दृष्‍टिकोण

कार्यान्वयन फितलो हुँदा युवा नीति कागज र भाषणमै अल्झियो

कृषि क्षेत्रलाई नै बेरोजगार घटाउने कडीको रूपमा स्विकार्नुपर्छ

कोरिया जान भाषा परीक्षा दिन फर्म भर्न युवाहरुको भीड (फाइल तस्बिर)
सरकार भन्छ आऊ युवाहरू हो... आऊ, यो देश समाल्न आऊ... । नयाँ ज्योति बाल्न आऊ ।  युवा देश विकासका  शक्ति हुन् । बल, उर्जा, संवाहक के के पगरी गुथाइएका उपनामले सजाइएका हुन्छन् । तर वास्तविकमा राज्यले केही पहल गर्न नसक्दा भरेको बेलुन जस्तै एकदिन फुस्स हुन्छन् सकिन्छ । युवालाई दिइएको नाम उपनामले केही गर्ने छैन । जबसम्म योग्यता, क्षमता, वातावरण, सीप, पूँजी र अभिभावकत्व रहँदैन उपनाम सबै फिक्का हुन् । व्यवहारमा जतिजा नदेखिएसम्म कुरा, कागजी योजना, घोषणापत्र, प्रतिवेदनको  कुनै अर्थ छैन ।
 
सरकार रहने उच्च पदमा रहनेहरु दिनहुँजसो भन्ने गर्छन्- 'विदेशबाट फर्किएका कामदारलाई फेरी विदेश जान नदिन र विदेशमा रहेका युवाहरुलाई स्वदेश फर्काउन स्थानीय तहले नै सीपको प्रमाणिकरण र स्वरोजगारको वातावरण सिर्जना गर्नुपर्दछ । कामको सम्मानको वातावरण, लगानी गर्न पैसा अभाव, लगानी गरेपछि बजारको व्यवस्थापन र सुनिश्चितता, प्राविधिक समस्याका समाधानका उपायहरु खोजिनुपर्दछ ।' युवा पनि ठ्याक्कै त्यही चाहन्छन् । तर खोइ त व्यवहारमा लागू कसले गरिदिने ?
 
त्यसो त विदेशबाट फर्किएका युवाको सीपलाई प्रमाणिकरण गरेर १० लाख रुपैयाँसम्म ऋण दिने भनेर आर्थिक वर्ष २०७५/७६ को बजेटमा पनि घोषणा गरिएको छ । भन्नलाई सरकारले वैदेशिक रोजगारबाट फर्किएका युवाहरुको सीप, ज्ञान र क्षमतालाई सकेसम्म पूँजीदेखि स्रोतसाधन परिचालन र उपयोग गर्न कुनै कसर बाँकी नराखिने बताइरहेको छ । समृद्ध नेपाल र सुखी नेपाली अभियानलाई पूरा गर्ने अभिभारा युवाको काँधमा छ भन्ने सरकारले युवालाई उद्यमशीलता, स्वावलम्बी र स्वरोजगरा बनाउने योजना खाई ?
 
कामको खोजीमाम दक्ष जनशक्ति बाहिरिँदा स्वदेशमै भने  कामदार अभाव छ । निर्माण क्षेत्रमा मात्र  करिब २ लाख दक्ष कामदार अभाव रहेको व्यवसायीहरु बताउँछन् । जहाँ भारतबाट आएका कामदारहरुको एकलौटी छ । प्राविधिकदेखि साना साना कामसमेत भारतीय कामदारमा भर पर्नुपर्दा वार्षिक करोडौं रुपैयाँ पूँजी विदेश पलायन भइरहेको छ । जोश जागर, बल जति विदेशमा खर्चिएको युवा शक्तिबाट सम्पन्न नेपालको परिकल्पना सम्भव छैन । राज्य पनि रेमिटेन्स भित्रियो भनेर छाति फुलाएर श्रम सम्झौता गरिरहेको छ । दक्षतालाई स्वआर्जनमा उपयोग गरेर देश विकासमा युवालाई  समेटेर काम थाले सम्पन्नतातिर पुग्न समय लाग्दैन तर नेतृत्व तहमा बस्ने सम्वेदनशील नहुँदा हजारौं युवा योग्यता र सीप विपरित काम गर्न विमानस्थलमा लाइन लागेर उडिरहेका छन् । राम्रो अवसरको खोजीमा कति विदेशी भूमिमाा कैदी जीवन बिताउन बाध्य भएका छन् ।
 
सरकार एकातिर युवाको रोजगार स्वदेशमै सिर्जना गर्ने भनिरेको छ भने अर्कोतिर नयाँ-नयाँ मुलुकसँग श्रम सम्झौता गर्दैछ । कतिपय योजना त कागजमै सीमित पनि भए होलान् । धेरै जसो युवामा बढ्दो विदेश मोह, कोही अवसर नपाएर त कोही अवसरको खोजी नगरेर दैनिक विदेशिन बाध्य छन् । तसर्थ अबको स्थायी सरकारले बढ्दो युवा पलायन रोक्न साथै बेरोजगारी समस्या समाधान गर्न निम्न कार्य योजना बनाएर सकिन्छ । 
 
राज्यको रणनीति युवामैत्री नभई तीब्र विकास सम्भव छैन । कति रेमिटेन्स बढ्छ भनेर  हिसाबकिताब गर्ने भन्दा पनि विदेश पलायन युवा शक्तिलाई कसरी रोजगारी दिलाएर रोक्न सकिन्छ भन्नेतिर ध्यान जानु जरुरी छ । युवा बेरोजगार भत्ताको कुरा उठिरहेको छ । यदि राज्यले यो भत्ता दिइहाले पनि क्षणिक आवेग मात्र हुनेछ । त्यसको सट्टा काम गर्ने वातावरण सिर्जना गर्ने, कलकारखाना खोल्न प्रेरित गर्नुका साथै उद्योग धन्दामाा लगानी गर्न आव्हान गर्नुपर्दछ । न्यूनतम ब्याजमा ऋण प्रवाह गर्न सके युवाहरुले स्वरोजगारको लागि अवश्य गर्न सक्दछन् । कृषि, पर्यटन, जलविद्युत क्षेत्रमा लगानी गर्न सकिन्छ । कृषिलाई आधुनिकीकरण गर्न सकिन्छ ।
 
कृषिक्षेत्रमा ठूलो अवसर रहेको कुरा जानकारी गराई उनीहरुलाई यस क्षेत्रमा लागेर अघि बढ्न प्रोत्साहन गर्नुपर्दछ । विभिन्न सीपमुलक तालिमको व्यवस्था सँगसँगै सिकेका कुरालाई व्यवहारमा उतार्न आवश्यक पूर्वाधारको स्थापना तथा विकासमा जोड दिने । विश्वमा बढ्दो औद्योगीकरणलाई मध्यनजर गदैर् विभिन्न उद्योग, कलकारखाना स्थापनामा जोड दिने । युवा वर्ग आफैले पनि आफ्नो स्थानीयस्तरमा भएका अवसरको पहिचान गरी आफूलाई अनुकूल उद्यम, व्यापार, व्यवसाय गर्न सकेको खण्डमा पनि बढ्दो बेरोजगारी समस्यालाई केही हदसम्म कम गर्न सकिन्छ
 
देशले युवालाई विकासको काममा लगाउन सर्वप्रथम  उनीहरुलाई दक्ष बनाउनुपर्छ । हरेक महानगरपालिका, नगरपालिका, गाउँपालिका र गाविसले पनि युवालाई दक्ष बनाउने खालको कुनै कार्यक्रम ल्याएर निश्चित योजना बनाएर लागू पनि गर्नुपर्छ । उचित पारिश्रमिक नभएर अर्कै  देशमा बसेर काम गर्नुपर्ने बाध्यता छ । उचित पारिश्रमिक पाउने प्रबन्ध मिलाइदिनु पर्छ । युवामा आफ्नो देशमा बसेर केही गर्न सकिँदैन भन्ने उनीहरुको भनाइ रहेको छ । त्यसैले विचार परिवर्तन गरेर यसमा पनि सकारात्मक बन्न सक्नुपर्छ । जुनसुकै क्षेत्रमा आधुनिकीकरण गरेर आर्थिक विकास गर्न सकियोस् भन्ने युवाको चाहना छ ।
 
नेपाल एक कृषिप्रधान देश हो । नेपाली युवा दिनदिनै विदेशिने क्रम बढिरहेको छ । यसको समाधान गर्नु नेपाल सरकारका लागि चुनौती नै हो । युवालाई दक्ष जनशक्ति बनाउनका लागी नेपालको कुनाकुनामा कलकारखाना खोलेर युवालाई एकीकृत गरेर काम गर्नुपर्छ । कृषि सम्बन्धी तालिमको व्यवस्थापन गरी गरिब किसानलाई राहत दिन काम गर्नुपर्छ । केही नगरी बस्ने बानी परेकाहरुलाई पनि उत्प्रेरित गरी दक्ष बनाउन जरुरी छ । उनीहरुको इच्छा बमोजिम राज्यले सीप उपलब्ध गराउन सकेमा युवालाई
दक्ष जनशक्ति बनाउन सकिन्छ ।
 
कुनै पनि राष्ट्रको विकास त्यस देशका नागरिकको कार्यक्षमतामा आधारित हुन्छ । त्यो कार्यक्षमताको विकास वैज्ञानिक, व्यावहारिक र समयानुकूल शिक्षाबाट हुने हो । यस्तो शिक्षा आफ्नै देशभित्र उपलब्ध स्रोतसाधनका साथै विश्वमा बढ्दो प्रविधिको विकास र अन्तर्राष्ट्रिय बजारको खपतलाई समेत मध्यनजर राख्ने हुनुपर्दछ ।
अवस्था, विदेश पलायन, कमजोर मनोबल, जातीय असमानता, विश्वव्यापीकरण र उदारीकरणले ल्याएका नकारात्मक असरले देशमा चुनौती दिनानुदिन चुलिँदै गएको छ । यसका साथै राजनीतिक अस्थिरता र प्राज्ञिक क्षेत्रका नियुक्तिमा समेत राजनीतिक भागबन्डाको आधारमा हुँदासमग्र शिक्षा क्षेत्र नै अन्योलपूर्ण देखिएको छ ।
 
उत्पादित जनशक्ति पनि अनुशासन, राष्ट्रवादी चिन्तन, परि श्रम गर्ने बानी, लोकतान्त्रिक संस्कार र आचरणको अभावमा केवल आफ्नो स्वार्थ सिद्धिमा केन्द्रित मात्र पाइनु देशको लागि ठूलो दुर्भाग्य हो । अनि शिक्षित वर्गमा उत्साह र सिर्जनशीलताभन्दा निराशा र कुण्ठा मात्र देखिन थालेको छ । आज समाजमा देखिएको व्यक्तिवादी चिन्तन र पलायानवादी सोच यस्तै शिक्षाको परिणाम हो । यस परिस्थितिमा राज्यले गम्भीर भएर सोच्ने बेला आएको छ । अहिलेको शिक्षा प्रणालीलाई यथास्थितिमा राख्नु उचित छैन, व्यापक परिवर्तन र सुधारको खाँचो छ ।
 
आफ्नै मौलिकतामा निर्माण भएको विचार वा शिक्षा पद्धतिले राष्ट्रको लागि जति अनकूल प्रभाव पार्न सक्छ त्यति आयातीत विचार वा शिक्षा पद्धतिले पार्न सक्दैन ।
 
नेपालमा कृषि क्षेत्रलाई नै बेरोजगार घटाउने कडीको रूपमा स्विकार्नुपर्छ । कृषि क्षेत्रमा विद्यार्थीलाई आकर्षित गर्ने खालको शिक्षा नीति अवलम्बन गरिनुपर्दछ । कृषिलाई वैज्ञानिक र आधुनिकीकरण गरी शिक्षित बेरोजगार युवालाई देशभित्रै थुप्रै रोजगारका अवसर प्रदान गर्न सकियोस् । शिक्षित मानिसले श्रम गर्न हुँदैन र कृषिमा गएर काम गर्नु राम्रो होइन भन्ने भ्रम अन्त्य गर्नु जरुरी छ ।
 
 
तपाईँको मत