कला

यात्री

ImmerseMe

उ हाँसिरहेको छ,

आफ्नै बर्बादिमा,

त्यसैले आउ ए समाज,

थप दुई चार नयाँ घाउहरु,

रच नयाँ षडयन्त्रहरु,

माकुराको जालोसरि ।

 

किन हच्कन्छौ ?

यहाँ बोल्नेको पिठो बिक्छ ,

गाउँनेको सुर बिक्छ,

नाच्नेको ताल बिक्छ,

त्यसैले बेच आफुलाई,

अनि थप केही नयाँ घाउहरु उसलाई,

उ हेरिरहनेछ,

उ हाँसिरहनेछ ।

 

समाजवादले खोकृएको,

सभ्यताले लत्याइएको,

जुनकीरीझैँ  कहिले बल्ने, कहिले निभ्ने,

उ एक अस्तित्वहिन मानिस,

आज पुन हाँसिरहेको छ,

आफ्नै बर्बादिमा,

खै काहाँ गए भाग्य  लेख्ने ब्रह्मा ?

इतिश्री गर्ने गणेश ?

दर्शन भट्ट्याउने बुद्ध ?

अहँ छैनन यहाँ कोहि,

न त कहिल्यै भेटिनेछन?

कलियुगले डोर्याएको कुमालेको चक्रमा,

आउ ए समाज,

तिमी आफु पनि भिज,

अरुलाई पनि भिजाउ,

घुम , घुमाउ,

अनि फेरि बुन षड्यन्त्रको जालो,

थप्दै जाउ , एवम् रितले,

किन पालो पर्खन्छौ ?

जाइ लाग एकैपल्ट,

यहाँ विश्रामको आवश्यकता,

न त उसलाई छ , न त उसको समयलाई,

त्यसैले पुन थप्दै जाउ घाउहरु,

उ नतमस्तक भएर हाँसिरहनेछ,

हाँसिरहनेछ,

हाँसिरहनेछ......।।

तपाईँको मत