‘क्षणिक मोह’
- रमेश सुबेदी
- २४ चैत आइतबार, २०८१ | १९:५६:०० मा प्रकाशित

अचम्म भो ! अचम्म भो ! ठूलो स्वरमा श्रीमान कराएको सुनेर श्रीमती छक्क पर्दै सोधन लागिन् । हैन के अचम्म भो ? श्रीमानले कुनै प्रतिउत्तर नदिए पछि घच्घच्याउँदै बिउँझाई र भनि किन बेस्सरी कराएको ?
आखाँ मिच्दै हँ, होर म कराएँ, के भनेर कराएँ भन त ? श्रीमानको शरीरभरी पसिना पुछ्दै ओहो नराम्रो सपना देख्नु भो कि ? बेस्सरी पसिनाले भिज्नु भएछ । श्रीमतीको आग्रह अनुसार सपनामा जे देखेको सबै भन्छु भन्दै श्रीमानले भन्न थाल्यो ।
यमदूतले दुईतिर समातेर च्याकुन्झ्याँई परेर यमराज सामु पुर्याए र भने । यसले हुलदङ्गा गरेर भाग्दै थियो, ताकेर तातो गोली खुवाएर ल्याएको, अब के गर्ने हजुर ? चित्रगुप्तले वहिखाता पल्टाउँदै भने, प्रभु यसकाे त दुबैतर्फ बराबर छ । स्वर्ग-नर्क कता पठाउने होला ?
यमराजले भने, कता बस्ने निर्णय उसैलाई गर्न देउ । आज्ञा अनुसार एकदिन नर्क र अर्को दिन स्वर्गको सयर गराए ।
पहिले नर्क लगे । मैले मेरा सबै दौँतरी र आफन्त भेट्न पाएँ । दिनभर पुरानो यादमा सङ्गै बसेर दारु र सितन सित मस्त भएँ । अर्को दिन स्वर्ग पुर्याए । त्यहाँ शान्त वातवरणमा भजन कृतन गर्दै मुनि शन्तको सङ्गतले दिन बितेको पत्तै पाइन ।
पुनः दूतले यमराज समक्ष पुर्यायो र मेरो निर्णय के हो भनेर सोधनी भयो । मैले तत्कालै जवाफ दिएँ, स्वर्ग धेरै राम्रो छ, शान्त पनि छ तर मलाई नर्कमा बस्न मन भयो । किन भन्दा नर्कमा मेरो साथीहरुको सामिप्यमा धेरै आनन्द पाउँछु । मेरो ईच्छा अनुसार मलाई नर्कमा छोडियो ।
जब म नर्कको मुख्य द्वारबाट भित्र पसें, देखेर तिनछक्क परें । भित्र अघि मैले देखेको केहि थिएन, उजाड मरुभूमि, साथीहरु खाना खोज्दै भौँतारिरहेका, फोहोर मैला देख्दै मन रोयो । नजिकै रहेको दूतलाई सोधेँ, हिजो त अर्कै दृश्य थियो ।
मेरो कुरो सुनेर दूत हाँस्दै भन्न थाल्यो, चुनावको बेलाको प्रचार प्रसार त देखेकै थियौ होला ? यहाँ पनि हिजो यस्तै अभियान थियो । तिमीलाई फसाउने दिन थियो, लोभिएर फस्यौ । जसको परिणाम तिमीले आज भोट नर्क लाई हाल्यौ ।
लघुकथा: ललितपुर - १३, कुसुन्ती ।
प्रतिकृया दिनुहोस