हरित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जामा रुपान्तरण
- कृष्ण अधिकारी
- १३ माघ आइतबार, २०८१ | १३:४५:०० मा प्रकाशित

हरित अर्थतन्त्र भन्नेबित्तिकै वातावरणीय दिगोपनलाई प्राथमिकता दिने आर्थिक प्रणाली बुझिन्छ । यसमा आर्थिक विकास र पर्यावरण संरक्षण सँगसँगै अघि बढ्ने नीति समावेश गरिन्छ ।
हरित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जाको रूपान्तरण एक प्रमुख आधार हो, जसले प्रदूषण घटाउँदै ऊर्जा आवश्यकतालाई पूरा गर्छ र दिगो विकासका लक्ष्य हासिल गर्न मद्दत गर्दछ । उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जा रुपान्तरणबाट आर्थिक समृद्धि ल्याउन सकिने भएकाले हालै ल्याइएको ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१ मा पनि विभिन्न सम्भावनाहरुको उजागर गरिएको छ ।
परम्परागत ऊर्जाका स्रोतहरुको प्रयोगबाट वातावरणमा प्रतिकूल प्रभाव पार्नुका साथै जनताको जीवनस्तर अभिवृद्धिमा पनि अवरोध ल्याउँछ । पेट्रोल, डिजेलजस्ता खनिज इन्धनको प्रयोगले वातावरणमा हरितगृह ग्यास उत्सर्जन गर्ने हुँदा यस्ता ऊर्जाका स्रोतहरुबाट उत्पन्न हुने नकारात्मक प्रभावलाई स्वच्छ ऊर्जाका माध्यमबाट घटाउन सकिन्छ । खनिज तथा परम्परागत ऊर्जाको प्रयोगले गर्दा नै आज विश्व जलवायु परिवर्तनबाट सिर्जित अनेक समस्याहरुबाट नराम्ररी प्रभावित बनेको छ । यस शताब्दीकै मुख्य चुनौतीका रुपमा रहेको जलवायु परिवर्तनको प्रभावलाई कम गर्न स्वच्छ तथा नवीकरणीय ऊर्जा प्रयोग अपरिहार्य हुन्छ । स्वच्छ ऊर्जाको प्रयोगले वातावरणीय सन्तुलन कायम राख्न मात्र नभई रोजगारी सिर्जना र स्थानीय स्रोतहरूको उपयोग भई दिगो विकासमा सहयोग पुग्दछ । नेपाल स्वच्छ तथा नवीकरणीय ऊर्जाको ठूलो सम्भावना रहेको मुलुक भएकाले यसको उपयोगबाट आयातित इन्धनमा निर्भरता घटाएर ऊर्जा सुरक्षामा वृद्धि गर्न र मुलुकको अर्थतन्त्रलाई नै बलियो बनाउन सकिन्छ । नेपालको हरित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जाका रूपान्तरणका क्षेत्रहरूमा जलविद्युत्, सौर्य ऊर्जा, बायोग्यास र जैविक ऊर्जा, वायु ऊर्जा, भू–तापीय ऊर्जा, बायोमासजस्ता ऊर्जा स्रोतहरु रहेका छन् ।
ऊर्जा रुपान्तरणको सम्भावना
परम्परागत ऊर्जा र आयातित इन्धनमा नै निर्भर रहँदै आएको नेपालमा पछिल्लो केही वर्षयता ऊर्जा रूपान्तरण विविध क्षेत्रमा भइरहेको छ । देशको भौगोलिक र प्राकृतिक स्रोतहरूको उपलब्धताले ऊर्जा एक प्रकारबाट अर्को प्रकारमा परिवर्तन गरी उपयोग गर्न धेरै सम्भावना प्रदान गरेको छ । नेपाल जस्तो विकासशील देशमा ऊर्जा रूपान्तरणले आर्थिक विकास, ग्रामीण क्षेत्रको विकास र जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्छ । विभिन्न अन्तराष्ट्रिय मञ्चहरुमा पनि ऊर्जा रुपान्तरणमा जोड दिन थालिएको छ । नेपालमा पानीको स्रोत अत्यधिक भएकाले जलविद्युत् ऊर्जा रूपान्तरणको प्रमुख क्षेत्र हो । नदी र जलाशयहरूमा पानीको शक्तिलाई टर्बाइनका माध्यमबाट विद्युत् ऊर्जामा रूपान्तरण गरिन्छ । सूर्यको किरणलाई सोलार प्यानलमार्फत विद्युत् ऊर्जाका रुपमा रुपान्तरण गरिएको छ । घरेलु सौर्य प्रणालीका रुपमा उपयोग हुँदै आएको सौर्य ऊर्जा अहिले मेगावाटका रुपमा विस्तार भएको छ । सौर्य ऊर्जालाई मिनीग्रिडका रुपमा वितरण गर्न थालिएको छ । जैविक फोहरदेखि गाईभैँसीको गोबर, कृषिजन्य फोहर र जैविक फोहरलाई बायोग्यास प्लान्टबाट ग्यास मात्र नगरी विद्युत् ऊर्जामा रूपान्तरण गरिएको छ । हिमाली र पहाडी क्षेत्रमा हावाको शक्तिलाई विद्युत् ऊर्जा उत्पादन गर्ने प्रयासहरु पनि भइरहेका छन् । पेट्रोल, डिजेल जस्ता खनिज इन्धनलाई प्रयोग गरेर सवारी साधन र मेसिनहरू चलाउन यान्त्रिक ऊर्जामा रूपान्तरण गरिन्छ । नेपालमा रहेको थर्मल स्प्रिङ (हट स्प्रिङ) हरूलाई भू–तापीय ऊर्जामा रूपान्तरण गर्ने सम्भावना छ ।
प्रतिकृया दिनुहोस