गाउँ सहर

स्थानीयको विरोध हुँदाहुँदै एनसेल टावर हाल्दै, पीडित हारगुहार माग्दै

ललितपुर । ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ४ (साविकको इमाडोल गाविस) मा स्थानीयको समर्थनबिना नै एनसेल टावर खडा गर्न लागेको छ ।
जग्गा धनी रामेश्वरी खत्रीले टावर निर्माण गर्न एनसेललाई भाडामा दिएपछि सुरु भएको विवाद नमिलाई एनसेलले टावर निर्माण गर्न लागेको हो ।

पुरानो पत्रको आधारमा एनसेलले स्थानीय जनतासँग कुनै छलफल नै नगरी निर्माण सुरु गरेको स्थानीय ध्रुव कटुवालले बताए । उनले भने “हामीले भर्खरै पनि निवेदन दिएका छौँ की स्थानीयको यस स्थानमा टावर निर्माण गर्न कुनै सहमति छैन भनेर, तर वहाँहरुले कुनै छलफल नै नगरी काम अगाडी बढाउनुभयो । यो हेपाहा र अनियमितताको गन्धले काम रोकिएको छैन ।”

०७४/११/२ को पत्रलाई आधार मानेर जग्गा धनी श्री रामेश्वरी खत्रीले टावर निर्माण गर्न सम्झौता गरी एनसेललाई लेखेको निवेदनमा पछिसम्म कोही कसैलाई असर नपर्नेगरी एनसेलको टावर निर्माण गर्न नगरपालिकाले ०७४/१२/२२ मा स्वीकृत दिएको थियो । सो स्वीकृतिमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव बहादुर खड्का र इन्जिनियर प्रशान्त सिंह थापाको हस्ताक्षर छ ।

महालक्ष्मी नगरपालिकाले स्वीकृत दिएपनि अहिले निर्माण सुरुगर्दा सामान्य छलफलसमेत नगरेको निवेदकको ठहर छ । ०७४/१२/१८ गते नगरपालिकामा दर्ता भएको निवेदनमा नगरपालिकाको निर्देशनलाई समेत वेवास्ता गर्दै आफ्नै सम्बन्ध र नातादारीको साक्षी/रोहबरमा मुचुल्का तयार गरी नगरमा दर्ता गरिएको निवेदकको आरोप छ । साक्षीहरु मोहन खड्का, हरेराम वानियाँ, जयराम बानियाँ, विश्वनाथ श्रेष्ठ, वविता तामाङ, उद्धव केसी, उषा नगरकोटी लगायतको हस्ताक्षर छ । वडा साविकका तर्फबाट लक्ष्मण रोक्का वडा अध्यक्ष र कामतामेलीमा द्रोणप्रसाद पनेरु रा.प. अनंकित द्वितियले हस्ताक्षर गरेका छन् ।

कुनै छलफल नै नगरी एनसेलले काम अगाडि बढाएकोले पुनः नगरपालिकामा ०७५/०१/४ गते काम रोकिपाउँ भनेर स्थानीय ध्रुव कटुवाल, उद्धव केसी र कृष्ण तामाङले निवेदन दिए । चिठी नगरपालिकाले बनायो तर ३ दिन बितिसक्दापनि एनसेलमा नपुगेपछि आफैँ चिठी दर्ता गर्न ७ गते निवेदक पुगेको बताए । दर्ता, छलफल र प्रक्रियाले आजित बनेका उनीहरुले वडाध्यक्ष र उपमेयरमाथि आरोपसमेत लगाएका छन् । 

उद्धव केसी उनै हुन जो अघिल्लो मुचुल्कामापनि साक्षी बसेका थिए । तर, हामीले सम्पर्क गर्दा उनले "पहिले वातावरण र संरचनालाई नबुझि सञ्चारको लागि सहमति दिएकै हो तर परिस्थिति बुझेपछि मैले हुँदैन भनेर रोक्नको लागि निवेदन दिएको हुँ" उनले भने ।

यहि विषयलाई लिएर सोही प्रोजेक्ट हेरिरहेका एनसेलका हिमाललाई सम्पर्क गर्दा उनले आफु विरामी विदामा भएको र वहाँहरुले आफू कार्यालयमा रहँदासम्म कुनैपत्र नआएको बताए । उनले भने “यदी वहाँहरुको आपत्ति हुन्छभने हामी काम अगाडि बढाउँदैनौँ ।” तर, सम्पूर्ण कुराहरु पूरा गरेरमात्र टावर निर्माण गरिरहेको उनले बताए ।

वडाअध्यक्ष लक्ष्मण रोक्काले टावर निर्माणमा सामान्य विवाद दखिएपछि पछिल्लो निवेदनउपर छलफल गर्न आज निवेदक, जग्गाधनी, एनसेल, इन्जिनियर र प्रतिनिधिलाई बोलाएकोमा निवेदक अनुपस्थित भएको जानकारी दिए । उनले भने “निवेदकहरु नै अनुपस्थित भएपछि न समाधान हुन्छ न काम अगाडि बढ्छ ।”

स्थानीय टोलसुधार समितिका अध्यक्ष राम बहादुर विष्टलेपनि टावर निर्माणको स्थान उपयुक्त नभएको जिकिर गरे । उनले भने “कम्तिमा पनि असर र प्रभाव पर्नेलाई सोधेरमात्र यो काम अगाडि बढाउनुपर्छ, बाइपास गर्नु हुँदैन, रोग लिने र दिनेमा हाम्रो साझेदारी हुँदैन ।” कोठामा बोलाएर छलफल गरेको राम्रो होइन, समाजमा छलफल गरिनुपर्दछ उनले थपे ।

तर, निवेदक कटुवाल, तामाङ र केसीले भने वहाँहरुको सहकार्य नभएको र कामलाई अहिलेपनि नरोकेपछि हामी मिडियामा आएको बताए । उनीहरु भन्छन् “हामी सही छौँ हामीलाई न्याय चाहियो ।” 

हेर्नुहाेस प्रमाणहरू

तपाईँको मत