समाज

जोखिमको मात्रा बढाउँदा भ्रष्टाचार घट्छ : पत्रकार हरिबहादुर थापा

गाउँ सहर डट कम

काठमाडौँ । संस्थागत रुपमै मौलाउँदै गएको भ्रष्टाचार न्यूनिकरणमा कारवाही अर्थात जोखिमको मात्रा बढाउन सके भ्रष्टाचर घट्ने पत्रकार हरिबहादुर थापाले बताएका छन् ।

के एण्ड के बाणी काठमाडौँद्वारा आयोजित ‘राज्य संरचना र भ्रष्टाचार’ अन्तरक्रिया कार्यक्रममा पत्रकार थापाले सो कुरा बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि रहेका थापाले संस्थागत रुपमै भ्रष्टाचार बढ्नाले जनतापनि भ्रष्टाचारको दलदलमा फँसेको उल्लेख गर्दै अन्त्यमा न्याय दिने संस्थाबाटै भ्रष्टाचारीले सफाइ पाउनाले भ्रष्टाचार समूहिक हुँदै गएको बताए ।

उनले भने, ‘सरकार आफैँ भ्रष्टाचारीकरणको बाटोमा गएको छ । यसले गर्दा उसँगै नागरिक दुबै भ्रष्टाचारको दलदलमा पुगेका छन् । सार्वजनिक विषयका कुराहरुमा कारवाही नहुने र भएपनि भ्रष्टाचारले नै मुद्धा जित्ने अवस्थाका कारण आजकल नागरिकको चासो कम हुन थालेको छ । त्यसैले खबरदारी छैन जसका कारण भ्रष्टाचार संगठीत हुँदै गएको छ ।’ 

उनले थपे, ‘पात्र उही भएपनि फरक शैलीमा भ्रष्टाचार मौलाएको छ । तानाशाही मिलाउने, बदनीयत र सुनियोजित रुपमै भ्रष्टाचार बढ्दो छ । यसले विकास धकेलिएको, ठगिएको र अनियमित बनाइएको छ ।’

कार्यक्रममा थापाले डोर बहादुर विष्टको पुस्तक ‘फटालिजम एण्ड डेभलपमेन्ट’ को चर्चा गर्दै देशमा योग्यता, क्षमता र इमान्दारीता हराएको उल्लेख गरे । चाकडी, चाप्लुसी र चुक्ली अझै रहेको बताउँदै पत्रकार थापाले नागरिक दायित्व, सरकारको नियन्त्रण र खबरदारी बढाउन सके भ्रष्टाचार घटेर जाने बताएका थिए ।

कार्यक्रमकाे सुरूवातमा उपस्थितले ५ मिनेट ध्यान गरेर थिए । अन्तरक्रिया हरेक महिनाको दुइपटक हुने कार्यक्रमका सल्लाहकार विमल खड्काले बताए । 
 

तपाईँको मत