अर्थतन्त्र

लगातार दुई वर्षदेखि नेपालको आर्थिक वृद्धिदर उत्साहजनक

कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्य ५.९ प्रतिशत र उत्पादकको मूल्य ६.३ प्रतिशतले वृद्धि हुने अनुमान

काठमाडौँ । केन्द्रीय तथ्याङ्क विभाग (सिबीएस) ले हालै सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/७५ मा कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ५.९ प्रतिशतले र उत्पादकको मूल्यमा ६.३ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । 

विभागले लगातार दुई वर्ष देखि नेपालको आर्थिक वृद्धिदर उत्साहजनक रहेको तथ्य निकाल्दै आर्थिक वर्ष २०७४ मा नेपालको आर्थिक वृद्धिदर ७ प्रतिशत भन्दा माथि रहेको बताएको छ ।

तथ्याङ्कमा विभागले आव ०७४/७५ मा कुल पुँजी निर्माणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ५१.७ प्रतिशत र कुल राष्ट्रिय बचतको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४३.९ प्रतिशत रहने अनुमान गरेको छ । यसको परिणामस्वरुप आर्थिक वर्ष २०७४/७५ मा कुल गार्हस्थ्य उत्पादनसँग स्रोत अपर्याप्तता को अनुपात ७.८ प्रतिशत रहने बताइएको छ । 

आव ०७४ मा विप्रेषण आप्रवाह वृद्धिदर ४.६ प्रतिशत रहेकोमा आव ०७४/७५ मा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले वृद्धि भई रु. ७२९ अर्ब रहने विभागले अनुमान गरेको छ । 

यस्तै ०७३ चैतमा यस्तो मुद्रास्फीति ३.८ प्रतिशत रहेकोमा ०७४ चैतमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३ प्रतिशत पुगेको छ । तरकारी तथा अन्य खाद्य पदार्थको मूल्यमा भएको छिटफुट वृद्धिका कारण उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा केही उच्च रहन गएको तथ्याँकमा उल्लेख छ । यसका वावजुदपनि आव ०७४/७५ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति भने वार्षिक प्रक्षेपण भन्दा कम नै रहने विभागले जनाएको छ । 
वित्तीय क्षेत्रतर्फ समीक्षा अवधिमा कर्जाको वृद्धिदर निक्षेप परिचालनभन्दा लगातार उच्च रहँदै आएको छ । वार्षिक विन्दुगत आधारमा ०७४ चैत मसान्तमा कर्जा प्रवाह १९.५ प्रतिशतले वृद्धि भएको छ भने निक्षेप परिचालनको वृद्धिदर १५.३ प्रतिशत रहेको तथ्याँकले बताउँछ । यसले अद्यापि वित्तीय असन्तुलन रहेको देखाउँछ । तर, आगामी समयमा सरकारको पुँजीगत खर्चमा हुने वृद्धिले वित्तीय असन्तुलनमा सहजता ल्याउने विभागको अपेक्षा छ ।

पछिल्लो आर्थिक अवस्थाको पूर्ण विवरण यहाँ क्लिक गर्नुहोस...।
 

तपाईँको मत