अर्थतन्त्र

बजेटलाई शेयरबजारकाे राताे झण्डा

काठमाडाैं । बजेट सार्वजनिक भएपछि खुलेकाे पहिलाे दिनमै शेयरबजारले राताे झण्डा देखाएकाे छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३-८४ को बजेट सार्वजनिक गरेपछिको पहिलो कारोबार दिन सेयर बजार घटेकाे छ ।

सोमबार नेप्से परिसूचक २६.७२ अंकले घट्दै २,७५५.७२ बिन्दुमा झरेको छ। अघिल्लो कारोबार दिन गत विहीबार पनि नेप्से ४.९९ अंकले बढेर बन्द भएको थियो । सोमबारको बजारमा ३४९ कम्पनीको १ करोड ३३ लाख ८३ हजार ८१६ कित्ता सेयर ६३ हजार ७१९ पटक किनबेच हुँदा कुल ५ अर्ब ६१ करोड ४३ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा समेत गिरावट आएको देखिएको छ ।

आज कालिञ्चोक हाइड्रोपावर र नेपाल रि इन्स्योरेन्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। त्यसैगरी, बुंगल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै १३.२० प्रतिशतसम्मको गिरावट व्यहोरे ।आजको कारोबारमा ३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २३३ कम्पनीको घटेको छ। दुई उपसमूहको परिसूचक बढ्दा ११ उपसमूहको परिसूचक घटेको छ । बजेटले विशेषगरी पुँजीगत लाभकरलाई अन्तिम कर (फाइनल ट्याक्स) को मान्यता दिने घोषणा, गैरआवासीय नेपाली (एनआरएन) लाई दोस्रो बजारमा प्रवेश खुलाउने व्यवस्था, इन्ट्राडे कारोबार र डेरिभेटिभ उपकरण सञ्चालनको तयारी तथा नेपाली कम्पनीलाई अन्तर्राष्ट्रिय पुँजी बजारमा पहुँच विस्तार गर्न ग्लोबल डिपोजिटरी रिसिट (जीडीआर) जारी गर्ने व्यवस्था लगानीकर्ताले सकारात्मक रूपमा लिएका थिए ।

तर बजेट सार्वजनिक भएपछि आर्थिक विधेयकमा उल्लेखित व्यवस्थाले पुँजीगत लाभकर वास्तवमै अन्तिम कर हो वा होइन भन्ने विषयमा नयाँ बहस सुरु गरिदियो । लगानीकर्ताबीच अन्योल बढेपछि अर्थमन्त्री वाग्लेले बजेटपछिको पत्रकार सम्मेलनमार्फत पुँजीगत लाभकर अन्तिम कर नै भएको स्पष्ट पारेका थिए। उनले लगानीकर्ताको मुख्य माग करको दरभन्दा बढी करसम्बन्धी अनिश्चितता अन्त्य गर्नु रहेको उल्लेख गर्दै सरकार त्यसमा स्पष्ट रहेको बताएका थिए । पुँजीगत लाभकरलाई अन्तिम कर (फाइनल ट्याक्स) को मान्यता दिने घोषणा बजेटले गरेपनि पूँजीगत लाभकरको दर भने बढाएको छ । हाल एक वर्षभन्दा बढी अवधिसम्म सेयर होल्ड गर्ने लगानीकर्ताले ५ प्रतिशत र एक वर्षभन्दा कम अवधिका लगानीकर्ताले ७.५ प्रतिशत कर तिर्दै आएका छन्। नयाँ व्यवस्थाअनुसार यो दर क्रमशः ७.५ प्रतिशत र १० प्रतिशत पुग्नेछ ।

सोमबारको कारोबारले लगानीकर्ता अझै ‘पर्ख र हेर’ को मनस्थितिमा रहेको संकेत दिएको छ । बजेटमार्फत घोषणा गरिएका सुधारात्मक कार्यक्रमको कार्यान्वयन प्रक्रिया, पुँजीगत लाभकरसम्बन्धी कानुनी स्पष्टता तथा आगामी मौद्रिक नीतिले बजारको दिशा निर्धारण गर्ने विश्लेषकहरूको भनाइ छ ।

कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो । उक्त कम्पनीको ४३ करोड ४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। त्यस्तै नेपाल रि इन्स्योरेन्सको ३७ करोड रुपैयाँभन्दा बढी र हिमालयन रि इन्स्योरेन्सको करिब २५ करोड ७७ लाख रुपैयाँको कारोबार भयो । रिडी पावरको पनि उल्लेखनीय कारोबार देखिएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत