गाउँ सहर

भूकम्पबाट चीन तिब्बतमा ५३ जनाको मृत्यु, नेपालकाे काेशी प्रदेशमा केही घरमा क्षती

  • २३ पौष मंगलबार, २०८१ | ११:३५:०० मा प्रकाशित

ल्हासा । आज बिहान गएको भूकम्पमा परेर चीनको तिब्बतमा कम्तिमा ५३ जनाको मृ्त्यु भएको छ। तिब्बतको क्षेत्रीय विपद् व्यवस्थापन मुख्यालयका अनुसार मंगलबार बिहान सिगात्से सहरको डिङ्ग्री काउन्टी, शिजाङ स्वायत्त क्षेत्रमा आएको भूकम्पका कारण ५३ जनाको मृत्यु भएको छ।

उक्त भूकम्पमा परी हालसम्म ६२ जना घाइते भएका चीनिया समाचार एजेन्सी सिन्ह्वामा उल्लेख छ। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ६:५० बजे चीनको तिब्बतको दिंगे कान्टी केन्द्रबिन्दु बनाएर ७ म्याग्निच्युडको भूकम्प गएको थियो।सिगात्सेबाट ३५ किलोमिटर टाढाको क्षेत्रमा केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो । भूकप्पको धक्का चीन, नेपाल, बंगालादेश, भारत र भुटानमा पनि महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

नेपालमा भूकम्पबाट कोशी प्रदेशका हिमाली जिल्लामा प्रभाव परेको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सोलुखुम्बु, संखुवासभा, ओखलढुङ्गा र ताप्लेजुङमा भूकम्पले केही घर क्षति पुगेको विवरण प्राप्त भएको छ ।

कोशीका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीका अनुसार अहिलेसम्म ६ वटा घर भत्किएको जानकारी आएको बताए । उनका अनुसार ओखलढुंगामा एक घर पूर्णरूपले क्षति पुगेको छ ।

ताप्लेजुङमा इलाका प्रहरी कार्यालय दोभानको कार्यालय प्रमुख बस्ने घरमा आंशिक क्षति पुगेको छ । प्रहरीका अनुसार ओखलढुङ्गाको चिसंखुगढी गाँउपालिका- ५ शिरिसेका इन्द्रबहादुर परियारको घर पूर्णरूपमा भत्किएको छ । ४ वटा घरमा आंशिक क्षति पुगेको छ ।

प्रहरीका अनुसार ओखलढुंगाकै सिद्धीचरण नगरपालिका चुहान छापका हिमाल कार्कीको घरमा आंशिक क्षति पुगेको छ । सोलुखुम्बुको थुलुंङ दूधकोशीमा हर्कबहादुर खत्रीको घरमा क्षति पुगेको छ । यस्तै सोलुकै खुम्बु पासाङ्गल्यामु गाँउपालिकामा ङिमा शेर्पाको घर भत्किएको छ ।

संखुवासभाको भोटखोलामा तेन्जिङ्ग शेर्पाको घर पनि भूकम्पले भत्काएको छ । प्रहरीले क्षति पुगेका स्थानमा खोज र उद्धारको काम शुरू गरेको छ । क्षतिको अन्य विवरण संकलनको क्रममा रहेको प्रहरीको भनाइ छ ।

तपाईँको मत