खेल

यु-१९ महिला विश्व कपकाे दाेस्राे खेलमा पनि नेपाल पराजित

  • ७ माघ सोमबार, २०८१ | १६:३४:०० मा प्रकाशित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कपमा नेपालले लगातार दोस्रो हार बेहारेको छ ।

नेपाल स्कटल्याण्डसँग १ विकेटले पराजित भएको हो । नेपालले दिएको ७४ रनको सामान्य लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो ।

स्कटल्याण्डका लागि पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन जोडिन् । ग्रवियल फन्टेलाले नट आउट १२ रन बनाउँनु बाहेक स्कटल्याण्डका अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि रचना चौधरी र सिमाना केसीले समान २ तथा पुजा महतो र कृष्मा गुरुङले समान १ विकेट लिइन् ।

त्यसअघि मलेसियाको युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपाल १८.५ ओभरमा ७३ रन जोड्दै अल आउट भएको थियो ।

कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन् । सावित्री धामीले १० रन जोड्नु बाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

स्कटल्याण्डका लागि मैसि म्याकिराले ५, अमि बलडाइ र नइमा शेखले समान २ तथा क्रिस्टी म्यायाकोलले १ विकेट लिइन् ।

नेपालको यो लगातार दोस्रो हार हो । नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा स्कटल्याण्डको यो पहिलो जित हो । स्कटल्याण्ड भने पहिलो खेलमा अस्ट्रेलियासँग ९ विकेटले पराजित भएको थियो । हारसँगै नेपालको सुपर सिक्स प्रवेशको सम्भावना कमजोर बनेको छ ।

तपाईँको मत