गलकोटमा लोपोन्मुख हनुमान नाच प्रदर्शन
- थम्मन थापा
- १८ जेठ आइतबार, २०८२ | १३:२४:०० मा प्रकाशित

बागलुङ । ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको हनुमान नाच गलकोट नगरपालिकामा पहिलो पटक भव्य रूपमा प्रदर्शन गरिएको छ । नेवा खल गलकोटको आयोजनामा गलकोटमा सो नाचको प्रर्दशन भएको हो ।
हनुमान नाच अवलोकन पछि बोल्दै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले हनुमान नाच नृत्य मात्र नभई, ऐतिहासिक, धार्मिक र साँस्कृतिक जीवनशैलीको एक अभिन्न हिस्सा भएको बताए ।
उनले यस नाचले हाम्रो परम्परागत मूल्य, मान्यता र सामाजिक एकतालाई दर्शाउने बताउँदै यसले धर्म, संस्कृति प्रतिको सम्मान बढाउने र नयाँ पुस्तामा मौलिक पहिचानको बोध गराउने उल्लेख गरे ।
गैरेले हनुमान नाचलाई संरक्षण गर्न निरन्तर लागिरहेका कलाकार, गुरु सबै समर्पित व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गर्दै यस नाच तथा मौलिक परम्परा संस्कृति संरक्षणको लागि नगरपालिका प्रतिवद्द रहेको बताए ।
हाम्रो कला र संस्कृति संरक्षण गर्ने दायित्व युवा पुस्ताको भएकाले हनुमान नाच संरक्षणमा युवाहरुलाई अघि सारेको हनुमान नाच संरक्षण परिषद बागलुङका अध्यक्ष तिर्थ श्रेष्ठले बताए । "हाम्रो पुरानो कलाको संरक्षण गर्ने दायित्व हाम्रै हो," श्रेष्ठले भने, "हाम्रो कला संस्कृतिको संरक्षणको जिम्मेवारी युवाहरुको काँधमा छ ।" हनुमान नाचलाई करिब तीन शताब्दी पुरानो लोकसंस्कृतिका रुपमा लिने गरिन्छ । हनुमान नाच लोप हुँदै जान थालेपछि युवा पुस्तामा संस्कृति हस्तान्तरणका लागि तालिम र प्रशिक्षण दिने गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
नेवा खल गलकोटका अध्यक्ष प्रनाथ श्रेष्ठले हनुमान नाँच करिब ३ सय वर्ष पुरानो सांस्कृतिक सम्पदा भएको र यसलाई संरक्षण तथा प्रवर्द्वन गर्ने उद्देश्यले गलकोटमा पहिलो पटक प्रदर्शन गरिएको जानकारी दिए ।
लोपोन्मुख अवस्थामा रहेको हनुमान नाँचले हिजो आजको पुस्तालाई आफ्नो सांस्कृतिक सम्पदा सम्झाउने काम गर्ने र युवा पुस्तामा परम्परागत संस्कृति प्रतिको अभिरुचि बढाउने अपेक्षा गरिएको छ । श्रेष्ठका अनुसार गलकोटमा पहिलो पटक आयोजना गरिएको यो नाँचले स्थानीय संस्कृति, पर्यटन प्रवद्र्धन तथा एकताको सन्देश दिन पनि महत्त्वपूर्ण भूमिका खेल्ने छ ।
हनुमान नाँच अवलोकनमा स्थानीयवासी, विद्यालयका विद्यार्थी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, संस्कृतिप्रेमीहरू तथा विभिन्न समुदायका व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रम नेवाः खल गलकोटका अध्यक्ष प्रनाथ श्रेष्ठको अध्यक्षता, नेवाः खल गलकोटका निवर्तमान अध्यक्ष विरेन्द्र श्रेष्ठको स्वागत र कोषाध्यक्ष श्याम सुन्दर श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस