लघुकथा : 'हराएको खेलौना'
- अनिमेष नीलमकुमार पौड्याल
- १० जेठ शनिबार, २०८२ | ०८:२०:०० मा प्रकाशित

गाउँको सरकारी विद्यालयमा काम गर्ने हेड सर नरनारायण, अजय सर, र पियन मैते—तीनैजनाका छोराहरूको पढ्ने स्कुल अलग भए पनि खेल्ने मैदान एउटै थियो।
हेड सर र अजय सरका छोराहरू हरेक बिहान टाई भिरेर बोर्डिङ स्कुल जान्थे। उता मैतेको छोरो चाहिँ बाबुसँगै सरकारी स्कुल जान्थ्यो।
तर साँझ, बिहान र विदाको दिन—तीनै जना साथी एउटै ठाउँमा भेला भएर खुब खेल्थे।
शनिबार, अजय सरका बाबुआमा घरमा नभएको मौका छोपेर ती तीनजना साथीहरू अजय सरकै घरमा जम्मा भए। अजय सरको छोराले दराज खोलेर त्यहाँ सजाएर राखिएका महँगा खेलौनाहरू बाहिर झिक्यो—रिमोट कार, हेलिकप्टर,गुडिया...सबै पिँडीभरि पसारियो।
दिनभरि उत्साहपूर्वक खेलेर मैतेको छोरो र हेड सरको छोरो घर फर्किए।
साँझ नपर्दै अजय सरका श्रीमान्-श्रीमती घर फर्के। घरभित्र छिर्न नपाउँदै चारैतिर छरिएका खेलौनाहरू देखेर अजय सरकी श्रीमतीको अनुहार तमतमियो।
“यी महँगा खेलौनाको यस्तो हालत! के काम भयो यस्तो भुसुक्केलाई खेलौना किन्नु?” भन्दै थन्क्याउँदै थन्क्याउँदै दराजतिर पुगिन्।
रिमोट कार नदेखेपछि उनको रिस चुलियो।
“पक्कै पनि त्यही भिखारी मैतेको छोराले लिएको हो!” भन्दै हतारिँदै मैतेको घर पुगिन्।
पिँढीमा खेलिरहेको मैतेको छोरोलाई देखेर उनी चिच्याइन्,
“ओइ! भिखारीका छोरा! मेरो छोराको खेलौना कहाँ लुकाइस्?”
मैतेकी श्रीमतीले चकित हुँदै प्रतिवाद गरिन्,
“नहकार्नुस् मेडम, मेरो छोराले आजसम्म कसैको सामान चोरेको छैन। बिना कारण यस्तो आरोप लगाउनु भएन।”
“अझै बहाना बनाउने? उसैले नगरे कस्ले ग-यो?” भन्दै अजय सरकी श्रीमती घरभित्र पसिन् र कसमसाउँदै चेक गर्न थालिन्।
तर कतै पनि रिमोट कार भेटिएन।
घर फर्किएर उनले आफ्नै छोरालाई झर्किंदै सोधिन्, छोराले रोएर जवाफ दिन नपाउँदै चिच्याइन—
“खेल्न दिन्छु भन्दै यस्तो हालत बनाउने? केही बुझ्दैनस्!”
छोरो भक्कानिएर रोयो।
अलि बेर पछि, हेड सरको छोरो हातमा हराएको रिमोट कार चलाउँदै अजय सरको घरमा खेल्न आइपुग्यो।
बागलुङका लेखक पाैड्याल हाल-लण्डनमा छन् ।
प्रतिकृया दिनुहोस