दृष्‍टिकोण

शैली फरक तर उही पर्व ‘दसैं’

धेरैको निधारमा रातो टिका र कानमा पहेँलो जमरा

नेपाली समाजमा दसैं मनाउने तरिका समाज र समुदाय अनुसार फरक फरक छ । दशैंका बेला धेरैको निधारमा रातो टिका र कानमा पहेँलो जमरा देखिन्छ । तर, दसैँ एकै नासको सबै वस्ती, क्षेत्र र समुदायमा हुँदैन ।

पूर्वमा रातो टिका अक्षता सहित पूर्णिमासम्म लगाइन्छ भने पश्चिममा टिकाको दिनमात्र लाउने चलन छ । त्यस्तै जनजाति समुदायमा सेतो टिकाको प्रचलन छ ।

मधेसी समुदायमा भने देवीको पूजापछि अक्षताविना नै रातो टिका र फुलपाती लगाइन्छ । मधेसमा शक्तिपीठ तथा दुर्गा पूजास्थलहरूमा श्रद्धालुको भीड लाग्ने गर्छ  ।

बडादसैंको अवसरमा स्थानीय युवाहरू शक्तिपीठहरूको शृंगारपटारमा खटिन्छन् ।  शक्तिपीठहरूको शृंगारपटारमात्र होइन, मेला तथा बोका बलिको व्यवस्थापन गर्दै आएका छन् ।बडादसैंमा  २ हजार अधिक स्वयंसेवक परिचालन हुन्छन् । यी शक्तिपीठहरूमा बिहान ३ बजेदेखि श्रद्धालुहरूको लाम लाग्न सुरु हुन्छ जो बिहानको १० बजेसम्म चल्छ । मिथिलामा स्थानीय सर्वसाधारणको आर्थिक सहयोगमा दसैं महोत्सवमा आयोजना गरिन्छ ।

आदिवासी जनजातिको  वस्ती रहेका क्षेत्रहरुमा निधारमा सेतो टिका र पहेलो जमरा लगाएका मानिस जततातै देख्न पाईन्छन् ।

आदिवासी जनजातिले दसैं मनाउने कि नमाउने भन्ने विषयमा अहिले पनि थुप्रै बहस चलिरहेका छन् । दसैं हाम्रो पर्व हुँदै होइनन्, देखी हाम्रो असली पर्व दसैं हो भन्नेसम्मका मत आइरहेका छन् । जसले जे भने पनि उहिलेदेखी दसैं मान्ने आदिवासी जनजाति थुप्रै छन् ।

उनीहरुले आफ्नै मुल्य मान्यता अनुसार दसैंमा सेतो टिका लगाउने गरेका छन् । आदिवासी जनजातिहरुको हरेक शुभ कार्य गर्दा दहिमा चामल मुछेर सेतो टिका लगाउने चलन छ ।त्यही भएर उनीहरुले दसैंमा पनि दहिमा मुछेकै सेतो टिका लगाउने गरेको धेरैको भनाई छ । ‘आदिवासी जनजातिहरुमा सकभर रातो टिका चल्दै चल्दैन ।’

केही मगरले दशैंलाई आफ्नो चाड नमाने  पनि गोरखा मनकामनाका मगर पूजारीले दशैंको टिका हनुमानढोकामा नपठाएसम्म सर्वसाधारणका लागि टिका खुल्दैन ।

इतिहासमा लेखिए अनुसार १६ औं शताब्दीमा गोरखा जिल्लाको लिङलिङकोट (लिगलिगकोट) का घलेमगरहरुले राजकाज चलाएका थिए । त्यो बाहेक अन्य थुप्रै स्थानमा मगरहरुले ससाना राज्य संचालन गर्थे ।

लिङलिङकोटका मगरहरुले प्रत्येक दशैंमा नयाँ राजा चुन्ने गर्थे । दशैंका दिन लिङलिङकोट भन्दा निकै तल रहेको चेपनदीको किनारबाट दौड सुरु हुन्थ्यो । दौडमा जो प्रथम हुन्थ्यो  त्यो एक वर्षका लागि राजा हुने चलन थियो ।

विसं। १६१६ मा दशैंकै दिनमा द्रव्य शाहले केही मगर र ब्राह्मणसँग मिलेर राजा बन्न दौडिएका मगरहरुलाई षडयन्त्र गरि आफू राजा भएकाले दसैंमा उनले विजयको प्रतिकको रुपमा रगतको रातो टिका लगाए ।

तपाईँको मत