कला

१०९ भरोसाको उज्यालो

“सर, यो मेरो पहिलो सपना- ‘अथक अभिलाषा’! तपाईंलाई समर्पण गर्न पाउनु मेरो जीवनकै गौरव हो,” अभियानले श्रद्धापूर्वक पुस्तक अघि बढायो।

बगैँचाबाट अघि बढ्दै, ऋषभदेव घिमिरेले पुस्तक समाते। आँखामा स्नेह थियो, स्वरमा आशीर्वाद—

“सपना त त्यही हो, जसले अर्को सपना जन्माउँछ। तिमीले सुरु गर्‍यौ, अब पछि नफर्किनु।”

“तपाईंका कविताले मेरा आँखा रसाएका छन्,” अभियानको स्वर काँप्दै थियो, “तपाईंका शब्दहरूले आत्मा छोएका छन्।”

घिमिरे गम्भीर भए, “लेखन मनको बीउ हो। तर फुल्न; सङ्घर्ष र धैर्य चाहिन्छ।”

त्यति बेला उनकी पत्नी चिया लिएर आइन्। हाँसिन्, “अब त अर्को र्याक बनाउनु पर्ला जस्तो छ!”

घिमिरेले चस्मा मिलाउँदै मुस्कुराए, “यी अक्षर होइनन्, आशाका बोट हुन्। कतै कुनै मनले चिया होइन, यी शब्द पिउँछ।”

पत्नी मौन हाँसिन् । शब्दभन्दा गहिरो स्वीकृति बोकी।

ढोका नजिक पुग्दा घिमिरेको स्वर फेरि आयो;

“अब तिमी लेखक हैनौ, आशा बोक्ने मान्छे भएका छौ। किताब होइन, भरोसा बेच।”

बाहिर बिहानको घाम चर्कंदै थियो। झोलाभरि पुस्तक अब बोझ थिएन। त्यो उज्यालो थियो, जसले अरूका मनमा उत्तरदायित्वको बीउ रोप्दै थियो।

(भक्तपुरमा जन्मिएका प्रकाश खड्का ‘अभियान’ हाल अमेरिकाको बोस्टनमा बसोबास गर्दै साहित्य, शिक्षा र सामाजिक सेवामा सक्रिय छन्। ‘अथक अभिलाषा’ मा जीवन, सङ्घर्ष र सामाजिक चेतनाका भावहरू समेटिएका छन्। हाल उनी अनेसास बोस्टन च्याप्टरका वरिष्ठ उपाध्यक्ष तथा मेट्रो वेस्ट संस्थाका महासचिवका रूपमा क्रियाशील छन्।)

 

तपाईँको मत