वर्षाले देशैभरिका विभिन्न राजमार्गहरू अवरूद्ध
- २१ बैशाख आइतबार, २०८२ | ०९:४८:०० मा प्रकाशित

काठमाडाैं । वर्षाले देशैभरिका विभिन्न राजमार्गहरू अवरूद्ध भएका छन् ।
गए रातिदेखि निरन्तर भइरहेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ।
सडक विस्तारका क्रममा रहेको यस सडकको दाउन्ने क्षेत्रमा निरन्तरको वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिन थालेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।
गएरातिदेखि परेको पानीका कारण सडक चिप्लो भएर पूर्ण रूपमा अवरुद्ध हुँदा यो सडक भएर यात्रा गर्ने सम्पूर्ण यात्रुलाई वैकल्पिक सडकबाट यात्रा गर्नसमेत आग्रह गरे।
सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ। रातिदेखि नै बन्द भएको यस सडक वर्षाका कारण आवागमन बन्द भएपछि सवारीसाधनको लाइन लामो हुँदै गएको सूचना अधिकारी नेपालले जानकारी दिए।
कान्ति लोकपथ पनि अवरुद्ध
त्यसैगरी, गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडाबाट काठमाडौँ जाने कान्तिलोकपथ पनि अवरुद्ध भएको छ।
वर्षाका कारण बागमती नदीमा बाढी आउँदा कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रहरीका अनुसार उक्त डाइभर्सन बगाएपछि अज बिहान ६ बजेदेखि नै सवारी साधनको आवतजावत अवरुद्ध भएको हो।
अहिले प्रहरी टोली घटनास्थलमा खटिएको छ र अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। प्रहरीले यात्रीलाई हेटौँडाबाट काठमाडौँ जानको लागि अन्य मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन
भक्तपुर र काभ्रे जिल्ला जोड्ने राजमार्गमा छ लेनको सडक निर्माणमा ढिलाइ भएसँगै काभ्रेको साँगा र भक्तपुरतर्फ आउने सडकमध्ये भक्तपुर खण्ड वर्षाका कारण निकै जोखिम बढेसँगै अरनिको राजमार्ग एकतर्फी मात्र सञ्चालन गर्नुपरेको जनाइएको छ ।
सडकमा सवारीसाधन चिप्लिएर जोखिम बढेपछि काभ्रेबाट भक्तपुरतर्फ आउने सवारीसाधन मात्र साँगबाट आउन दिएको उनले जानकारी दिए । उनका अनुसार भक्तपुर हुँदै काभ्रे जाने दुई पाङ्ग्रेलगायत हल्का चार पाङ्ग्रे सवारीसाधन जगातिबाट च्याम्हसिं हुँदै ताथली–नाला सडकबाट बनेपा निस्कने गरी सवारीसाधनलाई डाइभर्सन गरिएको छ ।
गएरातिदेखिको वर्षाले अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक–जगाति सडकमा आवत जावत गर्न समस्या भएको छ । जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी निरीक्षक प्रदीप खत्रीले वर्षाका कारण भक्तपुरको सूर्यविनायक–जगाति हुँदै काभ्रेपलाञ्चोक जाने निर्माणाधीन सडक एकतर्फी रूपमा सञ्चालन गरिएको जानकारी दिए ।
प्रतिकृया दिनुहोस