनिक एक तथा पुरुषहरुले दिनको दुई स्टान्डर्ड ड्रिंक्स पिउन सकिने तथा भने शुरु गरिनसकेकाहरुलाई शुरु नै नगर्ने सल्लाह दिइने गरिन्छ ।

मदिरा र मुटुरोग

अमेरिकन हार्ट एसोसिएसनको वेबसाइटमा उल्लेख गरिएको एक अध्ययनअनुसार माथि उल्लेखित स्टान्डार्ड ड्रिंक्स गर्ने मानिसभन्दा अल्कोहल सेवन नगर्ने मानिसको मृत्यु मुटुरोगको कारण बढी भएको पाइयो । अध्ययनमा दिनमा २ स्टान्डर्ड ड्रिंक्सभन्दा बढी अल्कोहल सेवन गर्ने मानिसको मृत्यु नपिउने मानिसहरुभन्दा बढी भएको पाइयो ।

तर मुटुरोग भएका बिरामीहरुले मदिरा सेवन गर्दा मुटुको चाल गडबडी हुने, रक्तचाप अनियन्त्रित हुने, मुटुको काम गर्ने क्षमता कमजोर हुने आदि समस्या आउने भएकोले मदिराबाट टाढा रहन सल्लाह दिइन्छ ।

मदिरा र मधुमेह

मधुमेहका बिरामीले मदिरा सेवन गर्नुपूर्व धेरै कुरा विचार गर्नुपर्छ । अमेरिकन डाइबिटिज एसोसियसनले सल्लाह दिएअनुसार रगतमा सुगर अनियन्त्रित छ भने मदिरा सेवन वर्जित छ । एकदुई ड्रिंक्सले बिरामीको रगतमा सुगरको मात्रा बढाइदिन्छ भने धेरै पिएमा सुगरको मात्रा धेरै नै कम गराइदिन सक्छ । मदिरा सेवन गरेपछिको २४ घण्टासम्म पनि यसले रगतमा सुगरको मात्रा कम गराउनसक्छ । रगतमा सुगरको मात्रा चाहिने भन्दा कम भएमा मानिसको मृत्युसमेत हुनपुग्छ ।

त्यसैले मदिरा सेवन गर्नुपूर्व सुगरको मात्रा आवश्यकभन्दा कम छ कि हेरेर मात्र सेवन गर्नुपर्छ । मदिरा सेवन गरेको बेला रगतमा सुगरको मात्रा १०० देखि १४० भित्रै राख्नुपर्ने अमेरिकन डाइबिटिज एशोसियसनको सल्लाह छ । त्यसैले सुगरको बिरामीले मदिरा सेवन गर्दा कहिल्यै पनि खालीपेटमा नगर्न र खानासँगै सेवन गर्न सल्लाह दिइन्छ । शरीरमा सुगर कम हुँदा देखिने लक्षणहरु जस्तै मुटुको ढुकढुकी बढ्ने, पसीना आउने, चक्कर आउने, बेहोस होला जस्तो हुने तथा हात काम्ने आदि बारे बिरामीलाई पूर्ण जानकारी हुनुपर्छ । मदिरा सेवन गर्दा विस्तारै सेवन गर्न र डाइट सोडा वा पानीसँग मिसाएर मात्र सेवन गर्नुपर्छ ।

बियर तथा वाइन जस्ता मदिरामा हुने गुलियोपना तथा क्यालोरीले रगतमा सुगरको मात्रा अनियन्त्रित गरिदिन्छ, वजन बढ्न मद्धत गर्छ । मदिराले भोक धेरै जगाउने भएकोले खानामा नियन्त्रण गर्न गाह्रो पर्न जान्छ । फलस्वरुप रगतमा सुगरको मात्रा बढ्छ । मदिराको सेवनले रक्तचाप तथा रगतमा कोलेस्टेरोल, खासगरी ट्राइग्लिसेराइड बढाइदिन्छ । यी सबै नकारात्मक असरहरुले अन्तमा असर पार्ने भनेको मुटुमै हो ।

हाम्रो समाजमा जनचेतनाको कमी हुनाले मानिसहरु स्वास्थ्यप्रति गम्भीर भएको पाइँदैन । आफूलाई लागेको रोग, त्यसका लक्षण, आकस्मिक अवस्थामा घरमै गर्नसकिने उपचारहरुबारे जानकारी, खानासम्बन्धी आवश्यक जानकारी आदिको अभाव हुनाले सुगरका बिरामीले पनि मदिरा सेवन नगर्नु नै हितकारी देखिन्छ ।

मासु, मदिरा र दशैँ

दशैँमा मासुसँगै मदिरा अनि चिल्लो, पिरो, मसालेदार खानाहरु धेरै खानाले स्वस्थ मानिसपनि अस्वस्थ भई अस्पताल दौडिने गरेको पाइन्छ । त्यसैले खानपानमा सचेत हुन जरुरी छ । खानेकुरा खाँदा अलिअलि गरेर धेरैपटक खानु राम्रो हुन्छ भने सागपात र फलफूलसहितको सन्तुलित खाना खान जरुरी छ । अत्यधिक चिल्लो, मसालेदार बोसोयुक्त खानाले ग्याष्ट्रिक, अपच, आदि हुन्छ भने बासी खाना, काँचो मासु खानाले फुडप्वाइजन गराउनसक्छ । मसलाको प्रयोग कम गरिनुपर्छ । रातो मासु अनि मदिराको अत्यधिक सेवनले रगतमा कोलस्टेरोल तथा युरिक एसिड बढ्ने हुनाले मासु खाँदा चारखुट्टे जनावरको भन्दा कुखुरा, हाँस तथा माछा खानु राम्रो हुन्छ । सफ्ट ड्रिंक्समा हुने अत्यधिक गुलियोले पनि मोटोपना बढाउने, तथा रगतमा ट्राइग्लिसेराइड बढाइदिने भएकोले यस्ता पेयभन्दा पानी पिउनु राम्रो हुन्छ । 

स्वस्थ मानिसले मदिरा सेवन गर्ने नै हो भने पनि माथि उल्लेखित मात्राको विचार गर्नु जरुरी हुन्छ । मुख्य कुरा आफूमाथि नियन्त्रण हुनु जरुरी हुन्छ ।

धूम्रपान, मदिरापान रहित स्वस्थ दशैँको लागि हार्दिक मंगलमय शुभकामना ।

डा. श्रेष्ठ मुटुरोग विशेषज्ञ, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी काठमाडौंमा कार्यरत छन् ।

तपाईँको मत