कला

अस्तायो हरि...

"ओई सुन त"i
"के भयो? भन न।"
"नयाँ कुरा थाहापाईस्?"
"के कुरा?" कौतुहुलताका साथ राधा दीपातर्फ हेर्छे।
"अनि त्यो हरि चिन्छेस् नि?"
"हरि शर्मा?"
"हैन क्या। हामी लम्बे भन्दै बोलाउथ्यौ नि?" राधा अझ प्रस्ट पार्न खोज्दै भन्छे।
दीपा एकछिन टोलाउदै सम्झे जसरी हो मा हो थप्छे "अ.. चिने। के त भन न राधा।"
पधेँरोमा पानी भरिएपछि  दीपा आफ्नो गाग्री अलि वर सार्छे अनि राधातर्फ हेर्दै भन्छे " यस्ता नबोल्नेले किन कुरा कोट्याउनु?"

राधा मुख निन्याउरो पार्दै मलिन स्वरमा भन्छे " लम्बे डाँडा घरको  आँपको बोटमा भेटियो रे।"
"लौ के भन्छे यो? बिहानै केही गतिलो कुरा त सुना न।"
दीपा अलिक सतर्क हुन भन्दै राधालाई भन्छे।
"हो क्या राती नै झुन्डिएछ।" राधा बिस्वस्त पार्दै उत्तर दिन्छे।
"आमुइ नि। लम्बे हरि अल्पायुमा नै के निर्णय लिएछ। बिचरा कति लगनशील अनि दयालु थियो।"
"त्यही त अब गाउकै भलो चिताउने मुन्छे के भएर मर्या होला नि?"
"खै हिड जाउँ गाग्री घर पुर्याएर एकछिन त्यहाँ पुगेर आउँ।" दुबै भरिएको गाग्री कम्मरमा राख्छन् अनि दाहिने हातले गाग्रीको मुख समाएर बिस्तारै उकालो लाग्छन्।

उकालो लाग्दै गर्दा अम्बरेको घर अगाडि एक हुल मान्छे भेला भएको देखेर दुबै एकछिन अडिन्छन् अनि कुरा सुन्छन्। भेलामा खत्री बा भन्दै थिए " बिचरा हरि बाबू सबको गाउँमा भलो चिताउने मान्छे। स्वास्थ्य, शिक्षा अनि समाजमा सधैँ प्रगती देख्न रमाउने मान्छे, सबलाई जीवन बाँच्न सिकाउने मान्छे आज आफैँ ब्रम्हलिन हुन पर्यो।"

अर्का सुबेदार बाजे खत्री बा बोलिसकेपछि भन्दै थिए " गाउँको सम्पन्न परिवारको छोरो, सामाजिक प्रतिष्ठा बोकेको मान्छे अनि धेरै संस्थामा आबद्ध भएका ब्यक्तिको यस्तो अवस्था आउला मैले जीवनमा हरि बाबुले यस्तो गर्लान् भनी कहिले सोचेको पनि थिइन्ँ। "

राधा र दीपा एक अर्काको अनुहार हेर्दै त्यहाँबाट निस्किउँ भन्ने आँखा ले ईशारा गर्छन् अनि अघि बढछन्। अलिक अघि पुग्दा घिमिरेको मिलबाट दीपाको घर जाने दोबाटो आउँछ। "म गाग्री राखी घरको थोरै काम सकाएर १५ मिनेटमा तेरामा आउँछु है राधा" भन्दै घरतर्फ दीपा लम्कन्छे। राधा "म पनि अलिक मेसो मिलाउछु अनि जाउँला" भनि छुट्टिन्छे।

दीपा राधाको घर आईपुग्छे अनिसँगै निस्किन्छन् हरिलाई हेर्न डाँडातर्फ। परबाट हेर्दा अंगुरको झुप्पाजस्तै बाक्लो भिड देखिन्छ। उनीहरु बिस्तारै भिड पन्छाउदै अघि पुग्छन्। होहल्ला अनि गाईगुई धेरै छ। बिचमा भर्खरै हरिलाई तल झारेर सुताएको रहेछ। प्रहरीको निगरानीमा उसलाई तल झारिएको अर्कि एक छिमेकिले राधालाई सुनाईन्।

प्रहरीको वाकिटकीमा आवाज सुनियो "सुर्य साब के रहेछ घटनास्थलको अवस्था। सुसाईड नोट भेटियो?"
पाकेट छाम्दै गरेको वाकिटकी बोकेका प्रहरी वाकिटकीको एक बटन थिच्दै भन्दो भए "रोजर साब... अहिले केही नभेटिएको अवस्था छ साब।"
"ओके.." वाकिटकीमा अन्य के के आवाज सुनिन थालियो बुझ्न सकिएन।
" लौ यो लाशलाई पोस्टमार्टम गर्न सदरमुकाम पठाउने ब्यवस्था गर केटा हो।" सुर्य सर हुकुम दिदै भन्छन्।

"राधा के भएर यस्तो गर्‍या होला नि यो लम्बे ले?"
दीपा हरिको सुकेको मुख आँ... भएको हेर्दै राधासँग बिलाप गर्दो भई।
"राधा नानी ए आयौ तिमी... खै बिहान बिर्खेले खेतमा गाई किल्लामा गाड्न ल्याउदा देखेछ। नहुने दु:ख पाईन् सन्तनु भाउजुले।" त्यही भिडमा उपस्थित राधा कि गाउँ कि दिदी मिरा सुनाउदै थिइन्।

सन्तनु भाउजु त्यहीँ मुर्छा परेर अन्य आफन्तको साहारामा रुखको मुनि ओत लाएर प्राण त्याग्ने हरीको छेउमा बसिरहेकी थिइन्। उनलाई झन कति पीडा भयो होला? अल्पायुमा हरिको निधनले उनको प्राण माकुराको जालोमा अल्झिए झैँ सीमित देखिन्थ्यो। उनीहरुका दुईभाई छोरा जापानमा छन्। आउन समय लाग्ने नै भयो। एउटी छोरी काठमाडौंमा उ आउदैछे भन्ने खबर पाईयो।

छोराछोरीहरु उज्ज्वल भविष्यलाई बिदेशिन हरिले आफ्नो धेरै पैसा खर्च गरेको थियो। तर अन्तिममा उसलाई कसैले पानी ख्वाउन पनि सकेनन्। उसको लाश अब कति समयलाई राख्ने हो  अन्योल छाएको छ। देशको भलो चिताउने असल हरिको यो अवस्था किन आयो विवादस्पद बनेको छ उसको मृत्यु।

किन भयो के कारणले भयो यस्तो घटना सबै गाउँ नै शोकमा छ। हरि बाबुले कुनै न कुनै किसिमले गाउँमा सबैलाई सहयोग गर्ने गर्थे। सबैले भन्थे उनी जस्तो बुद्धिमान, साहसी, अतुलनीय र न्यायिक अन्य कोही पनि छैन। गाउँमा सबै अवाक परि सोच्न बाध्य भएका छन्। आखिर हरी बाबुले यो निर्णय किन लिए भनेर।

तपाईँको मत