दृष्‍टिकोण

धर्मशास्त्रले सम्मानित नारीहरू आधुनिक युगमा चाहिँ अझै हेला र हिंसाको पात्र !

‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः

यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः’ (मनुस्मृति ३/५६)

अर्थात् जहाँ वा जुन परिवारमा नारीको पूजा हुन्छ,त्यहाँ देवताको पनि बास हुन्छ र देवताहरू पनि रमाउँछन्। र, जुन घरमा नारीको सम्मान हुँदैन,त्यहाँ गरिएका सम्पूर्ण राम्रा काम पनि निष्फल हुन्छन्।

यहाँ नारीलाई पुज्नु वा नारीलाई सम्मान गर्नुको अर्थ मातृत्वको कदर गर्नु हो, सृष्टिको सम्मान गर्नु हो। हाम्रो घरपरिवारमै रहेका हाम्रै नातागोताभित्रका छोरीनातिनी, आमाहजुरआमा, दिदीबहिनी, भाउजू, पत्नी, प्रेमिका, चेलीबेटीलगायत नारीजनप्रति प्रेमभाव दर्साउनु, उनीहरूसँगै सहकार्य गर्नु हो।

तर तिनै महिला सामन्ती युगको आरम्भसँगै मनोरञ्जनका साधन बने, हिंसाका पात्र बने, सभ्यताको विकासमा पछाडि परे र समाज पुरुषप्रधान बन्यो वा पितृसत्तात्मक।अनि नारीहरू समाजमा निष्क्रिय पात्र बने, जसलाई पश्चवर्ती अबुझहरूले धर्मसँग जोडे र भने, ‘हिन्दूधर्मले महिला विभेद गरेको छ।’ 

हामीले अठार पुराण पल्टाएर  हेर्‍यौं भने जुनै पुराणमा पनि आदिशक्तिको महिमागान नै गरिएको छ। कतै पनि नारीप्रति विभेद गरिएका कथाहरू भेटिन्नन्। कतै भेटिए पनि ती लीला रचेर असुरहरूको विनाशका लागि गरिएका छन्। 

प्रत्येक युगमा जबजब दानवीय शक्तिले दुःख दिए, तबतब तिनै आदिशक्तिले आफ्ना विभिन्न रूपमा तिनको विनाश गरेर देवत्वको रक्षा गरेको पाइन्छ। तिनै आदिशक्तिको रूप नारी हैनन् र ? सत्य, त्रेता, द्वापर कुनचाहिँ युगमा नारीविभेद गरिएको छ ? अथवा नारीलाई कुनचाहिँ पुराणमा अपमान गरिएको छ ? 

जतिबेला मानव सभ्यताको उदय भयो, त्यतिबेलैदेखि धर्मशास्त्रका आधारमा मातृशक्तिको उपासना पद्धतिको सुरु भएको इतिहास साक्षी छ। सृष्टिकालमै प्रजननमा समर्थ शक्तिलाई देवी वा नारीको रूप मानियो र देवीदेवताको जन्म भयो।

भारतीय इतिहासकारहरू यस युगको संसारकै सबैभन्दा पहिलो सभ्यता सिन्धुघाटीको सभ्यता (हडप्पा संस्कृति) लाई मान्दछन्। जुन सभ्यतामा धरतीमातालाई ‘पृथिवीकी रानी’ मानेर पूजा गर्ने चलन थियो र पृथिवीलाई नारीशक्ति मानेर महिलालाई पनि सम्मान गर्ने चलन थियो।

पौराणिक ग्रन्थमा देवताहरूको ‘सर्वोच्च देवत्व’ शक्तिमै निहित रहेको, त्यसैबेला शक्तिलाई सर्वव्यापक तत्त्व मानिएको र त्रिदेव (ब्रह्मा, विष्णु, महेश्वर) लगायत तेत्तीस कोटि देवता आदिशक्तिको उपस्थितिविना क्रियाशील हुनै नसक्ने प्रसङ्गहरू भेटिन्छन्। 

जसले देवीदेवता र प्राणीलाई जन्म दिई शक्तिको सञ्चार गरिन्, तिनैलाई स्त्रीरूपमा कल्पना गरियो र आमाको स्थान दिइयो अनि उनै विश्वशक्तिको नाम भगवती रहन गयो। युगान्तरमा विस्तारै यिनै भगवतीका विभिन्न स्वरूपको उपासना गरिन थालियो। यही क्रममा दुर्गा रूप जन्मियो भनेर शास्त्रमा भनिएको छ।

ती दुर्गाका स्वरूप हुन्– शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री। तिनै नवदुर्गाको नवरात्रमा क्रमशः नौ दिनसम्म पुजा गरिन्छ।

प्रकृतिको सबै ऊर्जा, विकास र विनाश पनि नारी शक्तिमै छ। जुनसुकै घरपरिवारको सुखशान्ति र समृद्धिमा नारीको भूमिका रहन्छ। त्यसकै प्रतीक हो– ‘नवरात्रभर नवदुर्गाको स्वरूप स्थापना गरी पूजापाठ, आराधना, स्तोत्रगान, जपतप गर्नुको तात्पर्य पनि’। हाम्रा अधिकतम चाडपर्वमा नारी शक्तिकै उपासना गरिन्छ। 

जुन पर्वमा देवताको विशेष पूजा गरिन्छ, ती पर्वमा पनि नारीशक्ति सँगै रहन्छन्। विशेष गरी नवरात्र, लक्ष्मीपूजा, सरस्वती पूजा यी मुख्यमुख्य पर्वमा नारीशक्तिकै पूजा गरिन्छ। साथै शिवरात्रि, जन्माष्टमीलगायत पर्वमा पनि शिवसँगै पार्वती, कृष्णसँगै राधाको पूजा आराधना गनुपर्ने शास्त्रीय विधान छ तर व्यावहारिक वा लौकिक परम्परामा चाहिँ हामीले महिलालाई साथ दिएका छैनौं।

मानव सभ्यताको विकासलाई हेर्ने हो भने नारीले अनेकौं पीडा, विभेद खपेर पुरुषलाई साथ दिँदै आएका छन्। धर्मशास्त्रले यसरी सम्मानित नारीहरू आधुनिक युगमा आइपुग्दा हेला र हिंसाको पात्र मात्र बनेका छन्। त्यसैले सबै धर्मशास्त्र, सबै पर्व र सबैको मतलाई मानेर लौकिक व्यवहारमा पनि नारी शक्तिलाई ससम्मान अगाडि बढाउन सकियो भने सभ्यताको विकासले फड्को मार्छ।

तपाईँको मत