अझै चौघेराभित्र थुनिएको श्रमिकको न्यायोचित मूल्य
- सन्तोष सिम्खडा
- १८ बैशाख बिहीबार, २०८२ | ०७:५९:०० मा प्रकाशित

आज मे १, २०२५-१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस। यो दिन पात्रोको क्यालेन्डरमा मात्र सजिएको छैन, यो ती अनगिन्ती श्रमिकको रगत, पसिना र आँसुले लेखिएको अमर गाथा हो। सन् १८८६ मा सिकागोको हेमार्केट चोकमा श्रमिकहरूले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राख्दा उनीहरूको छातीमा गोली दागिएको थियो। तिनै शहीदहरूको बलिदानले यो धर्ती रंगिएको थियो। त्यतिबेला भएको बलिदानले मानव इतिहासमा श्रमको मूल्य र सम्मानको नयाँ अध्याय लेख्यो। आज त्यही स्मरणमा हामी यो दिवस मनाउँदैछौं।
तर, जब हामी ती क्रान्तिकारीहरूको बलिदान सम्झँदै श्रमिक दिवस मनाउँदै गएका छौं, हाम्रो अन्तरमनले केही प्रश्नहरू उब्जाउँछ-के नेपालमा श्रमलाई सम्मान गरिन्छ त? के १२–१४ घण्टा काम गर्ने श्रमिकले सम्मानित जीवन बाँच्न पाउँछन्? विदेशमा ज्यान जोखिममा राखेर पसिना बगाउने नेपाली श्रमिकले राज्यबाट के पाउँछन्-केवल बाकसमा फर्किएको शरीर र भित्तामा झुण्ड्याउने प्रमाणपत्र? महिला श्रमिकको सुरक्षा को जिम्मा कसले लिने? श्रमिकको हकमा बोल्ने संघ–संस्थाहरू पनि कतै राजनीति र स्वार्थमा अल्झिएका त छैनन्? यस्तो अवस्थामा, के हामी साँच्चै श्रमिकको पक्षमा छौं, या श्रमिक दिवस पनि केवल औपचारिकता र भाषणको विषय मात्र बनेको हो? के हामी साँच्चै श्रमिकको मर्यादालाई आत्मसात् गर्छौं?
आज मजदुर दिवसको दिन फेरि फर्किएको छु स्मृतिको त्यो गल्लीमा-जहाँ ठमेलको एक प्रतिष्ठित रेस्टुरेन्टमा म काम गर्थें। तुलनात्मक रूपमा ठमेलका रेस्टुरेन्टहरूमा केही राम्रो भए पनि एउटा चम्किलो रेस्टुरेन्टको उज्यालोले रेस्टुरेन्टलाई चम्काइरहे पनि भित्र काम गर्ने मजदुरहरूको जीवन सहज थिएन। करिब १२ वर्ष म पनि त्यही अन्धकारको एक पात्र थिएँ। त्यहाँ गरिएको कडा परिश्रम अनि श्रमलाई हेर्ने नेपाली र भारतीय ग्राहकको दृष्टिकोण अझै पनि स्मृतिमा ताजै छन्।
सानैदेखि बिद्रोही स्वभावको मलाई त्यहाँ काम सुरु गरेको केही महिनामै तलबमा गरिएको विभेद, न्यून परिश्रमिक लगायत यावत् विषयले मौन बसिरहन मनले दिएन। त्यसपछि सङ्गठनलाई चुस्त–दुरुस्त बनाउने भन्दै मैले अध्यक्षको जिम्मेवारी सम्हालेँ। अध्यक्षको हैसियतमा होइन, पीडितको प्रतिनिधिका रूपमा अगाडि उभिएँ।
श्रम अनि पसिनाको मूल्य माग्दा हामीलाई ‘असहयोगी’ भनियो, सङ्गठनमा लाग्दा ‘राजनीति गरेको’ आरोप लगाइन्थ्यो। तर हामी चुप बस्न सकेनौं। मौनताले हाम्रो अस्मिता मेटिन्थ्यो। सेवा शुल्क हाम्रो तलबको हिस्सा मात्र थिएन, त्यो हाम्रो आत्मसम्मानको मोल थियो, जसले श्रमिकको जीवनमा थोरै राहत ल्याउन सक्थ्यो। यो माग पैसाका लागि मात्र थिएन, यो श्रमिकको आत्मसम्मानको लडाइँ थियो।
१० प्रतिशत सेवा शुल्क ल्याउन हाम्रा सहयोद्धाहरू मिलन मल्ल, माधव पाण्डे, कुमार पन्त, रामप्रसाद दाहाल, चित्र कार्की लगायत सयौंले यो आन्दोलनमा आफ्नो जीवनको महत्वपूर्ण समय अर्पण गरे। मिलनको साहसले हामीलाई हार मान्न दिएन। माधवको बौद्धिक नेतृत्वले हाम्रो मागलाई नीतिगत तहसम्म पुर्यायो। कुमारको संगठनात्मक शक्तिले हजारौं मजदुरलाई एकताको सूत्रमा बाँध्यो। रामप्रसाद र चित्रको निःस्वार्थ सहयोगले हरेक कठिन मोडमा बल दियो।
हामीले सडकमा नारा लगायौं, पटक–पटक मालिकसँग वार्ता गर्यौं। ज्यादै न्यून तलबमा काम गर्ने मजदुरको तलब वृद्धि पनि गरेकै हो। १० प्रतिशत सेवा शुल्क पनि भयो। एक हिसाबले तीन–चार हजारमा काम गर्ने मजदुरको तलब सबै सेवा–सुविधासहित १८/२० हजारसम्म त्यो बेलाको समयमा हुनु चानचुने विषय थिएन, जसले मजदुरको जीविकोपार्जन सहज बनाएको थियो।
तर विडम्बना, केही वर्षअघि न्यायको नाममा सर्वोच्चले त्यो अधिकार खोस्यो। यो फैसला मजदुरको मुटुमा हथौडा बन्यो। मालिकहरूले मेनुको मूल्य १० प्रतिशत बढाए, तर मजदुरको तलबमा एक पैसा वृद्धि भएन। यो आर्थिक शोषण मात्र थिएन, यो हाम्रो भरोसा र सपनामाथिको धोका थियो। राज्य मजदुरको पसिना होइन, मालिकको पक्षमा उभिएको रहेछ भन्ने भयो।
त्यसपछि सुरु भयाे मजदुरको दुर्दशा। आज कयौं साथीहरू होटल–रेस्टुरेन्ट छाडेर विदेश हानिएका छन्। एक साथीले विदेश जानुअघि आँसुले भिजेका आँखाले भने, “दाइ, यहाँ हामीले पसिना बगायौं, तर सम्मान पाएनौं। अब खाडीको मरुभूमिमा पसिना बगाउनुपर्छ।” उनको त्यो आँसु मेरो मनमा गहिरो घाउ बन्यो। यो कथा उनको मात्र होइन, ती हजारौं मजदुरको हो, जो बाध्यताले विदेशिएका छन्।
आज हामीसँगै सहकार्य गरेर आन्दोलनमा साथ दिएका हजारौं साथीहरू खाडी मुलुकहरू—कतार, साउदी, दुबई—र मलेसियामा पसिना बगाउँछन्। तिनीहरूले गगनचुम्बी भवन बनाउँछन्, तर आफ्नै जीवन जोखिममा छ। ५० डिग्रीको चर्को घाम, असुरक्षित वातावरण, न्यून तलब र अमानवीय व्यवहारले तिनीहरूको मन र शरीर थिलथिलो छ। हरेक वर्ष सयौं नेपालीको मृत्यु हुन्छ—कोही दुर्घटनामा, कोही आत्महत्यामा। तिनीहरूको परिवारले बाकसमा लाश र केही पैसा पाउँछ, तर सपना अधुरै रहन्छ। एक साथीले खाडीबाट फोनमा भने, “दाइ, यहाँ हामी मान्छे होइन, मेसिन हौं।” उनको त्यो आवाज मेरो मन रेटिन्छ। यो खाडीको मात्र कथा होइन, यो विश्वभरिका नेपाली श्रमिकको करुण गाथा हो।
पर्यटन क्षेत्रमा दक्ष मजदुर पलायन हुँदा देखिएको समस्या सानो छैन, जुन आफैं साहुहरू भोग्दै छन्। आज दक्ष मजदुरको चरम अभाव छ। नेपालको पर्यटन क्षेत्र आज आन्तरिक विडम्बनाको भुमरीमा फसेको छ—जहाँ चम्किलो होटलको झलमल पछाडि दक्ष श्रमिकको चरम अभावले यो उद्योगको मेरुदण्ड नै भाँचिंदैछ। विडम्बना त के छ भने, श्रमिकलाई न्यून तलब, अपमानजनक व्यवहार र श्रमको कुनै मूल्य नदिएका यिनै साहुहरू आज दक्ष कामदार पाउन कराइरहेका छन्। दक्षता त कतार, दुबई र जापानको भुइँमा खटिएको छ, जहाँ नेपालीले अरूको अर्थतन्त्र सम्हालिरहेका छन्, तर आफ्नै देशमा तिनले उपेक्षा मात्र पाए। अब प्रश्न उठ्छ—कति श्रमिक पलायन भएपछि मात्र नेपालका मालिकहरूले आत्मालोचना गर्छन्? मजदुरलाई दासजस्तै हेर्ने दृष्टिकोण परिवर्तन नगरेसम्म यो अभावको संकट झनै गहिरिँदै जानेछ। पर्यटनको विकास चाहिन्छ भने, पहिले श्रमिकलाई सम्मान दिन सिक्नुपर्छ।
नेपालमा श्रमको मूल्य निर्धारण गर्ने काम अझै पनि जात, पेशा र पहिचानको चौघेराभित्र थुनिएको छ। पसिना बगाएर होटल, रेस्टुरेन्ट, पसल वा निर्माण स्थलमा काम गर्ने कामदारहरूलाई ‘कामदार’ होइन ‘कमस्तरी’ मानिन्छ। एक जना युवक बिहान ७ बजेदेखि राति ९ बजेसम्म थाल माझ्छ, भाँडा पुछ्छ, सरसफाइ गर्छ, तर महिनाको अन्त्यमा उसले पाउने तलबले ऊ बस्ने कोठाको भाडा र खानपानसमेत धान्दैन। न त सेवा शुल्क छ, न त सम्मानजनक व्यवहार। काम गर्ने मानिसको कामको सम्मान नगर्ने देशले कसरी प्रगति गर्छ? समान श्रमको समान मूल्य दिने नीतिको अभावले देशमै टिक्ने वातावरण बन्दैन, बरु त्यही हातहरू विदेश जान बाध्य हुन्छन्। जबसम्म श्रमिकका हातमा श्रमको न्यायोचित मूल्य राखिदिँदैन, तबसम्म देशमा श्रम सम्मानित हुँदैन। सस्तोमा श्रमिक खोज्ने सोचभन्दा अब श्रमलाई मूल्य दिने चेतना ल्याउनुपर्छ।
आज १३६औँ श्रमिक दिवसमा म सम्पूर्ण श्रमिकलाई हृदयदेखि शुभकामना दिन्छु। तपाईंहरूको पसिनाले यो देश बनेको छ। तपाईंहरूको आँसु र बलिदानले हाम्रो भविष्य उज्यालो बन्नेछ। निराश नहुनुहोस्, हाम्रो आवाजले परिवर्तन ल्याउनेछ। सिकागोका शहीदहरूको बलिदान सम्झौं, हाम्रा सन्ततिलाई श्रमको मर्यादा सिकाऔं। अनि श्रमिक दिवसमा कसम खाऔं—हामी श्रमको सम्मान गर्नेछौं, मजदुरको हकहितका लागि लड्नेछौं, र समृद्ध नेपाल बनाउनेछौं, जहाँ हरेक श्रमिकको मुस्कान जीवित रहोस्।
जय श्रमिक! जय एकता!
प्रतिकृया दिनुहोस